
रुकुमेली वाङमय अधिष्ठानको दोस्रो स्थापना दिवस रुकुम पश्चिमको मुसिकोटमा मनाइएको छ ।
अधिष्ठानका अध्यक्ष भूपेन्द्रा मल्लको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रुकुमेली माटोमा जन्मिई हुर्किई राष्ट्रिय रूपमा नै साहित्यिक, साङ्गीतिक तथा गायनको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका रुकुमका वरद पुत्र प्रेमप्रकाश मल्लको योगदानको चिर स्मरणको लागि उहाँको जन्मस्थल सेरीगाउँको मुख्य चोकमा प्रतीमा निर्माण गर्नको लागि पहल गर्ने निर्णय गरिएको छ ।
समग्र रुकुमको भाषा साहित्य कला संस्कृति तथा सम्पदाको खोज अनुसन्धान र विकासको उद्देश्य राखी रूकुमेली वाङमय अधिष्ठानको विधिवत् स्थापना २०७९ साल चैत्र १५ गते भएको थियो ।
कार्यक्रममा बाेल्दै अधिष्ठानका सल्लाहकार भरतकुमार शर्माले अधिष्ठानका गतिविधिहरू सन्तोषजनक रूपमा अगाडि बढेको र सिँगारु जस्तो रुकुमका विविध क्षेत्रका अनुसन्धानमूलक लेखहरू समेटिएको पत्रिका प्रकाशन गर्नु ठुलो उपलब्धि रहेको बताउनुभएको थियो ।
सो कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले रुकुमको भाषा साहित्य कला र संस्कृतिको उत्थानमा महत्त्वपूर्ण भूमिका निभाउँदै राष्ट्रिय साहित्यमा अमूल्य योगदान दिइरहेको यस अधिष्ठानको उत्तरोत्तर प्रगतिको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
रुकुमेली वाङमय अधिष्ठानका अध्यक्ष मल्ले समाजमा बढ्दै गएका विकृति विसंगति र संकटको समाधानको एक मात्र उपाय साहित्य भएको र साहित्यिक क्षेत्रमा अधिष्ठान कटिबद्ध रहेको बताउनुभएको थियो ।
उक्त कार्यक्रममा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका उपाध्यक्ष एक्कबहादुर केसी, सचिव ओमबहादुर खत्री, सल्लाहकार मुकुन्दप्रसाद शर्मा, इच्छुक प्रतिष्ठान प्राज्ञसभा सदस्य खगेश्वर भण्डारी, रुकुमेली वांमय अधिष्ठानका सदस्यहरु दिपावली शाह, राधा मल्ल, बिना मल्ल, सन्ध्या मल्ल, साहित्य अनुरागी कविता ओली लगायतको आतिथ्यता रहेको थियाे ।
कार्यक्रमको सञ्चालन रुकुमेली वांमय अधिष्ठानका सचिव पूर्ण ओलीले गर्नुभएको थियो ।