
नेकपा माओवादी केन्द्र रुकुम पश्चिमको पार्टी भवन उद्घाटन भएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगामा निर्माण भएको भवनको पार्टीका केन्द्रीय उपमहासचिव तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकरले रिबन काटेर भवनको उद्घाटन गर्नुभयो । २०७८ सालमा निर्माण सुरु भएको पार्टी भवन करिब ८५ लाख खर्चमा निर्माण भएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।
पार्टी कार्यालय तीन तले रहेको छ भने हल सहित ६ कोठा रहेको पार्टीका जिल्ला संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो । भवन उद्घाटनसँगै अब उक्त भवनबाट पार्टी गतिविधि सञ्चालन हुने उहाँले बताउनुभयो । पुरानै पार्टी कार्यालय रहेको जिल्ला प्रशासन नजिकै नयाँ भवन निर्माण भएको हो ।
यो बिचमा नेकपा माओवादी केन्द्रको जिल्ला पार्टी गतिविधि मुसिकोट नगरपालिका ५ शेरिगाउँबाट सञ्चालन हुँदै आएको थियो । नयाँ र व्यवस्थित भवनले पार्टी गतिविधि सञ्चालनमा सहजता आउने जिल्ला संयोजक रोकाको विश्वास छ । भवनमा जिल्ला पार्टी कार्यालय सहित जन वर्गीय संगठनका कार्यालयहरू समेत रहने उहाँले बताउनुभयो ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर आज पार्टी कार्यालय उद्घाटन भएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय स्तरका नेता कार्यकर्ताहरू, जन वर्गीय तथा पेसागत संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।