
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ को सिमानामा पर्ने पितिवाङ खोलामा पक्की मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती राजमार्गको पितिवाङ खोलामा पुल निर्माण कार्य बसौँ देखि अलपत्र अवस्थामा रहेको थियो । ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौँ देखि अलपत्र पुन निर्माण कार्य यति विल्डर्सले लिएपछि धमाधम भइरहेको छ ।
गत मंसिर दोस्रो साता देखि यति विल्डर्सले रोकिएको पुल निर्माणको काम सुरु गरेको थियो । त्यसपछि धमाधम काम चलिरहेको छ भने काम सुरु भएको ४ महिनामै पुल निर्माण अन्तिम चरणमा पुगेको हो । एक साइटको अधुरो पिलर उठाएर अलपत्र परेको कामको जिम्मा यतिले लिएको थियो । अहिले पुलको ढलानको काम चलिरहेको यति विल्डर्ससका पितिवाङ खोला पुलका साइड इन्चार्ज समीर डाँगीले जानकारी दिनुभयो ।
सोमबार देखि ढलान सुरु भएको उहाँले बताउनुभयो । उहाँका अनुसार बिमको ढलान सकिएर स्ल्याबको आधा ढलान सकिएको छ । बिहीबारसम्ममा पुल ढलानको काम सकिने डाँगीले बताउनुभयो । यो पुल प्रिस्ट्रेस प्रविधिको हो भने यसको लम्बाई ३५ मिटर रहेको छ । ढलान सकिएपछि अब पुल तन्काउन र पुल पारीपारी वालको काम बाँकी रहने बताइएको छ । पुल तन्काउन भने समय लाग्ने छ ।
पुल तन्काउन ढलान गरेको कम्तीमा पनि २८ दिन हुनुपर्ने भएकोले कम्तीमा एक महिना कुर्नुपर्ने अवस्था रहेको र त्यसपछि बाँकी रहेको काम सुरु हुने साइड इन्चार्ज डाँगीले बताउनुभयो । यो पुल निर्माणको काम संरक्षण निर्माण सेवाले लिएको छ । तर उक्त कम्पनीले काम गर्न नसकेपछि व्यवहारिक रूपमा पुल निर्माणको जिम्मा यति विल्डर्सले पाएको हो ।
संरक्षण निर्माण सेवा र सडक डिभिजन कार्यालय चौरजहारी बिच पुल निर्माणका लागि २०७६ असार ८ गते कार्य सम्झौता भएको थियो । सम्झौता अनुसार पुल निर्माण कार्य २०७८ को वैशाख ७ गते सम्पन्न हुनुपर्ने थियो । ५ करोड २८ लाखमा पुल निर्माणको ठेक्का लागेको थियो ।