Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा छुटेका २००१ भूकम्प प्रभावित घरको विस्तृत क्षति आकलन गर्न अनुरोध 
फाइल फाेटाे ।

२०८० को कार्तिक १७ गते गएको भूकम्पले प्रभावित बनेका रुकुम पश्चिमका २ हजार १ घरधुरीको विस्तृत क्षति आकलन हुने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले जिल्लामा भूकम्प प्रभावित आवासहरूको पछिल्लो चरणमा सङ्कलित विवरण प्राविधिक त्रुटिका कारण विपत् पोर्टलमा प्रविष्ट गर्न छुट्नुका साथै अस्थायी आवासका लागि पहिलो र दोस्रो किस्ताबाट वञ्चित भएका घरको विस्तृत क्षति आकलनका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको हो । 

यस्ता भूकम्प प्रभावित घर मुसिकोट नगरपालिकामा १ हजार ३ सय ५६, त्रिवेणी गाउँपालिकामा २ सय ४३ र बाँफिकोट गाउँपालिकामा ४ सय २ घर रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । यी परिवारले हालसम्म पनि भूकम्प प्रभावितको मान्यता पाउन सकेका छैनन् । जसका कारण उनीहरूले अस्थायी आवासका लागि सरकारले उपलब्ध गराएको पहिलो र दोस्रो कुनै किस्ता पाउन नसकेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिनुभयो । 

त्यस्तै मुसिकोट नगरपालिका लगायतका कतिपय स्थानीय तहमा भूकम्प पीडितले पेस गरेका फाइल कारबाही नगरी जिल्ला विपत् व्यवस्थापन समितिमा समेत पेस गर्न छुटेको भनिएकोले वास्तविक पीडित नछुटुन् भनेर उक्त प्रभावितहरूलाई पनि आवश्यक पक्रिया पुर्‍याई विस्तृत क्षति आकलन प्रक्रियामा समावेश गर्न प्राधिकरणलाई अनुरोध गर्ने पनि निर्णय भएको उहाँको भनाई छ । 

विस्तृत क्षतिको आकलन कार्य चलिरहेको अवस्थामा पछिल्लो पटक चैत्र २२ गते गएको भूकम्पको समेत विस्तृत क्षति आकलनका लागि प्राधिकरण समक्ष अनुरोध गर्ने निर्णय भएको छ । २०८० को जाजरकोट भूकम्पले जिल्लामा प्रभावित लाभग्राहीहरूको अस्थायी आवासको प्रथम र दोस्रो किस्ता बापतको रकम प्राप्त गरेका लाभग्राहीहरूको नामनामेसी सहितको विवरण र भरपाई स्थानीय विपत् व्यवस्थापन समितिबाट जिल्ला विपत् व्यवस्थापन समितिमा पेस गर्ने समेत निर्णय भएको छ । 

पहिलो र दोस्रो किस्ता पाएका तर विस्तृत क्षति आकलन हुनुपर्ने सूचिमा समावेश नभएका तथा दुवै किस्ता प्राप्त गरेका तर विविध कारणले विपत् पोर्टलमा समावेश हुन नसकेका लाभग्राहीको विस्तृत क्षति आकलन गर्न प्राधिकरणलाई आग्रह गर्ने समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिनुभयो ।

विपत् व्यवस्थापन समिति बैठकले मनसुनजन्य विपत्को कारणबाट सडक तथा राजमार्गहरू अवरोध हन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै स्थानीय तह, पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, विकास आयोजना लगायतका निकायले पूर्व तयारी एवं प्रतिकार्यका लागि एक्स्काभेटर, लोडर, डोजर, टिप्पर लगायतका सामग्री र जनशक्ति तयारी अवस्था राख्ने निर्णय गरेको छ । 

विभिन्न बहानामा वनमा डढेलो लगाउने घटना बढेको अवस्थामा डढेलो नियन्त्रण तथा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कारबाहीका लागि सरोकारवालाका बिचमा समन्वय बढाउने निर्णय समेत भएको छ । यसका साथै पूर्वाधार विकास कार्यालयको अनुरोध अनुसार राडिजिउला–दाँजे–खदी–वारंगे सडक खण्ड, पातुखोला–घ्यूखोला–खालीगैरा–रुप्चा सडक खण्ड र लक्ष्मी मावि कैलदेउ देखि माथिल्लो छिङ जोड्ने सडकको केही भागमा ब्लाष्टिङ गर्नु पर्ने भएकोले त्यसका लागि रक्षा मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि भएको छ । 

जिल्लामा भूकम्प प्रतिरोधी घर निर्माणलाई प्राथमिकता दिन प्राधिकरणलाई आग्रह गर्नुका साथै भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका विपत् पीडितलाई लक्षित गरी कपडा बैङ्क सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमलाई अनुरोध गर्ने समेत आजको जिल्ला विपत् व्यवस्थापन समिति बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update