Kakhara सबैको खबर सम्पूर्ण खबर
जनतासितै जनप्रतिनिधि
मुसीकोट नगरपालिका ९, का जनप्रतिनिधि तथा स्वास्थ्यकर्मी घरघर पुगेर चेकजाँच, उपचार तथा परामर्श गर्दै ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी केही वडा पुग्नुभयो ।  १० वडा रहेको गाउँपालिकाका १ देखि ५ नम्बर वडासम्म उहाँ पुग्नुभयो । स्वास्थ्यकर्मी सहित वडामा पुग्नु भएका अध्यक्षको उद्देश्य अरु कार्यक्रम गर्ने थिएन । कोरोना संक्रमण भए नभएको बुझ्ने, भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिने र मनोबल बढाउन प्रेरित गर्ने गरी उहाँ वडा वडा पुग्नुभएको हो ।

‘प्राकृतिक रुपमा आइरहेको कोरोना कति नागरिकलाई संक्रमण भएको छ, भएकालाई नआत्तिन र मनोबल बढोस् भनेर ढाडसका लागि वडामै पुगेर संक्रमित भेट्ने गरिरहेको छु,’ अध्यक्ष केसीले भन्नुभयो । सामान्य लक्षण देखिएकालाई सामान्य औषधी वितरण गर्ने लक्षणवालाई संक्रमण भए नभएको पुष्टि गर्न एन्टिजेन परीक्षणमा समेत गाउँपालिका अध्यक्षले साथ दिइरहनुभएको छ ।

कोरोना संक्रमण भएपछि हिनताबोध नगर्न बरु मनोबल उच्च बनाउन आग्रह गर्ने गरेको अध्यक्ष केसीले बताउनुभयो । रोगले च्याप्दै लिएपछि पालिकामा कन्सन्टेटर सहितको उपचार सेवा छ, गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको यसैले नआत्तिन आग्रह गरिएको उहाँले बताउनुभयो । वडामा पनि स्वास्थ्यकर्मी, प्रहरी र जनप्रतिनिधिहरु खटिएको आवश्यक पर्दा औषधी दिने, उपचारका लागि साधन र अस्पतालका लागि सहजिकरण गर्ने काम पालिकाभर भइरहेको अध्यक्ष केसीको भनाई छ । 

सानीभेरी गाउँपालिका ३, का अध्यक्ष विर्खबहादुर विष्ट पनि स्वास्थ्यकर्मीका साथ संक्रमितका घरघर पुग्नुभयो । संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, अक्सिजनको मात्रा नाप्ने, आवश्यक परेका र लक्षण अनुसारका औषधी प्रदान गर्दै वडाध्यक्ष विष्ट आफ्नो वडाको साथसाथै अरु वडाका संक्रमितको घरमा पनि पुग्नुभयो । घरघरै गएर संक्रमित जनतालाई भेटदा मनोबल उच्च हुने र सबैको साथ सहयोग पाइएको महसुस उनिहरुले गरेको वडाध्यक्ष विष्टले बताउनुभयो । 

मुसीकोट नगरपालिका ९, का अध्यक्ष नविन ओली अभियान नै सञ्चालन गरेर सबै वडाबासीको घरघर पुग्नुभयो । कुनै समस्या भए स्वास्थ्य चौकी इन्चार्ज शशिराम केसीबाट औषधी दिलाउँदै कोरोनाबाट बच्न घरभित्रै बस्नुपर्ने, जनस्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गर्दै उहाँ घरघर पुग्नुभयो । त्यस अघि उहाँ आफै साबुन, मास्क सहित पनि घरघर पुगिसक्नु भएको थियो ।

सचेतना दिन, सतर्क गराउन घरघर पुगेको वडाध्यक्ष ओलीले बताउनुभयो । व्यापक बन्दै गएको कारोनाबाट सकेसम्म वडाबासीलाई संक्रमणबाट बचाउनु पहिलो दायित्व वडाकै भएको बुझाई वडाध्यक्षा ओलीको छ । यसैले स्रोत हुँदा पनि नहुँदा पनि सकेसम्म प्रयास गरिरहेको वडाध्यक्ष ओलीले बताउनुभयो । मुसीकोट नगरपालिकाकै १० नम्बर वडाका जनप्रतिनिधिले टोल बाँडफाँड गरेरै कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा लागेको छ ।

वडाध्यक्ष गोपेश्वर केसी, सदस्य धनबहादुर खड्का, टेकबहादुर कठायत र शोभा परियारले टोल बाँडफाँड गरेर जनतासितै काम गर्नुभयो । स्वास्थ्यकर्मीको सहयोग लिएर आवश्यक औषधी वितरण, सल्लाह, सुझाव दिएर कोरोनाबाट बच्न सहयोग गरिरहेको वडाध्य केसीले बताउनुभयो ।

स्थानीय सरकार, वडा सरकार तपाइहरुसित नै छ है आत्तिनु पर्दैन भनेर वडाका टोलटोलमा पुगिरहेको उहाँको भनाई छ ।स्थानीय सरकार नजिकको सरकार । स्थानीय तहको निर्वाचनका क्रममा सबैले यही नारालाई महत्व दिएर प्रचार प्रसार गरेको पनि ४ वर्ष पूरा भइसक्यो ।

वडा, गाउँ तथा नगरपालिकाबासी समस्यामा पर्दा जनप्रतिनिधि नागरिकसँगै हुनुपर्छ । सकेको सहयोग र सुविधा दिनुपर्छ नभए सँगै भएर साथ सहयोग दिनुपर्ने हुन्छ । यसमा केही नगर तथा गाउँपालिका र वडाका जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बुझाई वडाबासीको छ ।

बाँफिकोट गाउँपालिका ५, का रामप्रसाद केसीले समस्या र अफ्ठ्यारामा जनतालाई सहयोग र सद्भावको आवश्यक पर्ने बताउनुभयो । त्यसमा केही जनप्रतिनिधिले महत्वपूर्ण योगदान गरेको उहाँको बुझाई छ । अभिभावकले निर्वाह गर्नुपर्ने भूमीका निश्चित हुन्छन्, त्यसलाई त्यसरी नै निर्वाह गर्दा जनतालाई सरकार र सरकारको सुविधाको प्रत्याभूती हुने केसीले बताउनुभयो । 


 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update