
कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्री राजकुमार शर्माले सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । आज जिल्ला अस्पताल विकास समिति रुकुम पश्चिमले जिल्ला अस्पताल सल्लेमा आयोजना गरेको निर्माणाधीन जिल्ला अस्पताल भवन अनुगमन तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा काम गर्न अप्ठेरो हुने गरेको बताउनुभयो । ‘एकले अर्काको थाप्लोमा समस्या थुपारेर समस्याको समाधान हुँदैन, मुख्य समस्या भनेको सङ्घीयता प्रभावकारी रूपमा कार्यान्वयन नहुनु हो’ पूर्व मुख्यमन्त्री शर्माले भन्नुभयो ।
‘नीति बनाउने प्रभावकारी रूपमा कार्यान्वयन नगर्नाले हामी मारमा पहिरेका छौँ, उहाँले अघि थप्नुभयो-सङ्घीयता कार्यान्वयन सँगै शासकीय स्वरूप, निर्वाचन प्रक्रिया र राजनीतिक अस्थिरताले पनि विकास निर्माणमा प्रभाव पारेको छ । अबको समस्या भनेको सुरु भएका योजनाहरू समयमै सम्पन्न गर्नुपर्ने, जनशक्ति व्यवस्थापन गर्ने लगायत छन् ।’
स्थानीय, प्रदेश र सङ्घको व्यवस्थित परिचालनको विषयले पनि अलि अप्ठेरो पारेको उहाँको भनाई छ । 'कुनै योजना यो त प्रदेशको हो, यो सङ्घको हो, यो स्थानीय तहको हो भन्ने परम्परा छ, जसको भए पनि स्थानीय तहकै हो, जनताको नै हो भनेर काम गर्नुपर्छ’ शर्माले भन्नुभयो ।
देश विकास गर्न जनप्रतिनिधि तथा जनताको बुझाई फराकिलो हुनुपर्ने उहाँको भनाई थियो । आफ्नो ठाउँबाट समग्र विकासको लागि आवाज उठाउने, संसद्मा बोल्ने काम मुख्यमन्त्री हुँदा पनि गरेको र अहिले पनि निरन्तर गरिरहेको उहाँको भनाई छ ।