Kakhara सबैको खबर सम्पूर्ण खबर
कम्युनिस्टहरू सच्चिएर एक हुनुको विकल्प छैन: माओवादी केन्द्रका उपमहासचिव शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख जनार्दन शर्मा प्रभाकरले कम्युनिस्ट एकता आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले मुसिकोट नगरपालिका वडा नम्बर ५ शेरिगाउँमा आयोजना गरेको ७६ औँ कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा उहाँले यस्तो बताउनुभएको हो ।

एकता मात्र नभई सच्चिएर विचार केन्द्रित एकताको आवश्यकता रहेको उहाँले बताउनुभयो । एमाले र माओवादी एकता पछि नेकपा बन्नु तथा हालसम्मका अन्य एकता नेता नेताका स्वार्थ केन्द्रित भएर दिगो हुन नसकेको भन्दै उहाँले त्यस्तो एकताको कुनै अर्थ नहुने भन्दै विचार मिलेर देशको समृद्धिका लागि हुने एकता मात्र अबको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

नेकपा बन्दा जनतामा जुन अपेक्षा र आशा थियो, नेकपा विगठन भएसँगै जनतामा धेरै नै निराशा छाएको र अहिलेको राजावादी आन्दोलन पनि केही हदसम्म त्यसकै उपज भएको उहाँले बताउनुभयो । ‘माथिका नेता नेता मिलेर हुने एकताको केही अर्थ छैन, त्यस्तो एकता एक दुई जना नेताको स्वार्थ नमिल्दा टुटिहाल्छ, अहिलेसम्म भएको पनि त्यही हो, अबको एकता जनताको हित, देशको समृद्धि र विचारमा केन्द्रित हुनुपर्छ, र त्यो सम्भव पनि छ ।’ अहिलेकाे कम्युनिस्ट आन्दाेलन सत्ता केन्द्रित मात्र भएकाे टिप्पणी पनि उहाँले गर्नुभयो । 

कम्युनिस्ट एकताको प्रयास भने जारी नै रहेको उहाँले स्पष्ट पार्नुभयो । पार्टी एकीकरणसम्मकै उद्देश्य राखेर समाजवादी मोर्चा बनेको र मोर्चा तथा मोर्चा बाहिरका समेत कम्युनिस्ट पार्टीका बिचमा एकताको प्रयास भइरहेको उहाँले बताउनुभयो । तर नेकपा एमालेसँगको एकता भने अहिले नै सम्भव नभएको उहाँले बताउनुभयो ।

‘हिजो दुई पार्टीलाई मिलाएर नेकपा बनाउने र अन्तिमसम्म टुट्न नदिन दिनरात खटिने मध्येको एक म पनि हो, अहिले मैले एमालेसँग एकता हुन्छ भनेर भनेँ भने कसैले पनि पत्याउने स्थिति छैन, तर अवस्था बन्दै गयो भने त्यसका लागि पनि पहल गर्छु उहाँले भन्नुभयो ।’

नेपालमा कम्युनिस्ट विचारधारा सशक्त भए पनि छिन्नभिन्न भएकोले समाजवादीको यात्रा सफल हुन नसकेको बताउँदै उहाँले सबै कम्युनिस्ट एक ठाउँमा आउने हो भने कसैले रोक्ने नसक्ने उहाँको भनाई छ । यसैबिच उहाँले कम्युनिस्टहरू विचलित हुँदै गएको पनि उहाँले बताउनुभयो ।

कम्युनिस्टहरूले जनताका लागि सत्तामा पुगेपछि जे गर्नुपर्थ्यो अहिलेसम्म पूर्ण रूपमा त्यस्तो हुन सकेको छैन र पटक पटक सत्तामा जाँदा पनि आशा लाग्दो गर्न नसकेपछि कम्युनिस्टहरूप्रति जनताको विश्वास केही मात्रामा गुमेको समेत उहाँले बताउनुभयो ।

कार्यक्रमका सहभागीहरूले कम्युनिस्ट एकताको आवश्यकता औँल्याएका थिए । कयौँ टुक्रामा विभाजित हुँदा छिन्न भिन्न कम्युनिस्टहरू एक भए मात्र कम्युनिस्ट पार्टीको अर्थ हुने बताएका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update