Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका सबै पार्टी एउटै मञ्चमा 

रुकुम पश्चिममा बुधवार फरक दृश्य देखियो । सितिमिति एउटै मञ्चमा नदेखिने जिल्लाका सबै राजनीतिक दल एउटै मञ्चमा देखिए । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमले नेपाल कम्युनिस्ट पार्टीको ७६ स्थापना दिवसका अवसरमा मुसिकोटको शेरिगाउँमा आयोजना गरेको कार्यक्रममा जिल्लास्थित सबै राजनीतिक दललाई आमन्त्रण गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनुभएको थियो नेकपा माओवादी केन्द्रका उपमहासचिव, संगठन विभाग प्रमुख, प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री जनार्दन शर्मा प्रभाकर । १२ बजेका लागि तोकिएको कार्यक्रममा आमन्त्रितहरू आउने क्रम सुरु भइसकेको थियो ।

नेकपा एमालेका अध्यक्ष नन्दराम देवकोटा, नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव अमरराज पुन, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गिरीप्रसाद बुढा, नेकपाका जिल्ला सेक्रेटरी महेश सी, नेकपा बहुमतका जिल्ला सचिव सोमपाल कामी कार्यक्रम सुरु नहुँदै कार्यक्रम स्थल शेरिगाउको सहिद प्रतिष्ठानको हलमा पुगिसक्नुभएको थियो ।

जिल्लाका सबै कम्युनिस्ट दलहरू एउटै मञ्चमा सहज देखिएका थिए भने यो माहौलले सहभागीहरूलाई फरक अनुभूति दिलाइरहेको थियो । कार्यक्रम सुरु भएको केही छिनमै नेपाली काँग्रेसका जिल्ला उपसभापति हर्कसिंह खत्री पनि कार्यक्रम हलमा छिर्नुभयो । त्यसपछि जिल्लाका कम्युनिस्ट देखि काँग्रेस एउटै मञ्चमा भए ।

दलकै आयोजनामा भएको कार्यक्रममा सबै दल एउटै मञ्चमा देखिएको सम्भवतः यो पहिलो कार्यक्रम होला । तर कार्यक्रममा सहभागी कुनै पनि नेताहरूले असहज महसुस गरेको देखिएन । कार्यक्रममा सबैको बोली एक देखियो । कम्युनिस्ट पक्षले कम्युनिस्ट एकतामा जोड दिए ।

IMG-20250423-WA0019-1745422372.jpg
नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाले एक अर्कामा मन माझेर वृहत् कम्युनिस्ट एकता हुनुपर्ने बताउनुभयो । हिजो पनि नेतृत्वको निर्णयलाई शिरोपर गर्दै तल एक भएको स्मरण गर्दै उहाँले अब पनि नेतृत्वले एक हुने निर्णय गरेमा त्यसको स्वागत गर्दै एक हुने बताउनुभयो । तर एकताका नाममा कार्यकर्ता र जनतालाई बेवकुफ बनाउन भने नहुने उहाँको भनाई थियो ।

‘जुन उद्देश्यका साथ हामी कम्युनिस्ट आन्दोलनमा लागेका थियौँ त्यो लाइनलाई कतै बिर्सियौँ की भन्ने प्रश्नको गम्भीर समीक्षा गर्नुपर्छ उहाँले भन्नुभयो ।’ साथै उहाँले जिल्लाको विकासका लागि सबै दलको साझेदारी आवश्यक रहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका जिल्ला उपसचिव अमरराज पुनले पनि कम्युनिस्ट एकताको आवश्यकता औँल्याउनुभयो । कम्युनिस्टहरू चारतिर छरिएकोले जनताको विश्वास गुम्दै जाने तर्फ बेलैमा सचेत भएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो । यसैका लागि नेकपा एकीकृत समाजवादीले अहिले अभियान नै चलाएर अघि बढिरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गिरीप्रसाद बुढाले कम्युनिस्टहरू कामले फरक र उत्कृष्ट देखिनुपर्ने बताउनुभयो । तर अहिलेसम्म त्यस्तो हुन सकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेकपाका जिल्ला सेक्रेटरी महेश सी र नेकपा बहुमतका सचिव सोमपाल कामीले यसमै जोड दिनुभएको थियो ।

नेपाली काँग्रेसका उपसचिव हर्कसिंह खत्रीले पनि खासै फरक मत व्यक्त गर्नुभएन । जिल्लाको विकासका लागि सबैले हातेमालो गर्नुपर्नेमा उहाँको जोड थियो । ‘हामीले मान्ने विचार फरक होला, पार्टी फरक होलान् तर हामी पुग्ने गन्तव्य एउटै हो, उहाँले भन्नुभयो–जिल्लाको विकासका लागि के कम्युनिस्ट, के काँग्रेस सबै मिलेर अघि बढ्नुपर्छ ।’

उहाँले नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले केही वर्ष पहिला जिल्लाको विकासका लागि एउटै पार्टी बन्नुपर्छ भनेको भन्दै त्यो स्मरण गर्नुभयो । ‘अहिले पछिल्लो पटक त खासै कुरा भएको छैन तर केही वर्ष पहिला आदरणीय नेता जनार्दन शर्माले जिल्लाको विकासको लागि हामी एक पार्टी जसरी अघि बढ्नुपर्छ भनेर भन्नुभएको थियो, म यो अवसरमा उक्त सन्दर्भ स्मरण गर्न चाहन्छु ।’

नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा संगठन विभाग प्रमुख जनार्दन शर्माले नेतृत्वकै स्वार्थ र जनताका आवश्यकता भन्दा बाहिर कम्युनिस्टहरू गए की भन्ने गम्भीर प्रश्न उब्जिएकोले यसको निरूपण समयमै हुनुपर्ने बताउनुभएको थियो । आफूले नेकपाको निर्माण र त्यसलाई बचाउन अन्तिमसम्म प्रयास गरेको स्मरण गर्दै अब पनि कम्युनिस्ट एकताकै लागि खटिएको स्पष्ट पार्नुभएको थियो ।

IMG-20250423-WA0020-1745422371.jpg
उहाँले फरक फरक विचार राख्ने पार्टी भए पनि जिल्लाको विकास र समृद्धिका सन्दर्भमा एउटै पार्टीको अवधारणा अघि सारेको र अहिले पनि त्यसमा अडिग रहेको बताउनुभयो । ‘हाम्रा विचार फरक होलान्, पार्टी फरक होलान् तर हामी जहाँ छौँ त्यही रहेर जिल्लाको विकास र समृद्धिका लागि एउटै पार्टी जस्तै बनेर अघि बढौँ भनेर मैले हिजो अवधारणा अधि सारेको थिएँ, अहिले पनि म त्यसमा अडिग छु,’ उहाँले भन्नुभयो ।

सबै दल एउटै मञ्चमा अटाउनु जिल्लाको लागि सुखद सुरुवात भएको र यो उदाहरणीय भएको उहाँले बताउनुभयो । यस्ता छलफल, भेटघाट र विचार विमर्श अबका दिनमा पनि निरन्तर हुनुपर्ने र यसको सुरुवात गरेको भन्दै उहाँले नेकपा माओवादी केन्द्र रुकुम पश्चिमलाई धन्यवाद दिनुभयो ।

नेपाली काँग्रेसका उपसभापति खत्रीले पनि यस्ता छलफल, भेटघाट र विचार विमर्श निरन्तर हुनुपर्ने बताउनुभयो । चाहे कम्युनिस्ट स्थापना दिवस होस वा चाहे नेपाली काँग्रेसको स्थापना दिवस होस जिल्लास्थित सबै दलहरू एउटै मञ्चमा बसेर जिल्लाको समग्र विकासका लागि विचार विमर्श हुनुपर्ने उहाँको भनाई थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update