Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अस्पताल रुकुम पश्चिमलाई ५० श्ययाकाे बनाउन जोड 

जिल्ला अस्पताल रुकुम पश्चिमलाई ५० श्ययामा स्तरवृद्धि गर्न जोड दिइएको छ । अस्पताल विकास समितिले आयोजना गरेको कर्णाली प्रदेश सरकाका सांसदहरूसँग निर्माणाधीन भवनको स्थलगत अनुगमन तथा ५० श्ययाको स्तरोन्नति छलफल बैठकमा यस्तो जोड दिइएको हो ।

कार्यक्रममा सहभागी जिल्लाबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश सभा सदस्य, अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी तथा जिल्लास्थित पत्रकार लगायतका सरोकारवाला अस्पतालको स्तरवृद्धि हुनुपर्नेमा एकमत भएका हुन् । 

२०४५ सालमा स्थापना भएको १५ श्ययाको अस्पताल २०८२ सालसम्म आइपुग्दा ३६ वर्षमा पनि स्तरवृद्धि हुन नसक्नु दुःखद भएको बैठकमा बोल्नेहरुको भनाई थियो । अस्पताल विकास समितिका अध्यक्ष टेक कुसारीले १५ श्ययाको मान्यता प्राप्त भए पनि ४० बेडको सेवा सुविधा दिइरहेको जानकारी गराउनुभयो । 

१५ श्ययाको क्षमतामा ४० बेडको सेवा दिँदा धान्न मुस्किल भइरहेको उहाँको भनाई छ । ४–५ जिल्लाको सेवा प्रदायक अस्पताल रहेको भन्दै उहाँले बिरामीको चाप थेगिनसक्नु हुनुका साथै सेवा प्रवाहका लागि जनशक्ति व्यवस्थापन सहित अन्य समग्र व्यवस्थापनमा हम्मे हम्मे भइरहेको उहाँको भनाई थियो । 

उहाँका अनुसार अस्पतालबाट वार्षिक ९० हजार बढीले सेवा लिने गरेका छन् । यो संख्यालाई हेर्दा जिल्ला अस्पतालको क्षमता ७० बेड बढी हुनुपर्ने भए पनि १५ श्ययाबाटै काम चलाउन बाध्य भएको उहाँले बताउनुभयो । अस्पतालको स्तरवृद्धिका लागि निरन्तर प्रयास गर्दा पनि हालसम्म सफल हुन नसकेको भन्दै उहाँले गुनासो पोख्नुभयो । 

बैठकमा सहभागी कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व मुख्यमन्त्री राजकुमार शर्माले आफू मुख्यमन्त्री हुँदै देखि जिल्ला अस्पतालको स्तरवृद्धिका लागि पहल गरेको तर विभिन्न कारणले सफल हुन नसकेको बताउनुभयो । अहिले पनि आफ्नो प्रयास जारी रहेको भन्दै उहाँले अब अस्पतालको आफ्नै भवन समेत अन्तिम चरणमा रहेकोले अब अस्पतालको स्तरवृद्धिका लागि थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

बैठकमा सहभागी प्रदेश सभा सदस्य तथा पूर्व अर्थमन्त्री महेन्द्र केसी, प्रदेश सभा सदस्यद्वय मिलन खड्का र तुलसा मल्लले पनि जिल्ला अस्पतालको स्तरवृद्धि सख्त आवश्यक रहेको भन्दै यसका लागि आफ्नो तर्फबाट प्रयास गरिरहेको र अब पनि संसद्मा आवाज उठाउने देखिको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

जिल्ला समन्वय समितिका प्रमुख लुम्बिनी गौतम र मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले समेत जिल्ला अस्पतालले स्तरीय सेवा प्रवाह गरिरहेको, जनविश्वास जितेको र यसलाई निरन्तरता सहित थप व्यवस्थित बनाउन सबैको पहल आवश्यक रहेको भन्दै स्तरवृद्धिको विकल्प नभएको बताउनुभयो । 

अन्य सहभागीहरूले पनि रुकुम पश्चिम मात्र नभई छिमिकी जिल्लावासीको जीवनसंग प्रत्यक्ष जोडिएको जिल्ला अस्पतालको सेवा थप प्रभावकारी बन्नुपर्ने धारणा राखेका थिए । बैठकमा अस्पताल विकास समितिका अध्यक्ष कुसारीले जिल्ला अस्पतालको हालको सेवा प्रवाह, समस्या लगायतका बारेमा जानकारी गराउनुभएको थियो । बैठकको सञ्चालन अस्पताल विकास समितिका सदस्य दीपकराज खड्काले गर्नुभएको थियो ।।  

प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update