Kakhara सबैको खबर सम्पूर्ण खबर
कम्युनिस्ट पार्टीको ७६ औं स्थापना दिवस: कम्युनिस्ट पार्टी एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड 

रुकुम पश्चिममा नेपाल कम्युनिस्ट पार्टीको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बुधबार मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा रहेको सहिद स्मृति प्रतिष्ठानको सभा हलमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हाे ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा जिल्लास्थित विभिन्न राजनितिक दलका जिल्ला स्तरका नेताहरूले शुभकामना व्यक्त गरेका थिए । कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउन सबै कम्युनिस्ट विचार धाराका पार्टी एकजुट हुनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए । 

कम्युनिस्ट आन्दोलन कमजोर हुनुमा स्वयं कम्युनिस्टहरूकै कमजोरी रहेकाले सच्चिएर अगाडी बढ्नुपर्ने नेताहरूले जोड दिएका थिए ।  सबैको लक्ष्य समाज तथा देश विकास गर्नु रहेकाले यतातर्फ सोच्नुपर्नेमा उनीहरूको जोड थियो । कम्युनिस्ट पार्टीहरू एक भए मात्र सहिदको सपना पुरा गर्न सकिने उनीहरूको भनाई थियो । 

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कम्युनिस्ट आन्दोलन एकताको प्रमुख आवश्यकता भएको बताउनुभयो । एकता मात्र नभई सच्चिएर कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउनुपर्ने शर्माले बताउनुभयो ।

एमाले र माओवादी एकता पछि नेकपा बन्नु तथा हालसम्मका भएका एकतामा नेताका स्वार्थ केन्द्रित भएर दिगो हुन नसकेको उहाँले बताउनुभयो । स्वार्थको एकता देश र जनताको लागि कुनै अर्थ नहुने भन्दै देश र जनताको उपलब्धिका लागि मात्र अबको एकता आवश्यकता रहेको बताउनुभयो । सत्ता मोहभन्दा माथि उठेर जनताप्रति  प्रतिबद्धता भएर कम्युनिस्ट पार्टीहरूले काम गर्नुपर्ने उहाँको भनाई थियो । 

नेपाली काँग्रेसका जिल्ला उपसभापति हर्कसिंह खत्री, नेकपा एमालेका अध्यक्ष नन्दराम देवकोटा, नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव अमरराज पुन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गिरीप्रसाद बुढा, नेकपाका जिल्ला सेक्रेटरी महेश सी, नेकपा बहुमतका जिल्ला सचिव सोमपाल कामी सहित नेकपा माओवादी केन्द्रका विभिन्न तहका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले गर्नुभएको थियो । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update