
पत्रकार महासंघ रुकुम पश्चिमले पनि जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । गत शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको घटनाको छानविन गर्न तथा परिवारलाई क्षतिपुर्तिको माग गर्दै प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी मार्फत सरकारलाई महासंघ शाखाले ध्यानाकर्षण पत्र बुझाएको हो । गत शुक्रबार भिडियो खिच्ने क्रममा राजावादीको आन्दोनका क्रममा एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन पत्रकार सुरेश रजकको आगोमा जलेर घरभित्रै निधन भएको थियो ।
सोही आन्दोलका क्रममा अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँ तलामा आगो लगाउनुको साथै ढुंगामुढा, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पुगेको थियो । त्यस्तै हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको भने फोटो पत्रकार निराज तामाङको क्यामेरा हराको थियो । यि घटनाप्रति नेपाल पत्रकार महासंघ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारसमक्ष ज्यान गुमाएका पत्रकारको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारवाही गर्न तथा उहाँको परिवारलाई क्षतिपूर्तिकाे माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको पत्रकार महासंघका रुकुम पश्चिमका उपाध्यक्ष देवकुमार ओलीले जानकारी दिनुभयो । साथै सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्याएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघले सरकारसँग जोडदार माग गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघले माग गरको छ । महासंघले राखेका माग एक साताभित्रै सम्वोधन हुने विश्वसनीय आधार निर्माण गर्न प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारसमक्ष महासंघले आग्रह गरेको छ ।
साथै महासंघले राखेका माग पुरा नभए सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन वाध्य हुनेतर्फ सरकारलाई ध्यानाकर्षण बनाएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रुमख जिल्ला अधिकारी जिसीले घटना दुखःत भएको उल्लेख गर्दै दोषीमाथि कारवाही हुने र छानविन हुनुपर्नेमा जोड दिनुभयो । महासंघले राखेका मागहरु यथाशक्य सरकारलाई पठाउने प्रतिवद्धना व्यक्त गर्नुभयो ।
ध्यानाकर्षण पत्र बुझाउन पत्रकार महासंघ, जिल्लास्थित पत्रकारहरुका पेसागत संघ संगठनका प्रमुख तथा प्रतिनिधी लगायत जिल्लास्थित सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।