Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पतालको निर्माणाधीन भवनको सांसदहरूद्वारा अनुगमन 

जिल्ला अस्पताल रुकुम पश्चिमको निर्माणाधीन भवनको अनुगमन गरिएको छ । कर्णाली प्रदेशका ४ जना सांसद सहितको टोलीले अनुगमन गरेको हो । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, प्रदेश सभा सदस्य महेन्द्र केसी, मिलन खड्का र तुलसा मल्ल तथा जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी लगायतको टोलीले अनुगमन गरेको हो । अस्पतालको भवन निर्माणाधीन अवस्थामा रहेको छ ।

२०८१ को असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७८ साउन ७ गते खानी थाेडङ-मेसन जेभी निर्माण कम्पनीले जिम्मा लिएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि यो वर्षको चैत्र मसान्तसम्मको समय थप गरिएको थियो । तर यो समयमा पनि भवन निर्माण सम्पन्न भएको छैन । कम्पनीले अझै ४ महिनाको समय मागिरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिनुभयो ।

IMG-20250415-WA0017-1744701320.jpg
तर असार मसान्तसम्मको समयका लागि प्रदेशमा लेखि पठाइएको उहाँको भनाई छ । अब भवनको केही संरचना निर्माण सहित फिनिसिङको काम बाँकी रहेको छ । यो भवन निर्माण भएमा जिल्ला अस्पतालको सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ । भवन अनुगमन गर्दै पूर्व मुख्यमन्त्री राजकुमार शर्माले तत्काल भवन निर्माण कार्य सम्पन्न गरी नयाँ भवनबाट सेवा प्रवाह हुनुपर्ने बताउनुभयो ।

छिट्टै भवन निर्माण गरी हस्तान्तरण गर्न ठेकेदार कम्पनीलाई निरन्तर खबरदारी गरिरहेको र अब पनि गरिरहने समेत उहाँले बताउनुभयो । ठेकेदार कम्पनीले २३ करोड १५ लाख ५ हजार २ सय ९१ रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको छ । फुल रेटमा ठेक्का पार्दा पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण भवन निर्माणमा ढिलाइ भइरहेको अस्पताल विकास समितिले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update