रुकुम पूर्व भूमे गाउँपालिका २ र ७ नम्बर वडामा पर्ने मारिङ लेक । समुन्द्र सतहदेखि झण्डै २ हजार ६ सय ४० मिटर उचाईमा रहेको यो लेक एउटा खाली डाँडोको रुपमा थियो । केही जग्गाहरु त थिए । ति जग्गा खाली नै थिए । जंगली बुट्यान र झार,जंगलले भरिएका थिए ति जग्गाहरु ।
विभिन्न ठाउँको दृश्यावलोकन गर्न सकिने रमणिय मारिङ लेक अब हराभरा पनि छ । यो हराभार त छ नै एउटा अनुसन्धान केन्द्रको रुपमा अघि बढाइएको छ । कृषिका विभिन्न खाद्यान्न बाली, तरकारी तथा फलफूलको समेत अनुसन्धान केन्द्रको रुपमा मारिङलाई अघि बढाइएको छ । वरपरबाट जंगलले घेरिएको यो यो मारिङ प्राकृतिक रुपमा सुन्दर त छ नै अब अर्को सौन्दर्यता अनुसन्धान केन्द्रले थपिएको छ ।
स्थानीय सरकारको प्राथमिकता
मारिङ लेक स्थानीय तहको निर्वाचनपछि प्राथमिकतामा परेको हो । भूमे गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिले यसको महत्व बुझेर त्यसै अनुसार यसलाई प्राथमिकतामा राखेर कार्य अघि बढाए । २०७४ असार १४ गते स्थानीय तहको निर्वाचन भएको थियो । २०७५ सालदेखि मारिङमा काम अघि बढाइएको थियो । बुट्यान, झार र जंगल फैलिएको मारिङको सरसफाई र मल,जलमा भूमे गाउँपालिका जुटेको थियो ।
त्यतिबेलादेखि नै मारिङमा नियमित मान्छे बस्न थालेका छन् । प्राविधिक रुपमा नै कृषिको ज्ञान सिकेका मान्छेहरुले नै नियमित मारिङको हेरचाह, खेतीपाती र अनुसन्धानको काम गरिरहेका छन् । गाउँपालिकाले कृषि प्राविधिक नियुक्त गरेर मारिङमा राखेको छ । उनिहरुले कृषिको अनुसन्धान त गर्छन् नै गोरु पनि पालेका छन् । जग्गा जोत्छन् । मौसमी र वेमौसमी खेती हुन्छ । त्यसको निरन्तर अनुसन्धान भइरहेको छ ।
के के अनुसन्धान भयो
मारिङमा करिब १५ हेक्टर जग्गा छ । त्यहाँ बस्नका लागि घर,गोठ पनि गाउँपालिकाले बनाएको छ । त्यहाँ विभिन्न खाद्यान्न, तरकारीको अनुसन्धान भइरहेको छ । पछिल्लो पटक रैथाने बालीको अनुसन्धान र परीक्षण पनि भइरहेको छ । अग्लो ठाउँमा कस्तो बाली हुन्छ, त्यसले कस्तो फल र उत्पादन दिन्छ, तरकारीले अग्लो ठाउँमा गुण मान्छ कि अवगुण, त्यसलाई कहाँ कहाँ विस्तार गर्न सकिन्छ भनेर प्राविधिकहरुले अनुसन्धान गरिरहेका छन् ।
यसको साथसाथै त्यहाँ ठूलो तरकारी खेती पनि हुने गरेको छ । आलु, काउली, बन्दा,रायोको साग, चम्चुर, गाजर, मुला, मकै सबैको खेती पाती भइरहेको छ । यसका साथसाथै मारिङमा स्याउ, ओखर, नास्पती, देवदार पनि लगाइएको छ । गाउँपालिकाले यसको पनि अनुसन्धान हुने बताएको छ । त्यसका लागि झण्डै हजार हाराहारी विभिन्न प्रजातीका फलफूलका विरुवा लगाइएको छ ।
सडक पुग्यो
मारिङमा मानव वस्ति त छैन । वर्षे गोठहरु छन् । वर्षामा सर्वसाधारणहरु गोठ जाने चलन छ । यत्ति मात्रैका लागि सडक आवश्यक्ता खासै हुदैनथियो होला । तर यसलाई अनुसन्धान केन्द्र नै बनाइएपछि भने गाउँपालिकाले मारिङमै सडक पुर्याएको छ । ७ नम्बर वडाको धर्मशाला, गुनाम हुँदै मारिङमै सडक पुगेको छ । विशेष गरी संघीय सांसद कमला रोकाको पूर्वाधार क्षेत्र विकास कोषको रकम सडक निर्माणमा लगाइएको छ । यसमा प्रदेश र स्थानीय सरकारले पनि लगानी गरेका छन् ।
यो सडकले गुनामबासीलाई पनि सहिदमार्गमा जोडेको छ भने मारिङ पनि सडकमा जोडिएको छ । २ नम्बर तर्फको काँक्रीबाट पनि मारिङ जोड्ने सडक निर्माण थालिएको छ । काँक्रीबाट सडक मार्फत मारिङ पुग्न अँझै केही सडक निर्माण हुन बाँकी छ । यस क्षेत्रबाट पनि मारिङमा सडक पुर्याउने योजना गाउँपालिकाले प्राथमिकतामै राखेको छ ।
सुविधा सहितको पाहुना घर
मारिङमा सुविधा सहितको पाहुना घर अर्थात अतिथि गृह निर्माण भएको छ । संघीय सांसद कमला रोकाको पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँको लगानीमा यो घर निर्माण भएको हो । कृषि अनुसन्धान केन्द्र अध्ययन र अवलोकनका लागि आउने र नितान्त पर्यटकीय रुपमा घुम्न आउनेहरुलाई बस्नका लागि यो घर बनाइएको हो । हेर्दा पनि सुन्दर देखिने यो घरमा अट्याच वाथरुम सहितका कोठा छन् । पाहुनाका लागि मारिङ अनुसन्धान केन्द्रमै खटिएका कर्मचारीले खुवाउने व्यवस्था छ । यस वापत पाहुनाहरुले निश्चित रकम तिर्नुपर्छ ।
यो रकम मारिङ अनुसन्धान केन्द्र, केन्द्र सञ्चालक समिति, कर्मचारी र गाउँपालिकामा जम्मा हुने गरी कार्यविधि बनाइएको छ । कृषि अनुसन्धानको अवलोकन, जंगल सफारी, पर्यटकी घुमघमा, विभिन्न ठाउँको दृश्यावलोकनका लागि पुग्नेहरुले यो घरमा बस्ने र सुविधा लिन पाउनेछन् । यहाँ पुग्न सहिदमार्गबाट ७ किलोमिटर हिड्नुपर्छ । रोल्पाको थवाङबाट समेत यो नजिक पर्छ । सहिद मार्ग र मध्यपहाडी लोकमार्गको बीचमा मारिङ लेक पर्छ ।
खास उद्देश्य के हो त
मारिङलाई कृषि अनुसन्धान केन्द्र बनाउनुपर्छ भन्ने परिकल्पना भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरको हो । अर्गानिक उत्पादन गर्ने र समग्र भूमेबासीलाई अर्गानिकतर्फ लैजाने उद्देश्य सहित मारिङमा अर्गानिक कृषि अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने अवधारणा आएको थियो । यसको उद्देश्य र हालसम्मको अभ्यासबारे गाउँपालिका अध्यक्ष बुढाको भनाई –ः
-गाउँपालिकाका लागि हावापानी र माटो सुहाउँदो बीउ उत्पादनको पहिलो उद्देश्य छ । हावापानी र माटो सुहाउँदो बीउ कृषहरुलाई सहज, सस्तो रुपमा उपलब्ध गराउने अर्को उद्देश्य छ । लामो समयदेखि कृषिलाई नै मुख्य पेशा बनाएका अगुवा कृषकलाई मारिङ लैजाने उनिहरुसँग अन्तरक्रिया, छलफल गर्ने र सिकाई आदाप्रदान गरी कृषकलाई हौसला प्रदान गर्ने तथा गाउँपालिका र कृषि अनुसन्धान केन्द्रले कृषकको पुष्ठपोषण लिएर नीति, निर्माण र बजेट बनाउने । यो प्राकृतिक हिसावले पनि सुन्दर ठाउँ हो ।
मारिङबाट हिमाल, पहाड र त्यस क्षेत्रका मानव वस्ति अवलोकन गर्न सकिन्छ । मारिङमा कृषि अनुसन्धान केन्द्रको अध्ययन, अवलोकन, भ्रमणका साथै भू दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकीय दृष्टिकोणबाट पनि यो क्षेत्र महत्वपूर्ण छ । हालसम्म हामी विभिन्न अभ्यासमा छौं । केही कुरा लगाइएको छ । अनुसन्धान भइरहेको छ । तरकारीजन्य खेतीपातीबाट आम्दानी पनि भइरहेको छ । के उत्पादन हुने रहेछ के हुन सक्ने रहेछ भन्ने कुराको लगभग यकिन भएको छ । यस अभ्यास पनि पूर्ण रुपमा गरिसकिएको छ ।
अतिथि गृह अर्थात पाहुनाघर निर्माण भएको छ । यहाँ आवासीय रुपमा बस्न आउनेहरु सम्पर्कमा हुनुहुन्छ । यद्यपी कोरोना महामारीका कारण हाल यो सम्भव भएको छैन । केही मान्छेहरु क्षेणिक घुमघामका लागि आएका छन् । आवासीय रुपमा छैनन् । स्थानीयहरु पनि पटक पटक पाहुना घरमा जाने आवासीय रुपमा बस्ने र फर्कने गरेका छन् । यसबाट पनि राम्रो प्रचार,प्रसार, प्रबद्र्धन भइरहेको विश्वास गरेका छौं ।