
रुकुम पूर्वमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्ला ब्याडमिन्टन सङ्घ रुकुम पूर्वको आयोजनामा वैशाख १२ र १३ गते रुकुमकोटमा दुई विधामा प्रतियोगिता हुने भएको हो । अल नेपाल पुरुष डबल्स र महिला डबल्स विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
पुरुष डबल्स तर्फको विजेताले ३३ हजार, उपविजेताले २२ हजार र सान्त्वना हुने दुई जोडीले समान ११–११ हजार पुरस्कार पाउने छन् । नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजक समितिका कृष्णभक्त ओलीले बताउनुभयो ।
त्यस्तै महिला तर्फको विजेताले १० हजार, उप विजेताले ७ हजार र सान्त्वना जोडीले समान ३ हजार ५ सय नगद, ट्रफि, मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ । प्रतियोगिता अल नेपाल स्तरीय भए पनि वरियतामा समावेश खेलाडीहरूले सहभागिता जनाउन नपाउने आयोजक समितिका सोहेल श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिता सिस्ने गाउँपालिका ६ छिप्रिदह रुकुमकोटमा अवस्थित अमर ब्याडमिन्टन कबर्ड हल तथा ट्रेनिङ सेन्टरमा हुने छ ।