Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट नगरपालिकाले फेरि भन्याे सडक मिचेर बनाइएका संरचना १५ दिन भित्र हटाउनु

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले फेरि पनि सडक मिचेर बनाइएका संरचना हटाउन निर्देशन जारी गरेको छ । यसअघि थुप्रै पटक सूचना जारी गरे पनि सडक मिचेर बनाइएका संरचना हटाउन आँट नगरेको नगरपालिकाले फेरि १५ दिने सूचना जारी गरेको छ । 

शुक्रवार सूचना जारी गर्दै नगरपालिकाले राप्ती राजमार्गको शेरिगाउँ, बागबजार, खलङ्गा, मठ, सल्ले तथा खलङ्गाको सहिद गेट, जिप्रका रोडका साथै त्रिवेणी चोक देखि जिल्ला प्रशासन कार्यालय सम्मको सडक अधिकार क्षेत्र भित्र मापदण्ड विपरीत निर्माण गरिएको सम्पूर्ण संरचना हटाउन निर्देशन दिएको छ । 

नगरपालिकाले अस्थायी घर, टहरा, घुम्ती लगायतका भौतिक संरचनाहरू १५ दिन भित्र हटाई आफ्नो व्यवस्थापन गर्न भनेको छ । तोकिएको समयमा नहटाइएमा कानुन बमोजिम कारबाही हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकाश गिरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

नगर कार्यपालिकाको पटक पटकको निर्णय र जिल्ला प्रशासन कार्यालयमा वैशाख ५ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन गरिएको सूचनामा उल्लेख छ । मापदण्ड विपरीतका संरचनाले दुर्घटना बढाउनुका साथै पैदल यात्रीलाई आवत जावतमा समस्या हुने र बजार क्षेत्रको व्यवस्थापन समेत अव्यवस्थित देखिने नगरपालिकाले जनाएको छ । 

पटक पटक निर्देशन जारी हुने तर कारबाही नहुने अवस्थाले यो पटक पनि यो निर्देशन कार्यान्वयनमा जानेमा आशङ्का रहेको छ । न त अव्यवस्थित संरचनाहरू स्व इच्छुक रूपमा हटाइन्छ नत नगरपालिकाले नै हटाउने गरेको छ । पटक पटक निर्देशन जारी गर्ने तर कार्यान्वयन गर्न नसक्ने नगरपालिकाको कमजाेरीका कारण पनि नगरपालिकाको निर्देशनलाई गम्भीर रूपमा लिएको पाइँदैन ।   

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update