
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पछिल्लो चैत महिना यता लागु औषध अफिम खेती तिव्र रुपमा नष्ट गरिरहेको छ । लागुऔषध अफिम तयारी हुने सिजन भएकाले प्रहरीले उत्पादन हुने सम्बन्धित ठाउँसम्म पुगेर नष्ट गरिरहेको हो । चार दिनको अवधिमा मात्रै जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले जिल्लाको विभिन्न ठाउँमा ७५ रोपनीमा लगाएको लागु औषध अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार अफिम खेती आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाको उच्च भूभागमा उत्पादन हुने गरेको छ । गत शुक्रबार आठविसकोट नगरपालिकाको वडा नम्बर १२ ठुली बार्खूमा ५ रोपनीमा लागाएको अफिम नष्ट गरिएको थियो । त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ३ कालापानी बास्तोला भन्ने स्थानमा १० रोपनी, सानीभेरी गाउँपालिका वडा नम्बर ६ छहरामा ४० रोपनी र आठविसकोट नगरपालिका वडा नम्बर ३ पाटागाउँमा २० रोपनी गरेर चार दिनमा ७५ रोपनीमा लगाएको लागुऔषध अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिनुभयो ।
जंगलमा खेति गर्ने गरिएकाले खेती गर्ने व्यक्तिको भने पहिचान हुन समस्या हुने गरेको प्रहरीले जनाएको छ । प्रहरीले थाहा पाएसम्म जहाँ खेती हुने गरेको छ त्यहाँसम्म पुगेर अफिम खेती नष्ट गर्ने काम गरिहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।