Kakhara सबैको खबर सम्पूर्ण खबर
केही तत्त्व जनताको असन्तुष्टिको फाइदा उठाउन खोज्दै छन्: राष्ट्रिय सभा सदस्य रोकाय

राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले केही तत्त्व जनताको असन्तुष्टिको फाइदा उठाउन उद्धत रहेको बताउनुभएको छ । रुकुम पश्चिमको १० औँ जिल्ला सभालाई आइतबार मुसिकोटमा सम्बोधन गर्दै उहाँले यति बेला केही तत्त्व जनताको असन्तुष्टिको फाइदा उठाएर आफ्नो रोटी सेक्ने दाउमा रहेको बताउनुभयो । तर उनीहरूको प्रयास सफल नहुने उहाँको दाबी छ ।

‘गणतन्त्र ल्याउन कुनै भूमिका नै नरहेकाहरू अहिले यो व्यवस्था खराब भयो भनेर भ्रम छर्न र जनताको असन्तुष्टिको फाइदा उठाउन खोजिरहेको छन्, उहाँले भन्नुभयो–तर उनीहरू कुनै पनि हालतमा सफल हुने छैनन् ।’ देशलाई भड्खालाेमा लैजाने खतरा रहेको उहाँको भनाई छ । यस तर्फ सबै गणतन्त्रवादी पक्षहरू एकजुट भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

‘अहिले नेताहरूले खत्तम गरे, सबै बिगारे भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, दलहरूले अब काम गरेर यसको जवाफ दिनुपर्छ, सबै गणतन्त्रवादीहरू एक भएर अघि बढ्नुको विकल्प छैन,’ उहाँले भन्नुभयो । अहिलेको निराशालाई चिर्न स्थानीय सरकारले जनताको पक्षमा काम गर्नुपर्ने उहाँको भनाई छ ।

जिल्ला सभाले पनि सेवा प्रवाहलाई राम्रो बनाउने र जनउत्तरदायी कामका लागि स्थानीय तहलाई प्रेरित गर्ने खालका नीतिगत मार्ग निर्देशन गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । साथै उहाँले कार्यशैलीमा सुधारको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै कानुन निर्माणमा ढिलाइ हुँदा जन पक्षीय काम गर्न समस्या भइरहेको समेत उहाँले बताउनुभयो । 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update