
रुकुम पश्चिममा सञ्चालित सिर्जना उत्सव सम्पन्न भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिकामा गरी शुक्रवार र शनिवार दुई दिनसम्म उत्सव सञ्चालन भएको हो । उत्सव अन्तर्गत दुई विधामा प्रतिस्पर्धा भएको थियो । शुक्रवार त्रिवेणीको सिम्रुतुमा ठाडी भाकाको प्रतिस्पर्धा भएको थियो भने शनिवार मुसिकोट नगरपालिका वडा नम्बर ५ को शेरिगाउँस्थित सहिद प्रतिष्ठानको सभा हलमा कविता प्रतियोगिता भएसँगै सिर्जना उत्सव सम्पन्न भएको हो ।
नेपाली कला साहित्य डट कम प्रतिष्ठानको आयोजना र राप्ती साहित्य परिषद् रुकुम पश्चिमको सह आयोजनामा सिर्जना उत्सव भएको हो । उत्सव अन्तर्गत कविता प्रतियोगितामा जिएम दीपु दीपेन्द्र प्रथम हुनुभएको छ । जिल्ला स्तरीय कविता प्रतियोगितामा ५४ जनाले नाम दर्ता गराएकामा ३४ वटा कविता प्रतिस्पर्धामा थिए । जसबाट १२ जनामा झारिएको थियो ।
शनिवार उत्कृष्ट १२ का बिचमा प्रतिस्पर्धा भएकामा दीपेन्द्र प्रथम भएको सह आयोजक राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कवितामा कविता ओली द्वितीय, हर्कसिंह केसी तृतीय र खीमबहादुर खड्का तथा अर्जुन ओली सान्त्वना हुनुभएको छ ।

प्रथमले २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले समान ५–५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रथम पुरस्कार विजयश्वरी बोर्डिङ स्कुल, द्वितीय पुरस्कार रुकुमेली क्याम्पस, तृतीय पुरस्कार त्रिभुवन जनता मावि तथा सान्त्वना पुरस्कार साधन शर्मा र धनबहादुर खड्का वसन्तले प्रायोजन गरेको अध्यक्ष ओलीले जानकारी गराउनुभयो ।
ठाडी भाकामा भने कुल २० टिमले प्रतिस्पर्धा गरेकामा मुसिकोट नगरपालिका २ का कमल खड्काको समूह प्रथम भएको छ । त्रिवेणी गाउँपालिका ४ की अस्माली खड्काको समूह द्वितीय, त्रिवेणी १ की तिल्सरी विक तृतीय र मुसिकोट नगरपालिका वडा नम्बर १० का हिरालाल कठायतको समूह तथा त्रिवेणी गाउँपालिका ४ की प्रतिभा खड्का सान्त्वना भएको थियो ।
ठाडी भाकाको प्रथमले पनि २५ हजार, द्धितियले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले समान ५–५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको बताइएका छ । ठाडी भाका तर्फको प्रथम पुरस्कार मुसिकोट ५ को न्यु मुन लाइट बोर्डिङ स्कुल, द्वितीय पुरस्कार भूपेन्द्रा मल्ल, तृतीय पुरस्कार बमकाजी श्रीपालि तथा सान्त्वना पुरस्कार पूर्ण ओली र मनलाल ओलीले प्रायोजन गर्नुभएको थियो ।
जिल्लाको कला र साहित्यको विकासका लागि सिर्जना उत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । कविता र ठाडी भाकाको प्रतिस्पर्धा भएकामा उत्सवमा अन्य स्थानीय मौलिक नाच तथा गीतहरू समेत प्रस्तुत गरिएको बताइएको छ ।
सिर्जना उत्सव अन्तर्गतको कविता प्रतियोगिताको कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्नुभएको थियो । नेपाली कला साहित्य डट कमका अध्यक्ष मोमिला जोशी र राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ संस्कृतविद् तथा साहित्यकार तुल्सि विवशको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल सरकारका पूर्व मुख्य सचिव तथा साहित्यकार डाक्टर विमल कोइराला, साहित्यकार दिनेश अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी लगायतका साहित्यकार, जनप्रतिनिधि, कर्मचारी तथा साहित्य तथा कलाप्रेमीहरुको आतिथ्यता रहेको थियो ।
कर्णाली प्रदेश सरकारका पूर्व प्रमुख सचिव भरतकुमार शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन साहित्यकार तथा मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक मुकुन्द्र शर्माले गर्नुभएको थियो ।