Kakhara सबैको खबर सम्पूर्ण खबर
आठविसकोटमा खुला रुपमा पेट्रोलियम पदार्थ विक्री वितरणमा रोक 
फाइल फाेटाे ।

रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा खुला रुपमा पेट्रोलियम पदार्थ विक्री वितरणमा रोक लगाएको छ । आज नगरपालिकाले एक सूचना जारी गर्दै खुला रुपमा पेट्रोलियम पदार्थ विक्री वितरण भइरहेकाले एक हप्ता भित्र खुला रुपमा विक्री वितरण गर्न रोक लगाएको हो । पहिलो पटक गत मंसिर १२ गते सूचना जारी गर्दै खुला रुपमा पेट्रोलियम पदार्थ विक्री वितरण गर्न नगरपालिकाले आग्रह गरेको थियो । पहिलो पटकको सूचनाको व्यवसायिले व्यवस्था गरेपछि दोस्रो पटक सूचना जारी गर्दै खुला रुपमा पेट्रोलियम पदार्थ विक्री वितरणलाई रोक्न ७ दिनको सयम दिएको नगरपालिकाले जनाएको छ । 

पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को नियम २९ मा निगमबाट बाहेक अन्य कसैबाट पनि पेट्रोलियम पदार्थ विक्रि वितरण गर्न नहुने व्यवस्था  रहेको छ , प्रज्वलनशील पदार्थलाई खुला रुपमा विक्री वितरण, ओसार पसार, भण्डारण  गर्दा आगलागी भई मानवीय तथा भौतिक रुपमा क्षति हुन सक्ने भएकाले विपद र सुरक्षाका दृष्टिकोणले अत्यन्तै संवेदनशील छ नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो समयमा नगरपालिकाको केही स्थानहरुका किराना पसल, मोटर ग्यारेज तथा खुद्रा पसलहरुबाट समेत खुला रुपमा बोतल,जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको विक्री, वितरण भएको जनगुनासो आएकाले उक्त कार्य दण्डनीय भएकाले खुला रुपमा भइरहेको पेट्रोलियम पदार्थको विक्री वितरणमा रोक लगाएको आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर विष्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरपालिका भित्र अवैध रुपमा पेट्रोलियम पदार्थको विक्रि वितरण गरिरहेका व्यवसायीहरुलाई सूचना प्रकाशित भएको ७ दिन भित्र अवैध रुपमा पेट्रोलियम पदार्थको विक्री वितरण बन्द गर्न भनिएको छ । सूचनाको वेवस्था गरी अवैध रुपमा पेट्रोलियम पदार्थको विक्री वितरण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गर्नुका साथै अवैध रुपमा पेट्रोलियम पदार्थ विक्रि वितरण गर्ने पसल बन्द समेत गरिने  आठविसकोट नगरपालिकाले चेतावनी दिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update