रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, सल्लेलाई सिल गरिएको छ । २ जना कोरोना संक्रमित भेटिएपछि सल्लेलाई अर्को निर्णय नभएसम्मका लागि आज बिहान १० बजेदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले सिल गरेको हो । कोरोना भाईरसलाई थप फैलिन नदिनका लागि चार किल्ला तोकि निषेधाज्ञा जारी गरिएको छ । पूर्वमा मुलखोला, पश्चिममा गुजिलढुंगा, उत्तरमा सल्ले माथिको डाँडा र दक्षिणमा एयरपोर्ट क्षेत्र भित्र अतिआवश्यक बाहेक अन्य सबै सेवा ठप्प रहने गरी सिल गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा उल्लेख छ ।
औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतवारीमा कृषिजन्य काम गर्ने बाहेक घरबाहिर निस्कन, भेला, मेला, जात्रा तथा भिडभाड हुने खालका गतिविधि गर्न र अत्यावश्यक सेवाका कार्यालय बाहेक सबै सरकारी तथा गैरसरकारी संघसंस्था, विद्यालय, बैंक तथा वित्तिय संस्था संचालनमा रोक लगाईएको छ । त्यस्तै खाद्यान्न पसल, माछा, मासु तथा दुधजन्य वस्तु बिक्रि गर्ने पसल, ग्याँस डिपो, औषधि पसल बाहेक सम्पूर्ण पसल, उद्योग, व्यवशाय संचालनका लागि निश्चित अवधि तय गरिएको छ । यि पसलहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्र संचालन गर्न पाइने छ ।
अस्पतालमा आकस्मिक र प्रसुति सेवाका साथै नियमित हवाइ उडान भने नियमित संचालन हुने छन् । चौरजहारीमा गरिएको पिसिआर परिक्षणमा सल्लेका २ जनामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम सल्ले र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ ।