
रुकुम पश्चिम र जाजरकोट जोड्ने रिम्नाको झोलुंगे पुल उच्च जोखिममा परेको छ । दैनिक सयौँ मोटरसाइकल वारपार गर्ने पुल यति बेला उच्च जोखिममा पुगेको हो । पक्की पुल नहुँदा दैनिक सयौँ मोटरसाइकल यसै पुलबाट वारपार गर्ने गर्दछन् ।
तर यति बेला पुल उच्च जोखिममा परेर दुर्घटना कुरिरहेको छ । पुलका प्लेटहरू टुक्रिएर खस्न थालेका छन् । पुल ठाउँ ठाउँमा भ्वाङ परेको छ र पनि दैनिक सयौँ मोटरसाइकल उच्च जोखिम मोलेर वारपार पार्ने गरिएको छ । यसअघि पुलका भ्वाङ स्थानीयले काठले टाले पनि हाल भने पुलका भ्वाङ टालिएको छैन ।
यातायातको पहुँच नपुग्दासम्म मानिसले मात्र प्रयोग गर्ने उक्त पुल यति बेला भने मान्छे भन्दा बढी मोटरसाइकल वारपार गर्ने सेतु बनेको छ । जाजरकोटको भेरी नगरपालिका १ र रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १ जोड्ने उक्त पुल उच्च जोखिममा पर्दा पनि यसको मर्मतमा भने कसैको ध्यान गएको छैन ।
दुई जिल्ला जोड्ने महत्त्वपूर्ण यो पुल वर्षौँ पुराना समेत भइसकेको छ । यसको मर्मत सम्भारमा तत्कालै ध्यान नदिने हो भने ठुलो दुर्घटना निम्तिन सक्ने स्थानीयको चिन्ता छ । स्थानीय डिल्ली परियारले यो पुलमा जुनसुकै बेला अप्रिय घटना नघट्ला भन्न नसकिने बताउनुभयो ।
४, ५ महिना देखि पुलको अवस्था एकदमै नाजुक बन्दै गएको तर यसतर्फ कसैले पनि ध्यान दिन नसकेको उहाँको गुनासो छ । अर्का स्थानीय पूर्णबहादुर विकले पुलमा दैनिक मोटरसाइकल पुलको भ्वाङमा अड्किने गरेको बताउनुभयो ।
‘न त पक्की पुल निर्माणमा कसैले ध्यान दिन सकेको छ, न त भएको एउटा झोलुंगे पुलको संरक्षणमा कसैको ध्यान दिएको छ, यो त निकै लाजमर्दो भयो,’ उहाँले भन्नुभयो । स्थानीय टाेपेन्द्र वस्नेत पनि पुलकाे तत्काल मर्मत सम्भार हुनुपर्ने बताउनुहुन्छ ।