
रुकुम पश्चिममा सिर्जना उत्सव जारी छ । नेपाली कला साहित्य डट कम प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् रुकुम पश्चिमको सह आयोजना शुक्रवार त्रिवेणी गाउँपालिकाको सहित स्मृति भवन सिम्रुतुमा सिर्जना उत्सवको उद्घाटन भएको हो । सिर्जना उत्सव अन्तर्गत पहिलो दिन ठाडी भाकाको प्रतिस्पर्धा भएको छ । कुल २० टिम दर्ता भएकामा त्यसबाट मूल्याङ्कन गरेर ५ वटामा झारिएको थियो ।
त्यसबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना निकालिएको हो । ठाडी भाकामा मुसिकोट नगरपालिका २ का कमल खड्काको समूह प्रथम भएको छ । त्रिवेणी गाउँपालिका ४ की अस्माली खड्काको समूह द्वितीय, त्रिवेणी १ की तिल्सरी विक तृतीय र मुसिकोट नगरपालिका वडा नम्बर १० का हिरालाल कठायतको समूह तथा त्रिवेणी गाउँपालिका ४ की प्रतिभा खड्का सान्त्वना भएको राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले समान ५–५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रथम पुरस्कार मुसिकोट ५ को न्यु मुन लाइट बोर्डिङ स्कुलले प्रायोजन गरेको हो भने द्वितीय पुरस्कार भूपेन्द्रा मल्ल, तृतीय पुरस्कार बमकाजी श्रीपालि तथा सान्त्वना पुरस्कार पूर्ण ओली र मनलाल ओलीले प्रायोजन गरेको बताइएको छ । सिर्जना उत्सवको पहिलो दिन पहिलो देखि सान्त्वना हुने ठाडी भाका प्रस्तुत गरिएको थियो ।
सिर्जना उत्सव अन्तर्गत शनिवार (आज) कविताको प्रतिस्पर्धा हुँदै छ । मुसिकोट नगरपालिका ५ शेरिगाउँस्थित सहिद प्रतिष्ठानको सभाहलमा कार्यक्रम हुने छ । कविता तर्फ ५४ वटा दर्ता भएकामा छनोट प्रक्रियामा ३४ वटा कविता सहभागी भएका थिए । त्यसबाट १२ मा झारिएको र आज त्यसबाट उत्कृष्ट ५ कविता छनोट गरिने सिर्जना उत्सव कार्यक्रमका संयोजक पूर्ण ओलीले जानकारी दिनुभयो । आजको कार्यक्रममा उत्कृष्ट पाँच कविता प्रस्तुत समेत गरिने उहाँले बताउनुभयो । कवितामा पनि प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना हुने कविताले समान ५–५ हजार पुरस्कार पाउने ओलीको भनाई छ ।
शुक्रवार एक कार्यक्रमका बिच उद्घाटन भएको सिर्जना उत्सव शनिवार सकिने छ । नेपाली कला साहित्य डट कमका अध्यक्ष मोमिला जोशी र राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ संस्कृतविद् तथा साहित्यकार तुल्सि विवशको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा नेपाल सरकारका पूर्व मुख्य सचिव तथा साहित्यकार डाक्टर विमल कोइराला, साहित्यकार दिनेश अधिकारी, जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख लुम्बिनी गौतम, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, कर्णाली प्रदेशका पूर्व प्रमुख सचिव भरतकुमार शर्माको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व, सरोकारवाला लगायतको पनि उपस्थिति रहेको थियो ।
सिर्जना उत्सव कार्यक्रम संयोजक पूर्ण ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन मणि लोहनी र ओमबहादुर खत्रीले गर्नुभएको थियो ।