Kakhara सबैको खबर सम्पूर्ण खबर
योजना कार्यान्वयनको अवस्था बारे अन्तरक्रिया

रुकुम पश्चिमका  कार्यालय प्रमुख र कर्णाली प्रदेश सभा सदस्यहरु  विच अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा कार्यालयहरुले चालु आर्थिक वर्षमा कार्यान्वयन गरेका योजना तथा आगामी आर्थिक वर्षको योजना तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो । अन्तरक्रिया कार्यक्रममा  योजना कार्यान्वयन गर्ने कार्यालयहरुका प्रमुखहरुले चालू आर्थिक वर्षमा कार्यालयले गरेको वित्तीय प्रगति, भौतिक प्रगति, योजना कार्यान्वयनको अवस्था, योजना कार्यान्वयन गर्दा हुने गरेका चुनौतीका बारेमा जानकारी बनाएका थिए ।

त्यस्तै आगामी आर्थिक  वर्षमा कार्यालयलाई आवश्यक पर्ने योजना, बजेट, लगायतका विषयमा पनि कार्यालय प्रमुखहरुले कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री तथा प्रदेश सभा सदस्य राजकुमार शर्मा लगायत रुकुम पश्चिमबाट प्रदेशमा प्रतिनिधित्व गर्ने सांसदलाई जानकारी बनाएका थिए । 

चालु आर्थिक वर्ष सकिन धेरै समय नभएकाले योजना  कार्यान्वयन गर्ने कार्यालयहरु यसमा चनाखो हुनुपर्ने, दिगोपना तथा गुणस्तरमा ध्यान दिनुपर्ने पुर्व मुख्यमन्त्री शर्माको भनाइ थियो । योजना कार्यान्वयन गर्ने कार्यालयहरुले योजना समयमै सम्झौता गरी समयमै सम्पन्न गर्न पनि उहाँले सुझाव दिनुभएको थियो । बजेट फ्रीज भएर फिर्ता जाने अवस्थाको अन्त्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको अध्यक्षमा भएको कार्यक्रममा कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री शर्माको प्रमुख आतिथ्यता रहेकामा  पुर्व आर्थिक मामिला तथा योजना महेन्द्र केसी, प्रदेश सांसद मिलन खड्का, तुलसा मल्ल, कल्याणी खड्काको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै जिल्ला समन्वय प्रमुख लुम्बिनी गौतम, उपप्रमुख देवबहादुर विक, प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रमेश विष्ट, राष्ट्रिय अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update