Kakhara सबैको खबर सम्पूर्ण खबर
बल्ल थालियो अक्सिजन प्लान्टको पाइपलाइन खरिद प्रक्रिया
जिल्ला अस्पतालमा ल्याइ पुर्याइएको मुख्य मेशिन ।

जिल्ला अस्पताल रुकुम पश्चिममा अक्सिजन प्लान्ट जडानले पूर्णता पाउने भएको छ । त्यसका लागि स्वास्थ्य सेवा कार्यालयले प्रक्रिया अघि बढाएको छ । अक्सिजन प्लान्ट जडानका लागि यस अघि नै अस्पतालमा मुख्य मेशिन ल्याइ सकिएको छ । त्यसलाई पूर्णता दिने गरी स्वास्थ्य कार्यालय प्रक्रिया अघि बढाएको हो ।

अबको दुई हप्ता भित्रै यस मेशिनले अक्सिजन उत्पादन गर्ने गरी काम हुने जनाइएको छ । त्यसका लागि पाइपलाइन र ट्याङ्की खरिदका लागि स्वास्थ्य सेवा कार्यालयले सूचना आह्वान गरेको छ । अक्सिजन स्टोर गर्न ५ सय लिटरको ट्याङ्की र पाइप लाइनका लागि सूचना आह्वान गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी जनक खड्काले जानकारी दिनुभयो ।

एक हप्ता भित्र सम्बन्धित निकायलाई सम्पर्कका लागि आउन भनिएको छ । सम्पर्कमा आउने कम्पनीमध्यबाट एउटालाई त्यसको जिम्मा दिइने र मुख्य मेशिनबाट अस्पतालका बेडसम्म पाइपलाइन विस्तार गर्ने र अक्सिजन वितरण गरिने जनाइएको छ । यसका लागि प्रदेश सरकारले १८ लाख रुपैयाँ पठाइदिएको छ । यस अघि ३९ लाख २२ हजार मा मुख्य मेशिन खरिद गरिएको भनिएको छ ।

प्रति मिनेट ४० एलपीएम अक्सिजन उत्पादन गर्ने क्षमताको मेशिन भएको बताइएको छ । यद्यपी यो ठूलो प्लान्ट हो कि सानो हो भन्ने एकीन भइसकेको छैन । स्रोतका अनुसार यो प्लान्ट पनि होइन । कन्सन्टेटर पनि होइन त्यही बीचको अक्सिजन जेनेरेटर हो । यो जडान भएपछि बुष्टर राखेपछि अक्सिजन रिफिल गर्न पनि मिल्ने दावी गरिएको छ । यो मुख्य मेशिन सुर्खेतको विभूती इन्टरनेशनल प्रालीले खरिद गरेको हो । 
 

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update