Kakhara सबैको खबर सम्पूर्ण खबर
राप्ती साहित्य परिषद्को वार्षिकोत्सवमा ५ व्यक्ति तथा एक संस्था पुरस्कृत हुने 

राप्ती साहित्य परिषद् रुकुम पश्चिमको १७ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्ति तथा संस्था पुरस्कृत हुने भएका छन् । परिषद्ले वैशाख १३ गते वार्षिकोत्सव मनाउँदै छ । उक्त अवसरमा विभिन्न पुरस्कार वितरण गर्न लागिएको परिषद्ले जनाएको छ । 

परिषद्का अनुसार कर्णाली प्रदेशका पूर्व प्रमुख सचिव भरतकुमार शर्मालाई रुकुम साहित्य माला पुरस्कार २०८१, साहित्यकार खगेश्वर भण्डारीलाई मुसिकोट नगर प्रमुख साहित्यिक पुरस्कार २०८१, गायक तथा सर्जक तिलक परियारलाई योगमाया लोक साहित्य पुरस्कार २०८१, कखरा डटकममा कार्यरत पत्रकार बलेन्द्र ओलीलाई सुमना–सुमन साहित्यिक पुरस्कार २०८१ र देवीकला कठायतलाई बलबहादुर श्रेष्ठ स्मृति साहित्यिक पुरस्कार २०८१ प्रदान गरिने छ ।

त्यस्तै कला साहित्य संस्कृति संरक्षण मञ्च त्रिवेणीलाई मुसिकोट नगर प्रमुख साहित्यिक पुरस्कार २०८१ बाट पुरस्कृत गरिने परिषद्का अध्यक्ष मनलाल ओलीले जनाकारी दिनुभयो । रुकुम साहित्य माला पुरस्कार ५ हजार, मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार ५ हजार, योगमाया लोक साहित्य पुरस्कार ५ हजार, सुमना–सुमन साहित्यिक पुरस्कार २ हजार र बलबहादुर श्रेष्ठ स्मृति साहित्यिक पुरस्कार ५ हजार राशिको रहेको छ । 

मुसिकोट नगर प्रमुख साहित्य पुरस्कार संस्था तर्फ ५ हजार राशिको रहेको छ । पुरस्कारका लागि पूर्ण ओलीको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिसका आधारमा पुरस्कृत हुने व्यक्ति तथा संस्थाको टुंगो लागेको अध्यक्ष ओलीले जानकारी गराउनुभयो । 

परिषद्को वार्षिकोत्सवको अवसरमा हरेक वर्ष विभिन्न पुरस्कार प्रदान गर्ने गरिएको छ । साहित्यकार, कलाकार, पत्रकार तथा साहित्य प्रेमी व्यक्ति तथा संस्थाहरूको योगदानको कदर गर्दै सम्मान तथा पुरस्कृत गर्ने गरिएको अध्यक्ष ओलीको भनाई छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update