
जिल्ला अस्पताल रुकुम पश्चिमको भवन निर्माणमा ढिलाइ भएको छ । निर्धारित समय भन्दा एक वर्ष बढी भइसक्दा पनि अस्पताल भवन निर्माणले पूर्णता पाउन सकेको छैन । २०८१ को असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी २०७८ साउन ७ गते खानी थोडङ–मेसन जेभी निर्माण कम्पनीले जिम्मा लिएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि यो वर्षको चैत्र मसान्तसम्मको समय थप गरिएको थियो । तर यो समयमा पनि भवन निर्माण सम्पन्न भएको छैन ।
कम्पनीले अझै ४ महिनाको समय मागिरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले जानकारी दिनुभयो । तर असार मसान्तसम्मको समयका लागि प्रदेशमा लेखि पठाइएको उहाँको भनाई छ । यो समयमा पनि भवन निर्माणले पूर्णता पाउनेमा आशङ्का देखिएको उहाँले बताउनुभयो । ‘यसै आर्थिक वर्षभित्र भवन निर्माण सम्पन्न गर्नुपर्ने बाध्यता छ, निर्माण कम्पनीले ४ महिना अर्थात् साउन मसान्तसम्मको समय मागेको छ, तर हामीले असार मसान्तसम्मका लागि प्रदेशमा लेखि पठाएका छौँ’ उहाँले भन्नुभयो ।
हालको कामको गतिलाई हेर्दा यो वर्षभित्र काम सकिनेमा विश्वस्त भइहाल्ने अवस्था नरहेको अध्यक्ष कुसारीले बताउनुभयो । अब भवनको केही संरचना निर्माण सहित फिनिसिङको काम बाँकी रहेको छ । ठेकेदार कम्पनीले २३ करोड १५ लाख ५ हजार २ सय ९१ रुपैयाँमा भवन निर्माणको जिम्मा लिएको छ । फुल रेटमा ठेक्का पार्दा पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण भवन निर्माणमा ढिलाइ भइरहेको अस्पताल विकास समितिले जनाएको छ ।
यो भवन निर्माण भएमा जिल्ला अस्पतालको सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ । यसैबिच कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा सहित रुकुम पश्चिमबाट प्रदेशमा प्रतिनिधित्व गर्ने सांसद लगायत सरोकारवालाको टोलीले केही दिन अघि मात्र निर्माणाधीन भवनको अनुगमन गर्दै भवन निर्माण तत्काल सक्न निर्माण कम्पनीको ध्यानाकर्षण गराएको थियो ।