
विकासको उज्यालो युगमा प्रवेश गरिसक्दा पनि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १०, अर्माटोलका बासिन्दाहरू आजसम्म बिजुलीको उज्यालो र यातायातको सुविधाबाट वञ्चित छन् । दसौँ वर्षसम्म राज्यलाई कर तिरेका, जनप्रतिनिधिहरूलाई मतदान गरेर जिताएका, सरकारलाई आफ्नो अस्तित्व देखाएका यी स्थानीयहरू आज विकासको शून्यतामा बस्न बाध्य छन् ।
डाँडाअर्मा टोलका बासिन्दाहरू पटक–पटक वडा कार्यालय र पालिका धाइसके, गुनासो गरिसके, तर, ती नेताहरूका भाषणहरू जति बुलन्द छन्, काम भने त्यति नै कमजोर देखिन्छ । वडा अध्यक्ष टिकाराम खड्का र पालिका अध्यक्ष बिर्खबहादुर बिस्टलाई प्रश्न छ- किन अझै अर्माटोलमा सडक पुग्न सकेन ? किन बिजुलीको उज्यालो यहाँका सबै घरमा पुग्न सकेको छैन ?
विकासमा विभेद, भूकम्प पीडितको पीडा
केही घरमा बिजुली बलेको देखिन्छ, तर ती घरहरू को हुन् ? ती कोही नेताका नजिकका छन्, कोही सत्ताधारी दलका कार्यकर्ता । तर, बाँकी सर्वसाधारण जनता अँध्यारोमै बाँचेका छन् । के जनताको सेवा गर्ने शपथ लिएका जनप्रतिनिधिहरू विकासको न्यायोचित वितरण गर्न असमर्थ छन् ?
जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भूकम्पले यस क्षेत्रका धेरै संरचना भत्कायो । पुनर्निर्माणका लागि सरकारले राहत र सहयोगको कुरा गर्यो । तर, सडक नहुँदा निर्माण सामग्री ल्याउन सकिएको छैन । घरहरू पुनर्निर्माण हुन सकेका छैनन् । त्यसो भए, यो क्षेत्रका बासिन्दाहरूलाई भूकम्पले भत्काए पनि सरकारले नै पुनः उठ्न नदिएको हो त ?

स्थानीय सरकार के का लागि ?
जब चुनाव आउँछ, नेताहरू गाउँ पस्छन्, विकासका ठुला सपना देखाउँछन्, प्रतिबद्धता जनाउँछन् । तर, जितेपछि उनीहरूलाई आफ्नै मतदाताको पीडा किन देखिँदैन ? वडा अध्यक्ष टिकाराम खड्का र पालिका अध्यक्ष बिर्खबहादुर बिस्टलाई फेरि प्रश्न छ- तपाईँहरू यहाँका जनताको प्रतिनिधि हुनुहुन्छ कि केही विशेष मानिसहरूको मात्र ?
सडक र बिजुली नपुगेका स्थानीयको माग
१. तत्काल सडक निर्माण प्रक्रिया अघि बढाइयोस् ।
२. सबै घरधुरीमा समान रूपमा बिजुली सेवा उपलब्ध गराइयोस् ।
3. भूकम्प पीडितहरूको पुनर्निर्माण सहज बनाउन आवश्यक योजना लागू गरियोस् ।
4. विकासमा कुनै पनि राजनीतिक पक्षपात नगरियोस् ।
स्थानीयहरू अब सहने पक्षमा छैनन् । जब प्रश्न जनताको आधारभूत सुविधाको हुन्छ, तब जनप्रतिनिधिहरू मौन बस्न मिल्दैन । अब पालिका सरकार र वडा सरकार के भन्छ ? कि फेरि यो आवाज पनि अँध्यारोमा हराउने छ ? कि यो ठाउँको जनताको उज्यालोमा बस्न पाउन र सडक पूर्वाधारको सुविधा पाउन ८४ को चुनाव कुर्नु पर्ने हो ? यो प्रश्न आम बासिन्दाहरूको हो !