
६ वटा स्थानीय तह रहेको रुकुम पश्चिमका सवै ठाउँमा अझै केन्द्रिय प्रशारण लाइनको पहुँच पुग्न सकेको छैन् । जिल्लामा करिव ४० हजार घरधुरी रहेकामा करिव १८ हजार घरधुरीले केन्द्रिय विद्युत प्रशासरण लाइन प्रयोग गर्न पाएका छैनन् । २०७८ सालको जनगणना अनुसार जिल्लामा ३७ हजार ७ सय ८ घरधुरी रहेकामा विद्युत प्राधिकरण वितरण केन्द्र मुसिकाेटले जिल्लाका ७३ वडाबाट घरधुरी लगत संकलन गरेकामा करिव ४० हजार घरपरिवार रहेको जनाएको छ । त्यसमध्ये करिव १८ हजार घरधुरीमा केन्द्रिय प्रशारण लाइन पुग्न नसकेकाे हाे ।
जिल्लाभर हालसम्म २१ हजार ८ सय ५५ घरधुरीले केन्द्रिय प्रशारण लाइनकाे विद्युत प्रयोग गरिरहेको विद्युत प्राधिरकरण रुकुम वितरण केन्द्रका प्रमुख विरमान रास्कोटीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षसम्म जिल्लाभरबाट २ हजार ५ सय घरधुरी बढ्ने अनुमान गरिएको छ ।हालसम्म सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ र ७ तथा आठविसकोट नगरपालिकाको १ नम्बर वडामा केन्द्रिय विद्युत प्रशारण लाइन पुग्न सकेको छैन् ।
केन्द्रिय प्रशारण लाइन नपुगेका घरहरुमा स्थानीय जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रयोग गरिरहेका छन् । जिल्लाका सबै नागरिकलाई २ वर्षभित्र केन्द्रिय प्रशारण लाइनको पहुँचमा ल्याउने लक्ष्य रहेको वितरण केन्द्रका प्रमुुख रास्कोटीले जानकारी दिनुभयो । रुकुम पश्चिममा संचालन भइरहेको पुनर्विद्युतिकरण परियोजना तथा भम्पू चौर सव स्टेसनको काम सम्पन्न भएपछि जिल्लामा केन्द्रिय प्रशारण लाइनमा नसमेटिएका घरपरिवार समेटिने उहाँले जानकारी दिनुभयो ।
जिल्लाभर केन्द्रिय प्रशारण लाइनको विस्तार गर्न करिव १६ करोड बजेट आवश्यक पर्ने वितरण केन्द्र रुकुम पश्चिमले जनाएको छ ।