Kakhara सबैको खबर सम्पूर्ण खबर
श्रीमती बोकेर दौडिने प्रतियोगितामा पूर्णबहादुर प्रथम 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ४ ठाराढुंगामा पँधेरीचौर मेला लागेको छ । मेलाको अवसरमा विभिन्न प्रतियोगिताहरू सम्पन्न भएका छन् । मेलाको अवसरमा आयोजित श्रीमती बोकेर दौडिने प्रतियोगितामा वडा नम्बर ४ का पूर्णबहादुर शाह प्रथम हुनुभएको छ । शितलपोखरी बजार देखि पँधेरीचौर भगवती मन्दिरसम्मको दुरीमा दौडाइएको मैत्रीपूर्ण श्रीमती बोकेर दौडिने प्रतियोगितामा शाह प्रथम हुनुभएको हो ।

प्रतियोगितामा सुदिप रेउले द्वितिय, रामबहादुर बस्याल तृतीय र शशिराम पुन सान्त्वना भएको आयोजक पँधेरीचौर खेलकुद, सांस्कृतिक तथा मेला व्यवस्थापन समितिले जनाएको छ । प्रतियोगितामा १४ जोडीले भाग लिएका थिए । प्रथमले १० हजार पुरस्कार पाउँदा द्वितीयले ८ हजार, तृतीयले ५ हजार र सान्त्वनाले ३ हजार पुरस्कार पाएको आयोजक समितिका अध्यक्ष विकर्ण पुनले जानकारी दिनुभयो ।

त्यस्तै मेलाको अवसरमा आयोजित घैँटोफोर प्रतियोगितामा मुसिकोट ४ का सुनिल विक प्रथम हुनुभएको छ । १६ जनाले सहभागिता जनाएको प्रतियोगितामा प्रथम हुँदै विकले १ हजार पुरस्कार पाएको आयोजकले जनाएको छ । महिला पुरुष रसाकसी प्रतियोगिता समेत भएको छ । पुरुष तर्फ जनक ओलीको समूह प्रथम, राजन रावलको समूह द्वितीय, झलक ओलीको समूह तृतीय र गोकर्ण मल्लको जोडी सान्त्वना भयो ।

महिला तर्फ कमला सिंहको समूह प्रथम, ईश्वरी खड्काको समूह द्वितीय र आरती बुढाको समूह तृतीय भएको आयोजक समितिका सचिव दीपकराज खड्काले जानकारी दिनुभयो । मुसिकोट ४ का शैलेश ओलीले मेलाकै अवसरमा आयोजित भाले तान्ने प्रतियोगिता जितेको उहाँले बताउनुभयो । यसका साथै मेलामा ११ वटा सांस्कृतिक झाँकीहरू सहभागी थिए । सबै समूहलाई प्रोत्साहन स्वरूप समान ३ हजार प्रदान गरिएको आयोजकको भनाई छ । मेला शनिवार लागेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update