
दुर्गमका जनताका गुनासो सुन्न पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा लगायतको टिम रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको विभिन्न ठाउँ पुगेकाे छ । जन भेटघाट, भइरहेका विकास निर्माणका योजना अनुगमन तथा गुनासा सुन्न नगरपालिकाको विकट ठाउँमा शर्मा सहितको टिम आठविसकोटका विभिन्न ठाउँ पुगेकाे हो । यही वैशाख ८ गते वडा नम्बर २ को स्यालामा शर्मा सहितको टिमले जनतासँग भेटघाट गरेको थियो ।
वडामा भइरहेका विकास निर्माण, वडामा आवश्यक योजनाका विषयमा जनतासँग छलफल तथा भेटघाट भएको हो । दुई नम्बर वडाको पहाडाका जनतासँग पनि शर्माले भेटघाट गर्नुभएको थियो । भेटघाटका क्रममा त्यहाँका स्थानीयले सडक निर्माण हुनुपर्ने, विद्युत बत्ती सञ्चालनको लागि छिटो पहल गरिदिनु पर्ने, खानेपानी तथा विद्यालयका भवनहरू निर्माणका लागि पहल गर्नुपर्ने माग राखेका थिए ।
९ गते मङ्गलबार उहाँले वडा नम्बर १ को ओखले, वडा नं १ को वडा कार्यालय, विद्यालय भवन अनुगमन तथा जन भेटघाट गर्नुभएको थियो । यहाँका स्थानीयले पनि खानेपानीको समस्या, सडक सञ्जालको समस्या, विद्यालय भवनको समस्या, गाडीभाडा महँगो तिर्नु परेको लगायतका समस्या राखेका थिए । जनताको आवश्यकता तथा समस्या बुझ्नको लागि यहाँसम्म आएको बताउँदै पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्माले विद्युतको ठेक्का लागिसकेकाले छिटै सञ्चालन हुने, वडामा आवश्यक योजनाको लागि पहल गर्ने बताउनु भएको थियो ।
यहाँका स्थानीयहरूलाई स्याउ खेती, आलु खेती बदाम खेती गरेर आत्मनिर्भर बन्न पनि उहाँले आग्रह गर्नुभयो । यसका लागि पनि आफूले सहयाेग गर्ने उहाँको भनाई थियो । साथै उहाँले वडा नं ३ का खदीका जनतासँगहरू पनि भेटघाट गर्नुभएको थियो ।
खदिका स्थानीयले पनि आफ्ना गुनासा राखेका थिए। विकास निर्माणका योजनाहरू दिगो हुनुपर्ने, सडकको पहुँच पुगेको ठाउँमा सडक स्तराेन्नति हुनुपर्ने, युवा शक्तिलाई विदेशी पलायन रोक्न ठोस योजना ल्याउनुपर्ने लगायतका माग स्थानीयले राखेका थिए । जिल्लालाई आर्थिक समृद्धि बनाउन यसको निम्ति आफूले काम गरिरहेको बताउँदै शर्माले स्थानीयलाई कृषि क्रान्तिमा जोडिन आग्रह गर्नुभयो ।
खदीमा राम्रो आलु उत्पादन हुने भएकाले आलु खेती गर्न तथा व्यावसायिक रूपमा गाईभैँसी पालेर दुध बेचेर प्रतिदिन १ हजार रुपैयाँ कमाउने वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाई थियो । दुध बिक्रीका लागि कुनै समस्या नभएकाले यतातर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभएको थियो ।
जन भेटघाट कार्यक्रममा पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सदस्य शर्मा, कर्णाली प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य महेन्द्र केसी, कर्णाली प्रदेशका पूर्वमन्त्री रातो कामी, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतम उपप्रमुख देवबहादुर विक, आठबिकोट नगरप्रमुख रवि केसी, उपप्रमुख धनकुमारी शाही, नेकपा माओवादी केन्द्र आठबिसकोट नगरपालिका अध्यक्ष मनिराज बटाला लगायतको सहभागितामा रहेकाे थियाे ।