
नेकपा एमालेका पोलिटव्यूरो सदस्य खेममान खड्काले पूर्व राजालाई सरकारले छानविन गरी तत्काल कारवाही गर्न ढिला गर्न नहुने बताउनुभएको छ । आज रुकुम पश्चिमको सदरमुकाम खलंगामा नेकपा एमाले रुकुम पश्चिमले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै गत शुक्रबार काठमाडौमा हिंसात्मक गतिविधि गर्न उक्साउने मुख्य पात्र नै पूर्व राजा ज्ञानेद्र शाह भएकाले सरकारले छानविन गरी तत्काल कारवाही गर्नुपर्ने बताउनुभयो ।
‘निर्मल निवासमा आफू निकट अराजक व्यक्तिलाई बोलाई कुन ठाउँमा के भइरहेको भन्ने विषयमा रिपोर्ट लिने र सोही अनुसार हिंसात्मक गतिविधी गर्न निर्देशन दिने काम पूर्व राजाले गरेका छन्, गत शुक्रबार भएको क्षतिको जिम्मा पूर्व राजाले लिनुपर्छ ।’ खड्काले भन्नुभयो ।
विगतमा राजा हुँदा र नहुँदा संविधान विपरित भएका घटनाको कानुन सम्मत छानविन गरी पूर्व राजा शाहलाई कारवाही गर्नुपर्ने उहाँको भनाई थियो । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्पमा मरिसकेको राजतन्त्र जिवित हुन सक्दैन यो कुरा पूर्वराजा ज्ञानेन्द्रले बुझ्नुपर्छ,’ उहाँले भन्नुभयाे । संविधान विपरित गतिविधी गर्ने जोकसैलाई सरकारले छुट दिन नहुने पोलिटव्यूरो सदस्य खड्काको भनाई थियो । जागरण सभाको अवसरमा खलंगा बजारमा र्याली समेत निकालिएको थियो ।