Kakhara सबैको खबर सम्पूर्ण खबर
सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको छ : प्रतिनिधि सभा सदस्य शर्मा 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले सत्ता केन्द्रित राजनीतिले देशलाई थिलोथिलो पारिरहेको बताउनुभएको छ । आज रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दे शर्माले राजनीतिक दल सत्तामा लिप्त हुँदा सुशासनका बाटाहरु कमजोर हुँदै गएको बताउनुभयो । 

सरकारमा जानेले सुशासनमा काम गर्नुको सट्टा आफ्नो स्वार्थमा काम गर्ने  परिपाटी बढ्दै गएको उहाँको भनाई थियो । सरकारमा जानेले आफ्नो स्वार्थ केन्द्रित काम गर्नाले जनतामा असन्तुष्टि बढ्दै गएको शर्माले उल्लेख गर्नुभयो ।  शिक्षकहरु आन्दोलनमा रहेको विषय उठान गर्दै शिक्षा क्षेत्रलाई सुधार गर्न शिक्षकका जायज माग सरकारले सम्वोधन गर्नुपर्ने र त्यसको लागि पार्टीले सरकारलाई ध्यानाकर्षण बनाउँदै आएको  समेत बताउनुभयाे । 

‘‘शिक्षालाई सुधार गर्नुपर्ने अवस्थामा कमजाेर हुँदाखेरि जनताको असन्तुष्टि छ, स्वास्थ्य क्षेत्र महँगो हुँदा त्यसमा असन्तुष्टि छ, आज हजारौं युवाहरू विदेश जाँदा हाम्रा जमिनहरु बाझा छन् यतातर्फ पनि सरकारले र सवै राजनीतिक दलहरुले सोच्नुपर्छ’’ उहाँले भन्नुभयो । शिक्षा, स्वास्थ्य, लगायतका विषयमा सुधार गरेर देशभित्रै आफ्नै स्रोत साधन प्रयोग गरेर राष्ट्र समृद्धि बनाउने दृड संकल्प, दूरदृष्टि भएको नेतृत्वको जनताले खोजिरहको उहाँले बताउनुभयो । 

फरक प्रसंग जोड्दै प्रतिनिधि सभा सदस्य शर्माले  केही व्यक्ती तथा पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध अफवा फैलाउने निरंकुशतालाई फिर्ता ल्याउने कुरा गरिरहेको हुँदा भ्रममा परेर यसका पछि नलाग्न समेत सवैलाई आग्रह गर्नुभयो । ‘‘कराउनेहरू कराइराख्छन् सबै ठूला दलहरु नयाँ दल, पुराना दल, सबै दलहरुले आफूलाई बदल्नुपर्छ, रूपान्तरण हुनुपर्छ, जनताप्रति समर्पित हुनुपर्छ, जनताको पक्षमा काम गर्नुपर्छ’’ उहाँले भन्नुभयो ।

जनताले आफ्नो असन्तुष्टिको आवाज उठाइरेकाले सरकारले सत्ताको छिनाजप्ती गालीगलोजबाट नभएर त्यसको जवाफ आफैलाई बदलेर तथा आफ्ना कमिकमजोरी सच्याएर जवाफ दिनुपर्ने शर्माको भनाई थियो । 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  २२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update