Kakhara सबैको खबर सम्पूर्ण खबर
कसरी गर्ने नवजात शिशुको स्याहार ?

सामान्यतया बच्चा जन्मिएदेखि २८ दिनसम्मको अवधीलाई नवजात शिशु भन्ने गरिन्छ । एक तथ्यांकलाई हेर्ने हो भने १३० मिलियन बच्चाहरु विश्वभर प्रत्येक वर्ष जन्मिने गर्दछ्न । त्यसैगरि करिब ४ मिलियन बच्चाहरु जन्मेको २८ दिनभित्र मर्ने गरेको पाईएको छ । जसमध्ये ९० प्रतिशत मृत्यु विकासोन्मुख देशमा हुने गरेको छ । हाम्रो देश नेपालको सन्दर्भमा हेर्ने हो भने, नेपाल डेमोग्राफी एण्ड हेल्थ सर्भे २०१६ अनुसार नेपालमा नवजात शिशु मृत्युदर २१ प्रतिहजार जिवित जन्म रहेको छ । नवजात शिशु स्याहारको आवश्यकता यो मृत्युदरले अपरिहार्य रहेको प्रष्ट पार्दछ । नेपालमा नवजात शिशुको मृत्यु हुने प्रमुख कारण देहायबमोजिम रहेका छन् । (स्रोतः नेपालमा नवजात शिशुका मृत्युका कारणहरु पत्ता लगाउन २०७० मा अध्ययन गरिएको थियो । यो अध्ययन सि.बि.एन.सि.पि. कार्यक्रम लागु भएका ६ वटा जिल्लाहरुः– डोल्पा, जुम्ला, पाल्पा, सल्यान, चितवन र मोरङमा गरिएको थियो ।)
१.ब्याक्टेरियाको गम्भीर संक्रमणः ४७.९% (प्रमुख कारण)
२.जन्मिदा निसासिनेः १६.४%
३.अवधी नपुगी जन्मिनेः १३.२%
४.जन्मिदा कम तौलः ५%

नवजात शिशुको तल्काल स्याहारः–
बच्चा जन्मिसकेपछी राम्रोसँग सास फेराउन र बच्चाको अवस्था राम्रो पार्न गरिने स्याहारलाई नवजात शिशुको तत्काल स्याहार भनिन्छ । यदि यस्तो स्याहार गरिएन भने बच्चाको अवस्था गम्भीर हुन जान्छ र अन्तमा बच्चाको मृत्युसमेत हुन सक्छ । तत्काल स्याहार दिनुको मुख्य उद्देश नै बच्चालाई सक्दो छिटो सास फेर्न सजिलो पार्नु, बच्चालाई चिसो हुनबाट बचाई न्यानो पार्नु, बच्चा जन्मिँदाखेरी कुनै किसिमको चोटपटक नलागोस् भनेर राम्ररी प्रसव गराउनु, नालको राम्ररी हेरचाह गरि राम्ररी बाँड्नु र जसरी भएपनि बच्चालाई बाहिरी वातावरणमा राम्रोसँग घुलमिल गराउनु हो ।

बच्चालाई राम्ररी सास फेर्न लगाउनका लागि जन्मिनेबित्तिकै बच्चाको टाउको, बच्चाको नाक, मुख, राम्ररी सफा गर्नुपर्दछ । त्यस्तै बच्चा जन्मिसकेपछी नाक र मुखबाट सम्पुर्ण म्युकस सक्सन गर्नुपर्दछ । साथै बच्चालाई अलि टाउको तल पर्ने गरि सुताउनु पर्दछ । बच्चा जन्मिनेबित्तिकै उसले आफ्नो शरीरको तापक्रम मिलाउन सक्दैन । त्यसकारण उसको शरीर राम्रो, न्यानो र सफा कपडाले पुछिदिनुपर्दछ । अनि बच्चालाई न्यानो कोठामा सुताउनुपर्दछ । बच्चा जन्मेपछि अर्को एउटा स्याहार हो, सालनाल । बच्चा जन्मिएपछि नाल काटिनुभन्दा पहिले केही बेर बच्चालाई आमाभन्दा अलि तल राख्ने, जसले गर्दा सालमा भएको केही रगत बच्चामा आई बच्चाको रगत केही मात्रा बढाईदिन्छ । त्यसपछी नाईटोबाट २ से.मि.जति पर बाँधेर काट्नुपर्छ र रगत बगेको छ कि हेर्नुपर्छ र बच्चा जन्मेको १ घण्टाभित्र स्तन सफा गरि बच्चालाई दुध चुसाउनुपर्दछ ।

शिशु आमाको गर्भमा रहँदा जति सुरक्षित हुन्छ, त्यति बाहिरी वातावरणमा आउँदा सुरक्षित हुँदैन । ऊ जन्मेदेखि विभिन्न किसिमका समस्यासँग सामाना गर्नुपर्ने हुन्छ । ९ महिनासम्म आमाको गर्भमा रहि श्वास–प्रश्वास प्रणाली र पाचन प्रणालीको कार्यबिना नै अक्सिजन र पौष्टिक तत्व पाएर न्यानो र सुरक्षित स्थानमा बसेको शिशुलाई गर्भाशयबाट बाहिर निस्कदा प्रसवको प्रक्रियाद्वारा केही चोटपटक लाग्नु, अक्सिजनको कमि हुनु, शरिरको तापक्रम आफैंले नियन्त्रण गर्नुपर्ने, पाचन प्रणालीको कार्य आफैं गर्नुपर्ने जस्ता विभिन्न कार्य गर्नुपर्ने हुन्छ । साथसाथै नवजात शिशुमा संक्रमणविरुद्व लड्ने शक्ति पनि विकास भएको हुँदैन  । त्यसकारण यदि हामीले नवजात शिशुको जन्मेदेखि राम्ररी स्याहार गरेनौं भने उसको जीवन संकटमा पर्छ र अन्तमा मृत्यु समेत हुनसक्छ । 

नवजात शिशुको तत्काल स्याहार निम्नलिखित चरणमा गर्न सकिन्छः
पहिलो चरण– सुख्खा र उत्तेजित पारी शिशुलाई छोप्ने ।
१ टाउकोसहित नवजात शिशुको शरीरलाई सफा र न्यानो कपडाले पुछेर सुख्खा बनाउने । (नोटः यसरी सुख्खा पार्दा भर्निक्स हटाउनु हुँदैन ।)
२ शिशुको शरीरको पछाडिपट्टि बिस्तारै तल माथि रगड्ने ।
३ शिशुको शरीर पुछ्दा भिजेको कपडालाई निश्चित ठाउँमा फाल्ने ।
४ यसरी शिशुको शरीर सुख्खा गरिसकेपछि सफा, सुख्खा र न्यानो कपडाले शिशुको टाउको र शरीर राम्रोसँग ढाक्नुपर्दछ ।
५ यदि उपलब्ध भएको खण्डमा शिशुलाई टोपी लगाईदिन सकिन्छ ।

दोस्रो चरणः– शिशुको श्वासप्रश्वास र रङ (कलर) परिक्षण गर्ने ।
१ यस चरणमा शिशुले सास फेरेको छ कि छैन ? वा सास फेर्दा कुनै कठिनाइ भएको छ कि भन्ने कुराको परिक्षण गर्नुपर्दछ ।
२ त्यसैगरी शिशुको शरिरिकको कलर पिङ्क, खैरो, निलो वा फिक्का कलर कस्तो छ त्यसको परीक्षण गर्नुपर्दछ । 

तेस्रो चरणः–यदि शिशुलाई कृत्रिम श्वासप्रश्वासको आवश्यकता परेको छ भने त्यस्को निर्णय गर्ने ।
१ साधारणतया नवजात शिशुको श्वासप्रश्वासको दर ४०–६० प्रतिमिनेट हुन्छ । श्वासप्रश्वासको परीक्षण गर्दा दर, नियमितता, श्वास फेर्न गाह्रो छ कि, ठसठस कन्ने वा आवाज (ग्रन्टिङ) आउँछ कि, घ्यारघ्यार छ कि भनी हेर्नुपर्छ । यदि त्यस्तो भएमा तुरुन्तै चिकित्सक कहाँ पठाउनुपर्ने हुन्छ ।
२ यदि शिशुलाई आवश्यकता परेको खण्डमा कृत्रिम श्वासप्रश्वास दिने गर्नुपर्दछ । 

चौथो चरणः– नाभिलाई बाँध्ने र त्यसपछि काट्ने ।
१ शिशुको सम्पुर्ण शरीर ढाकिसकेपछी नाईटो वा नाभिको भाग मात्र बाहिर देखाउनु पर्दछ । 
२ नाललाई बाँध्दा राम्ररी सफा स्टेराइल धागोले बाँध्नुपर्छ । नाललाई खासगरी ३ ठाउँमा बाँध्नुपर्छ ।
३ त्यसपछि नयाँ रेजर ब्लेड वा स्टेराइल कैँची प्रयोग गरि दोस्रो र तेस्रो बाँधिएको बिचबाट नाललाई काट्नुपर्दछ । 

पाचौं चरणः–शिशुलाई आमाको छालासङ्ग टाँसिने गरि सम्पर्कमा राख्ने ।
१ शिशुलाई आमाको छातीको छालासङ्ग टाँसेर राख्नुपर्दछ । यसो गर्दा शिशुको तापक्रम सन्तुलन हुने, स्तनपानमा सघाउ पुग्ने, स्तनपानको अवधीमा वृद्धि हुनुका साथै आमा र शिशुको बोन्डिङ बलियो हुने गर्दछ ।
२ त्यसपछि आमा र शिशु दुबैलाई संगै एउटै सफा, सुख्खा, र न्यानो कपडा वा ब्लाङ्केटले ढाक्नुको साथै शिशुको टाउकोलाई पनि छोप्नु पर्दछ ।
 
छैटौं चरणः–शिशुलाई पहिचान मार्क (ट्याग) दिने ।

सातौं चरणः– शिशुले पहिलो स्तनपान नगर्दा सम्म आमा र बच्चालाई मदत गर्ने ।

आठौं चरणः–आँखा र छालाको हेरचाह गर्ने ।

आँखाको हेरचाहः
नवजात शिशुको स्याहारहरुमध्ये आँखाको स्याहार पनि एक हो । बच्चा जन्मेको १ घन्टाभित्र आँखाको स्याहार गर्नुपर्दछ । बच्चा जन्मिसकेपछी उमालेर मनतातो पारेको पानी र कपासको टुक्राले आँखाको भित्रि कोणदेखी बाहिरी कोणसम्म हलुकासँग पुछिदिनुपर्दछ । यसरी पुछ््दा एउटा कपासको टुक्रा एकपटक मात्र प्रयोग गर्नुपर्दछ । यदि बच्चा संक्रमित यौनीमार्ग बाट जन्मिएको भए सिल्भर नाईट्रेट जस्ता औषधि आँखामा राखिदिने वा एक डोज एन्टिबायोटिक दिनुपर्दछ । यदि आँखाबाट पहेँलो पिप बगेमा, आँखा सुन्निएमा तुरुन्तै अस्पताल पठाउनुपर्दछ । 

छालाको हेरचाहः
नवजात शिशुको छालामा कुनै किसिमको बिमिरा छ कि छैन राम्ररी हेर्नुपर्दछ । धेरैजसो बच्चामा सानासाना बिमिरा शुरुका दिनमा देखा पर्दछ, जुन केही दिनपछि आफैं हराएर जान्छ । बच्चा जन्मेको २÷३ दिनपछी मात्र मनतातो पानीले नुहाउनु पर्दछ, तर नुहाइ सकेपछि तुरुन्त सफा सुख्खा कपडाले पुछी न्यानो पारिराख्नु पर्दछ । 

नवजात शिशुको परिक्षणः–
१ नवजात शिशुको प्रथम परीक्षणः
जन्मपश्चात बच्चाको टाउकोदेखि खुट्टासम्म केही असामान्य अवस्थाहरु छन् कि भनी गरिने परीक्षणलाई नै नवजात शिशुको प्रथम परिक्षण भनिन्छ ।

विधिः–
बच्चालाई परिक्षण गर्दा सुरुमा उसको भाइटल चिन्हहरु र त्यसपछि विभिन्न भागको घेराइहरुको मापन गर्नुपर्दछ । त्यसपछि टाउकोदेखि खुट्टासम्म तरिकावद्व वा श्रेणीवद्व रुपमा निरीक्षण गर्दै जानुपर्दछ । बच्चाको पुरै शरीर निरीक्षण गरिसकेपछी उसका विभिन्न अकाम्य क्रिया (रिफ्लेक्स आर्क) हरु पनि राम्रा छन कि छैनन् भनी निरीक्षण गर्नुपर्दछ ।
१. बच्चाको तापक्रम, नाडी र श्वासप्रश्वास गति लिई टिपोट गर्नुपर्छ । (साधारणतया बच्चाको तापक्रमः ३६.५ देखि ३७.५ डिग्री सेन्टिग्रेड वा ९७.७ देखी ९९.५ डिग्री फरेनहाइट, नाडी वा मुटुको गति १२० देखि १४० प्रतिमिनेट र श्वास दर ४० देखि ६० प्रतिमिनेट हुने गर्दछ ।) स्रोतः सि.बि.आई.एम.एन.सि.आई. निर्देशिका 
२.बच्चाको तौल र लम्बाईलिनु पर्दछ । (साधारणतया बच्चाको तौलः २.५ देखि ४ के.जी. र लम्बाईः ५० सेन्टिमिटर हुने गर्दछ ।)– स्रोतः सि.बि.आई.एम.एन.सि.आई. निर्देशिका
३.बच्चाको टाउकाको गोलाइ, छातीको नाप र पेटको गोलाइ पनि लिनुपर्दछ । यी माथिका कुराहरू सबै तालिकामा राम्रोसँग टिपोट गर्नुपर्दछ । (सामान्यतया टाउकाको गोलाइ ३४ से.मी. (३३–३८ से.मी.) हुन्छ, यदि हाइड्रोसेफालस भएमा सो भन्दा बढी र माईक्रोसेफालस भएमा सो भन्दा कम हुने गर्दछ । त्यसैगरी जन्मिँदा छातीको गोलाइ टाउकाको गोलाइभन्दा ३ सेन्टिमिटरले कम अर्थात ३० देखि ३२ से.मि. हुने गर्दछ ।) स्रोतः सि.बि.–आई.एम.एन.सि.आई. निर्देशिका
४.तालुः बच्चाको तालु सुन्निएको वा भित्र पसेको कस्तो छ, छामेर हेर्नुपर्दछ । 
५.जोर्नीहरुः खप्परका हड्डीहरुका जोर्नीहरु धेरै फराकिला छ्न कि जस्तैः हाइड्रोसेफालस वा टाउकोभित्र पानी भरिएको अवस्थामा खप्परका हड्डीका जोर्नीहरु पनि एकअर्कामा खप्टिनु (ओभरल्याप) हुनु पनि सामान्य हो, जसलाई मोउल्डिङ भएको भनिन्छ । यसको डिग्री राम्रोसँग हेरि टिपोट गर्नुपर्दछ । 
६.अनुहारः अनुहारको बनावट साधारण वा मङ्गोलोइड बनावटको छ, आँखा, मुख, नाक, आदि बाङ्गो हुँदै गइरहेको छ कि जस्तैः अनुहारको पक्षघात (फेसियल पारालाइसिस), ओठ खुँडे (क्लिफ्ट लिप) वा क्लिफ्ट प्यालेट छ कि हेर्नुपर्दछ ।
७.आँखाः आँखाको रङ साधारण, पहेँलो वा आँखाभित्र रक्तस्राव भइ आँखा रातो देखिएको, सुन्निएको वा पानी बगेको छ कि हेर्नुपर्दछ ।
८.नाकः यसको बनावटको साथै नाक फोहोरले भरिएको छ कि हेर्नुपर्दछ ।
९.कानः यसको बनावट, मासु झुन्डिएको, पछाडी पल्टिएको, अविकसित अवस्थामा वा कान पछाडि नै टासिंएको छ कि हेर्नुपर्दछ ।
१०.मुखः ओठको रङ रातो वा निलो, ओठ काटिएको, वा क्लिफ्ट प्यालेट, जन्मँदै दाँत उम्रेको, जिब्रो छोटो, वा मुखभित्र स्राव छ कि हेर्नुपर्दछ ।
११.घाँटीः घाँटीमा जन्मजात गलगाँड, मेनिन्जोसिल आदि छ कि हेर्नुपर्दछ ।
१२.छाती र पेटः श्वासप्रश्वास क्रियामा छातीको चाल साधारण वा असाधारण, करङ भाँचिएको, पेट्को हर्निया, आदि हेर्नुपर्दछ ।
१३.हात र पाखुराः यसको बनावटर चलाउन नसक्ने अवस्था, हात मर्किएको, हात भाँचिएको छ कि हेर्नुपर्दछ । साथै हातमा बढी औंला भएको छ कि औंलाहरु जोडिएका छ्न कि राम्रो निरीक्षण गर्नुपर्दछ ।
१४.वाह्य जननेन्द्रियः साधारण वा असाधारण बनावट, जननेन्द्रिय नै नछुट्टिएको वा छोराछोरी छुट्ट्याउन नसकिने बनावटको, अण्डकोषमा पानी जमेको, फाइमोसिस, गुप्ताङ्ग सुनिएको, स्त्री शिशुको गुप्ताङ्गमा रगत देखिने (सेउडोमेन्स्त्रुरेशन) वा हर्माफ्रोडिटिज्म आदि राम्रोसँग निरीक्षण गर्नुपर्दछ ।
१५.दिशा गर्ने प्वालः नवजात शिशुको दिशा गर्ने प्वाल खुला छ छैन हेर्नुपर्दछ । यसका लागि रेक्टल थर्मोमिटर राखेर हेर्न सकिन्छ ।
१६.    खुट्टा वा पैतलाः खुट्टाको असाधारण बनावट जस्तैः ट्यालिपेस इकुइनो व्यरुस, खुट्टा भाँचिएको, मर्किएको, औंला बढी भएको वा औंला एक आपसमा जोडिएको छ कि छैन हेर्नुपर्दछ ।
१७.    पिठ्युँ या ढाडः स्पाइना बिफिडा, भेर्टिब्रेल डिस्लोकेशन र भाँचिएको छ कि हेर्नुपर्दछ ।

नवजात शिशुको दैनिक परिक्षणः 
नवजात शिशु जब नयाँ बाहिरी वातावरणमा आउँछ, तब उसले विभिन्न किसिमका समस्याहरु सित सामाना गर्नुपर्ने हुन्छ । उसमा संक्रमणविरुद्व लड्ने क्षमता राम्ररी विकसित भएको हुँदैन । त्यसकारण उसलाई छिटोभन्दा छिटो संक्रमण हुने सम्भावना हुन्छ । त्यस्ता संक्रमणलाई हामीले समयमै पहिचान गर्न सकेनौं भने बच्चाको वृद्धि विकास राम्रो नहुनुका साथै बच्चाको मृत्यु समेत हुन सक्छ । त्यसैले हामीले समयमै त्यस्ता समस्याहरु पहिचान गर्नका लागि दैनिक परीक्षण गर्नुपर्दछ ।

नवजात शिशुको निम्न कुरामा दैनिक परिक्षण गर्नुपर्दछ 
१.तापक्रमः सामान्य नवजात शिशुको तापक्रम दैनिक दुई पटक लिनुपर्दछ । यदि अस्वस्थ छ भने ४–४ घण्टाको फरकमा लिनुपर्दछ ।
२.श्वासप्रश्वास क्रियाः साधारणतया नवजात शिशुको श्वासप्रश्वासको दर ४०–६० प्रतिमिनेट हुन्छ । श्वासप्रश्वासको परीक्षण गर्दा दर, नियमितता, श्वास फेर्न गाह्रो छ कि, ठसठस कन्ने वा आवाज (ग्रन्टिङ) आउँछ कि, घ्यारघ्यार छ कि भनी हेर्नुपर्छ । यदि त्यस्तो भएमा तुरुन्तै चिकित्सक कहाँ पठाउनुपर्ने हुन्छ ।
३.नाडीको गतिः नाडीको गति दिनको दुईपटक लिनुपर्दछ । सामान्यतया प्रतिमिनेट नाडीको गति १२०–१४० सम्म हुन्छ ।
४.तौलः सामान्यतया नवजात शिशुको तौल हप्ताको दुईपटक लिनुपर्दछ । शुरुका केही दिन बच्चाको तौल ७–८ प्रतिशतले घट्छ र त्यसपछि विस्तारै बढ्दै गएर १० दिन पुग्दा शिशुको तौल जन्म तौल जति हुन्छ । 
५.टाउकोको गोलाइः टाउकोको गोलाइ लिँदाछिटो छिटो धेरै बढेमा तुरुन्तै अस्पताल पठाउनुपर्दछ । 
६.खानाः बच्चा जन्मेको १ घण्टाभित्र बच्चालाई आमाको दूध  चुसाउनुपर्दछ । सामान्य शिशुलाई २÷२ घण्टामा दूध चुसाइरहनु पर्द्छ ।
७.पिसाबः नवजात शिशुले पिसाब फेरेको छ कि छैन हेर्नुपर्दछ । सामान्यतया बच्चा जन्मिसकेपछी ४८ घण्टाभित्र पिसाब फेर्नू पर्दछ । यदि उक्त समयमा पिसाब फेरेन भने तुरुन्त अस्पताल पठाउनुपर्दछ ।
८.दिशाः सामान्यतया बच्चा जन्मिसकेपछी २४ घण्टाभित्र दिशा गर्नुपर्दछ । सुरुको दिसाको रङ्ग गाढा हरियो र च्यापच्याप लाग्ने खालको हुन्छ । उक्त पहिलो ३ दिनसम्म भएको दिसालाई मेकोनियम भनिन्छ ।
९.रुवाईः शिशुको रुवाई, आवाज र रुने तरिका कस्तो छ र कुनै परिवर्तन भएको छ कि छैन हेर्नुपर्दछ ।
१०.मुखः नवजात शिशुको मुख पनि दैनिक परिक्षण गर्नुपर्दछ ।

स्तनपानः–
नवजात शिशुलाई सबभन्दा राम्रो र अमुल्य खाना भनेको नै आमाको दूध हो । आमाको दूधमा नै शिशुलाई आवश्यक पर्ने पौष्टिक तत्वको साथसाथै रोग प्रतिरोधात्मक शक्ति पनि रहेको हुन्छ । शिशु जन्मेको १ घण्टाभित्रै आमाको स्तन सफा गरि दूध चुसाइहाल्नु पर्दछ, जसले गर्दा स्तनमा दूध उत्तेजित पार्दछ, साथसाथै पाठेघर खुम्चिई इन्भोलुशन हुनमा सहयोग पुर्याउँछ । आमालाई स्तन कसरी सफा गर्ने, बच्चालाई दूध ख्वाउँदा कुन आसनमा बस्ने हो सो कुराको राम्रो ज्ञान दिनुपर्द्छ । बच्चालाई २–२ घण्टाको फरकमा स्तनपान गराइरहनुपर्दछ । स्तनमा शिशुलाई आवश्यक दूध बनिरहेको हुन्छ । त्यसकारण शिशुले मागेअनुसार वा २–३ घण्टाको फरकमा स्तनपान गराइराख्नुपर्दछ । 

खोपः–
नवजात शिशुलाई आमाको पहिलो बाक्लो पहेँलो दूध (बिगौती दूध) ख्वाएको छ भने विभिन्न रोगहरुविरुद्वको प्रतिरोध शक्ति विकास हुन्छ । यदि शिशुलाई नियमित रुपमा स्तनपान गराइरह्यो भने १ महिना भित्रमा कुनै रोगले छुन सक्दैन । निश्चित अवधीपछि यदि रोग विरुद्धको प्रतिरोधात्मक शक्ति दिने खोप दिइएन भने उक्त रोगले ग्रसित पार्न सक्दछ । यहि कुरालाई हृदयङ्गम गरि नेपाल सरकारले वि.स. २०३४ सालदेखि १ वर्षमुनिका शिशुलाई खोप दिने व्यवस्था गरेको छ । वि.स. २०३४ सालमा धनुषा, रुपन्देही र सिन्धुपाल्चोक गरि ३ जिल्लाबाट बि.सि.जी. र डि.पि.टि. गरि ४ वटा एन्टिजेन बाट सुरुवात भएको खोप व्यवस्था वि.स. २०३७ मा थपिएको  दादुरा र पोलियो सहित वि.स. २०४५ मा आएर ६ वटा एन्टिजेन सहित नेपालका ७५ वटै जिल्लामा लागू भयो ।

त्यसैगरी वि.स. २०६० (सन् २००३) मा सुरु भएको मनोभ्यालेन्ट हेपाटाइटिस– बि, वि.स. २०६२ मा आएर डि.पि.टि. सँग मिसाएर टेट्राभ्यालेन्ट भयो । त्यसपश्चात वि.स. २०६६ मा जे.ई. खोप १६ जिल्लाबाट खोप तालिका अनुसार सुरुवात गरियो । त्यसैगरी वि.स. २०६६ बैसाखमा हेमोफिलस इन्फ्लुएञ्जा टाइप–बि, वि.स. २०६९ मा रुबेला, वि.स. २०७१ असोज २ मा आइ.पि.भि, वि.स. २०७१ माघ ४ मा पि.सि.भि., वि.स. २०७५ साउन १ मा एफ.आई.पि.भि. खोपको शुरुवात गरियो । वि.स. २०७५ साउन १ मा खोप तालिकामा राखिएता पनी २०७७ साल देखि रोटा भाइरस विरुद्धको खोप सुरुवात भएसङ्गै हाल नेपालमा बच्चालाई १२ वटा रोगविरुद्ध खोप दिने व्यवस्था रहेको छ । 
ती रोगहरुमा:
१.क्षयरोग 
२.लहरे खोकी 
३.भ्यागुते रोग
४.हेमोफिलस इन्फ्लुएञ्जा टाइप–बि
५.हेपाटाइटिस–बि
६.धनुष्टङ्कार 
७.दादुरा
८.रुवेला
९.पोलियो
१०.न्यूमोनिया
११.मेनिन्जाईटिस
१२.रोटा भाइरसले हुने झाडापखाला 

वीरवहादुर ओली 
सानीभेरी ११, रुकुम पश्चिम ।

लेखक हेल्थ असिस्टेन्ट हुनुहुन्छ ।

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update