Kakhara सबैको खबर सम्पूर्ण खबर
कृषि र किसानका मुद्धामा ३७ बुँदे माग राख्दै सरकारलाई ज्ञापन पत्र
ज्ञापन पत्र बुझाउँइदै ।

अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्र रुकुम पश्चिमले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार किसान महासंघले किसानका विभिन्न माग राख्दै जिल्ला प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको हो । ७७ वटै जिल्ला प्रशासन कार्यालय ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार कृषि र किसानहरुको मुद्धामा विभिन्न ३७ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीलाई ज्ञापन बुझाएको अखिल नेपाल किसान महासंघ क्रान्तिकारी केन्द्रका केन्द्रिय सदस्य जनक बटालाले जाानकारी दिनुभयो ।

सरकार कृषि र किसानको मुद्धामा उदासिन देखिएकाले विभिन्न माग सहित ज्ञापन पत्र बुझाएको उहाँको भनाइ छ । . नेपाली कृषिको व्यावसायीकरण, आधुनिकीकरण, वैज्ञानिकीकरण, यान्त्रीकरण, सहकारीकरण र सामूहिकीकरण गरी समग्र कृषिको रुपान्तरण र नेपाली किसानको हक र अधिकार सुनिश्चित गरी कृषि क्रान्ति लागु गर्न कृषि ऐन र किसान अधिकार ऐन जारी गुर्नपर्ने माग किसान महासंघको छ । 

त्यस्तै जल, जमिन, जंगल, जडिबुटी, जैविक विविधता र चरिचरनमाथि किसानको पहिलो अधिकार स्थापित गर्नुपर्ने, नेपाली जनताको खाद्य सम्प्रभुतको हक प्रत्याभूत गरी खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ कार्यान्वयन गर्नुपर्ने, देशमा खाद्य अभाव हुने र कुनै पनि नागरिक भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गरी नेपाललाई खाद्य सम्प्रभुता राष्ट र भोकमुक्त देश घोषणा गर्नुपर्ने माग राखिएको छ । 

त्यसैगरी देशभरका किसानहरुको सूचीकरणसहित उत्पादन र स्वामित्वका आधारमा किसानहरूको वर्गीकरण गरी किसान परिचय पत्र वितरण गरी त्यसका आधारमा वास्तविक किसानहरूलाई आवश्यक सेवा, सुविधा, सहुलियत, बिमा, कृषि ऋण, राहत, क्षतिपूर्ति र अनुदानको व्यवस्था गुर्नपर्ने, अनुदानमा भइरहेको भ्रष्टाचार, अनियमितता र आसेपासे पोस्ने कामको अन्त्य हुनुपर्ने, ६० वर्ष उमेर पुगेका किसानहरू र २० वर्ष कृषि क्षेत्रमा सक्रियतापूर्वक काम गरेका सबै किसानहरूलाई योगदानमा आधारित किसान पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका माग किसान महासंघ क्रान्तिकारी केन्द्रले राखेको छ । 

अखिल किसान महासंघ क्रान्तिकारी केन्द्रका केन्द्रिय सदस्य बटला र जिल्ला अध्यक्ष तेजवहादुर बटालाको संयुक्त हस्ताक्षर रहेको मागसहितको ज्ञापन पत्र सरकारलाई बुझाएको हो । सरकारले किसानको माग सम्बोधन नगरेमा थप संघर्षका कार्यक्रम गरिने किसान महासंघ क्रान्तिकारी केन्द्रले चेतावनी दिएको छ । मागसहितको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले किसान महासंघले बुझाएका मागहरूलाई यथासक्य नेपाल सरकारमा पठाउने प्रतिवद्दता ब्यक्त गर्नु भएको छ । 


ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धिप्रसाद शर्मा, मुसिकोट नगर पार्टी अध्यक्ष दलबहादुर खडका, बाँफिकोट गाउँपालिका पार्टी सचिव तुल देबकोटा, मुसिकोट नगर पार्टी सहसचिब चन्द्रबहादुर केसी लगायत किसान नेताहरूको सहभागिता थियो । 
 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update