जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जिल्लामा रहेका बैक तथा वित्तिय संस्था खुल्ने समय तथा बार निर्धारण गरेको छ । लकडाउनको कारण बन्द भएका कतिपय बैंकहरुले आफु खुशी सेवा दिंदै आएका थिए भने कतिपय बैंकहरुले सेवा नै दिएका थिएनन् । लकडाउनको कारण बैंकहरु बन्द भएको र आर्थिक वर्षको चौमासिक चलिरहेको हुँदा विकास निर्माणका कामहरुको सहजिकरण गर्न बैंक तथा वित्तिय संस्थाहरु खुल्ने भएका हुन् ।
यसको साथै सर्वसाधरणको अति आवश्यक कामको लागि रकम जम्मा र भुक्तानी लिने कामको लागि बैंक तथा वित्तिय संस्थाहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै खोल्न प्रशासनले एक सूचना जारी गर्दै जानकारी गराएको हो । जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाहरु हप्तामा पालो अनुसार खुल्ने छन् ।
आइतबार र बुधबार नेपाल बैंक, एभरेस्ट, एनआइसी एसिया, महालक्ष्मी, सिभिल बैंक, कुमारी र सनराईज बैक खुल्ने तालिका प्रशासन बनाएको छ । त्यस्तै सोमबार र विहीबार कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, लक्ष्मी बैंक, ग्वोबल आईएमई बैंक, सिद्धार्थ बैंक, नेपाल बंगलादेश बैंक र सेन्चुरी बैंक खुल्ने छन् ।
जिल्लामा रहेका सहकारी तथा लघुवित्तिय संघ संस्थाहरु मंगलबार र शुक्रबार मात्र खुल्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्धारा जारी गरिएको सूचनामा उल्लेख छ । बैंक तथा वित्तिय संस्थाहरुमा सेवा लिँदा र दिँदा भने सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।