
लेखको सुरुवातमा तपाईँले सुनिसकेको 'दाउरेको सुक्ख' शीर्षकको लघुकथा सुनाउँदै छु म । दोहोर्याएर सुन्नुभयो भने पनि खासै कुपथ गर्दैन ।
यस कथामा एकजना दाउरे र अर्को चाउरे नामका पात्रहरू छन् । दाउरे आफ्नो गाउँबाट निकै टाढा रहेको जङ्गलमा दिनहुँ पुगेर दिनभर सुकेका दाउराहरू खोज्छ । ती दाउराहरू सङ्कलन गरेर बजारमा लिएर बेच्छ । थोरै थोरै गरेर पैँसा जम्मा गर्दै जान्छ । त्यही पैसाबाट उसका परिवारको साँझबिहानको हातमुख जोर्छ । परिवारको गर्जो टार्छ । सन्तानलाई पढाईलेखाई आफ्नै खुट्टामा उभिने बनाउनु छ । दैनिक आवश्यकताहरू पूरा गर्दै भविष्यमा आइपर्ने सानातिना सङ्कटहरू पनि त्यसैले टार्नुपर्नेछ । दाउरे रगतपसिनाको खोलो बगाएर निरन्तर सङ्घर्ष गरिरहन्छ ।
त्यस जङ्गलको बाटोको बीचतिर एउटा पीपलचौतारी छ, जहाँ दाउरे एकछिन बिसाउँछ । त्यस चौतारीमा दाउरे जङ्गलतिर जाँदा पनि र दाउरा खोजेर आउँदासमेत चाउरे बेपरवाह सुतिरहेको भेटिन्छ । चाउरे बिनाकामै दिनदिनै सुतिरहेको देखेपछि दाउरेलाई खसखस लागिरहेकोले सोध्छः
"ए भाइ, उठ त ! किन सुतिरहेको ?"
"तिमीलाई के मतलब ? म किन उठ्ने ? जे भन्नु छ भन ! म सुती सुती सुनिदिन्छु ।"
"तिम्रो केही काम छैन ? यसरी चौबाटोमा सुतेर एक बारको जुनी किन बित्थैमा नष्ट गरिरहेका छौ ?"
"तिम्रो पो काम केही रहेनछ, बेकारमा जङ्गल चहारेर दुक्ख बेसाइरहेका छौ !"
"जङ्गलबाट दाउरा ओसारिरहेको देखेनौ ?"
"ती काम न काजका दाउरा ओसारेर के फाँर्छौ ?"
"यी दाउराले घरमा खाना पकाउँछु । बचेका दाउरा लिएर बजारमा बेच्छु ।"
"अनि के गर्छौ दाउरा बेचेको पैसाले ?"
"घरको सबै आवश्यकता टार्छु । सन्तानलाई पढाईलेखाई ठुलो बनाउँछु ।"
"के काम छ सन्तानलाई पढाएर ?"
"उनीहरूको भविष्य सुखी हुन्छ । उनीहरूले काम गर्न थाले भने म सुतीसुती खान्छु ।"
"तिमी त्यत्रो दुक्ख बेसाएर सुतीसुती खाने अवस्थामा पुग्ने सपना रहेछ । हेर त दाउरे म त यत्तिकै सुतीसुती खाइरहेको छु । मैले सुतीसुती खानको लागि सपना नै देख्नुपर्दैन । भए घरको खान्छु, नभए ऋण कारेर वा मागेर वा चोरेरै भए पनि पेट पाल्छु । मेरा सन्तानले पनि यसै गर्छन् । जाबो एउटो जिउ पाल्नको लागि तिम्रोजस्तै मरिहत्ते गर्नुपर्दैन मैले ।"
चाउरेको जवाफले दाउरे नाजवाफ हुन्छ । त्यसपछि दाउरेले चाउरेलाई कहिल्यै प्रश्न गर्दैन । दाउरेको जीवन दाउरा सङ्कलन गरेरै बित्दै जान्छ । चाउरेको जीवन चौतारीमा सुतेरै बित्छ । कथा यति मात्र हो ।
जीवनलाई हेर्ने दृष्टिकोण फरकफरक छ । जीवन जिउने दृष्टिकोण फरकफरक छ । जीवनलाई सङ्घर्षपूर्ण बनाउने कि आलस्यपूर्ण बनाउने आफ्नै दृष्टिकोणले निर्धारण गर्दछ ।
अर्काले गरेको प्रगतिको दाँजोमा आफू पुग्न नसक्दा हामीले भन्ने गर्छौँ, "उसले त्यो सम्पति बोकेर स्वर्ग लाने होइन । आउँदा पनि खाली हात आइयो, जाँदा पनि खाली हात नै जाने हो ।"
तथापि अरूलाई जे भने पनि हामी कर्तव्यपथबाट र प्रगतिपथबाट एकछिन पनि विमुख हुँदैनौँ । अन्तिम सास रहँदासम्म जीवन धान्ने मेसोमा कर्मपथमा जोतिइरहन्छौँ । आखिर नगरेर पनि त जङ्गलको चरो बाँचेकै हुन्छ ।
***************************
गएको हप्ता रुकुम पश्चिम सिर्जना उत्सवमय बन्यो । यस प्रकारको साहित्यिक उत्सव सम्भवतः रुकुममा पहिलोचोटि हुँदै थियो र सजिलै सम्पन्न भयो पनि । आखिर यो कार्यक्रम नगरेको भए पनि रुकुम चलेकै थियो । कार्यक्रम गरेर पनि रुकुमको अवस्था उलटपुलट हुने होइन । कार्यक्रम सम्पन्न गरेको प्रतिवेदन मृत्युपश्चात् मुठ्ठी परेको हातमा जाँदैन होला, हातमै परे पनि स्वर्गका देवताहरू भेटिने हुन् कि होइनन् ! भेटिइहाले पनि त्यो प्रतिवेदन हेर्लान् कि नहेर्लान् !
पश्चात्तापको कुरा यो छ कि यही अवसर छोपेर अतिथि स्रष्टाहरूलाई रुकुमको प्रमुख पर्यटकीय गन्तव्य स्थल स्यार्पु पुर्याउन सकिएको भए सिर्जना उत्सव स्यार्पुमय हुन्थ्यो । अहिले स्यार्पुको उछाल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्थ्यो र रुकुम नटेकेका र स्यार्पुको नामै थाहा नभएका व्यक्तिहरूले पनि स्यार्पुको दृश्यावलोकन गरेर रमाउँथे । तर हाम्रो घरको करेसामै स्यार्पु भएर पनि परवाह नहुनेलाई स्यार्पुको प्रचार भए पनि के, नभए पनि के । श्रेष्ठ स्रष्टाहरू त्यहाँ पुगेकै भए पनि स्यार्पु भरिँदैन्थ्यो, नपुगेर पनि स्यार्पुको आयतन र सुन्दरता घट्ने होइन ।
******************
रुकुमेली वाङमय अधिष्ठानको स्थापना भएपश्चात् जिल्ला र आसपासका सबैजसो कलाकर्मी, संस्कृतिकर्मी र साहित्यकर्मीहरूको साथै आसपासका जिल्लावासीलाई पनि अधिष्ठानको सदस्य बनाउनुपर्छ भन्ने सुझाव दिने मनोहर लामिछानेले जाजरकोटमा जन्म भई काठमाडौँकेन्द्रित साहित्य अभियानहरू चलाइरहेका राजेश्वर कार्कीसँग भेट गराइदिनुभयो । सरल र मिजासिलो स्वभावका राजेश्वरसँग झ्याम्मिन बेर लागेन । उहाँले काठमाडौँ र आसपासमा हुने विभिन्न साहित्यिक समारोहहरूमा मलाई नबिराई निम्तो दिन थाल्नुभयो । कुवालाई संसार ठान्ने मजस्तो भ्यागुतोको निम्ति साहित्यिक आकाश कति फराकिलो रहेछ भन्ने परिचित हुँदै गएँ । मनमनै त यही साहित्यिक माहोललाई रुकुमसम्म पुर्याउन पाए भन्ने सकसक त भइरहेकै थियो, त्यसै बीच राजेश्वरजीले भनिहाल्नुभयो, "हामी केही वर्षभित्रै कलासाहित्यको सिर्जना उत्सव मनाउन रुकुम पनि आइपुग्ने छौँ ।"
मैले भनेँ, "केही वर्ष किन कुर्ने ? रुकुममा यही वर्ष गरे हुँदैन यो कार्यक्रम ?"
मेरो सकारात्मक जवाफ पाएपश्चात् राजेश्वर सर आफ्नो जन्मस्थल जाजरकोट आएको मेसो मिलाई रुकुम पनि आइपुग्नुभयो र स्थानीय साहित्यकारहरूसँग आफ्नो प्रस्ताव राख्नुभयो । स्थानीय साहित्यकार साथीहरूले यस प्रकारको कार्यक्रम रुकुममा गर्न आवश्यक रहेको बताउनुभयो । तर समस्या थियो बजेटको । बजेट व्यवस्थापनको लागि राजेश्वर सरले मुसीकोटका मेयरसाबसँग प्रत्यक्ष भेटेर कुराकानी गर्न चाहनुभयो । यसको लागि जाजरकोटबाटै आइपुग्नुभएको थियो मेयरसाबकै पूर्व परिचित खम्बजङ्ग शाह । मेयरसाब चुनावी प्रचारमा सानीभेरीतिर लागेकोले त्यस दिन प्रत्यक्ष भेटघाट नभए पनि उहाँहरूबीच फोनबाट कुराकानी भयो र सकारात्मक कुरा आइरहेको मलाई बताउनुभयो ।
केही हप्तापछि नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको तर्फबाट रु ६ लाख २५ हजारको बजेट तथा कार्यक्रम प्रस्ताव आयो र मुसीकोट नगरपालिकामा पेश गरियो ।
यसको लागि नगरप्रमुखसँग प्रत्यक्ष भेटेरै कुरा राख्नु उपयुक्त हुन्थ्यो । तर कहिले उहाँको कार्य व्यस्तता त कहिले आफ्नै कार्य व्यस्तताको कारण नगरप्रमुखसँग भेट हुन सकिरहेको थिएन । निजी सहायक सूर्यजीसँग भेटको समय मिलाइदिन पनि भनिरहेको थिएँ र उहाँसँग मेयरसाबको धारणा पनि बुझिरहेको थिएँ । उहाँले सकारात्मक रूपमा लिएको बताउनुभयो । मैले यही कुरा राजेश्वर सरलाई बताएपछि उहाँहरूले सोलुखुम्बु हुने भनी तय गरिएको सिर्जना उत्सवको कार्यक्रम सारेर रुकुममा २०८१ चैत्र २२ र २३ गते कार्यक्रम गर्ने निर्णय गर्नुभयो ।
नेपाली कलासाहित्य डटकमबाट २२ जना प्रतिष्ठित साहित्यकारहरूको टोली रुकुम आइपुग्ने कुरा पक्कापक्की भयो । तर यता भने त्यो ठुलो सङ्ख्याको पाहुनाको व्यवस्थापन चुनौतीपूर्ण हुने भन्दै कार्यक्रम तत्काल रोक्नुपर्ने सुझाव आउन थाल्यो । पालिकाहरूबाट बजेट उपलब्ध गराउन नदिनेको चलखेल पनि चल्यो ।
स्थानीय साहित्यप्रेमी भरतकुमार शर्माका साथै राप्ती साहित्य परिषद् रुकुम शाखाका अध्यक्ष मनलाल ओली, उपाध्यक्ष एक्कबहादुर केसी, सचिव ओम केसीलगायतका पदाधिकारीहरू, हरिप्रसाद खनाल, मुकुन्दप्रसाद शर्मा र मेगराज खडकालगायतका रुकुम शाखाका सल्लाहकारहरूका अतिरिक्त साहित्यकार खगेश्वर भण्डारी, सत्यनारायण श्रेष्ठ, खेमराज खडका, महेश केसीको उपस्थितिमा विभिन्न चरणका बैठकहरू भएर कसरी कार्यक्रम सञ्चालन गर्ने भन्ने सम्बन्धमा छलफलहरू भए । मेरै संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समितिको गठन भयो । कामहरूको बाँडफाँड भएमुताबिक तीब्र रुपमा तयारी अगाडि बढाइयो । कार्यविभाजनअनुसारको कामहरू प्रत्येक साथीहरूले कुशलतापूर्वक र इमान्दारितापूर्वक फत्ते गर्न होमिनुभयो ।
सिर्फ एउटा मानिसभित्रै कुनै काम गर्ने कि नगर्ने भनी निर्णयमा पुग्न लामो समय आन्तरिक द्वन्द्व चलेको हुन्छ । तर यहाँ त एकजनाको सट्टा २२ जना आगन्तुकको कुरा थियो । त्यति नै सङ्ख्याका प्रत्यक्ष स्वागतार्थीको कुरा थियो । यस कार्यक्रमसँग अप्रत्यक्ष सरोकार राख्नेहरू त कति थिए कति । यी सबैको सतहमा देखिएको द्वन्द्व र सतहमुनिको द्वन्द्वको आयतन कति विशाल हुँदो हो, कति भयावह हुँदो हो ! विविध थरी द्वन्द्वलाई व्यवस्थापन र समन गर्नको लागि गरिएको प्रयत्नको लेखाजोखा यस निबन्धमा अटाउन मुस्किल छ ।
प्रस्ताव पेश भएको एक महिनापछि मुसीकोट नगरप्रमुख महेन्द्र केसीजीसँग भेट भयो । उहाँले रु १ लाख ५० हजार मात्र सहयोग गर्न सकिने बताउनुभयो । उहाँको कुराले मलाई रुनु न हाँस्नु तुल्यायो । दुक्खको कुरा के थियो भने त्यति बजेटले पक्कापक्की भैसकेको सिर्जना उत्सव कार्यक्रम हुन किमार्थ सम्भव थिएन । खुसीको कुरा के थियो भने नगरसभाले साहित्यिक कार्यक्रमको लागि यस आर्थिक वर्षमा कुनै बजेट नछुट्याएको अवस्थामा त्यतिसम्म पनि सहयोग गर्न वचन दिनु स्वागतयोग्य कुरा थियो ।
हाम्रो आशा के थियो भने प्रथम वचनमै १ लाख ५० हजारको सहयोग गर्न सक्छु भनेर नगरप्रमुखजीले आश्वासन दिइसकेको हुँदा उहाँलाई राम्रोसँग कुरा बुझाउँदै गएमा बजेट अवश्य बढ्ने छ । तर यो त आशा मात्र थियो, पक्का थिएन । त्रिवेणी गाउँपालिकालाई पनि प्रस्ताव गर्ने कुरा भयो । त्रिवेणीले सानातिना साहित्यिक कार्यक्रमहरूमा यसअघि पटकपटक सहयोग गर्दै आएको थियो । आफ्नो कुनै आन्तरिक स्रोत नभएको र प्रदेश तथा केन्द्रबाट आउने बजेट कार्यक्रम तोकेरै आउनेहुँदा माग्नेबित्तिकै दिने छेलोखेलो बजेट स्थानीय सरकारसँग हुने कुरै थिएन । धेरैचोटिको प्रयासपछि त्रिवेणीले पनि मुसीकोटको जति सहयोग गर्ने आश्वासन दियो । मुसीकोटको बजेट बढाउने प्रयास केही गरी सफल भएन । मुसीकोट नगरप्रमुखले सुरुमा बोलेको बजेटमा एक रुपैयाँ पनि बढेन र आखिर साहित्यकारद्वय ओमबहादुर खत्री र मुकुन्दप्रसाद शर्माको पहलमा मुसीकोटसँग १ लाख ५० हजार रुपैयाँको मात्र सम्झौता हुन सक्यो । त्यसै गरी साहित्यकारद्वय मनलाल ओली र दिलिप देवकोटाको पहलमा त्रिवेणीसँग १ लाख ७५ हजारको कार्यक्रम सम्झौता गरियो ।
नेपाली कलासाहित्य डटकम प्रतिष्ठानको सुरु प्रस्तावमा रुकुममा कविता गोष्ठी आयोजना गर्ने कार्यक्रम भए तापनि कविता प्रतियोगिता गराएर बिजेताहरूलाई पुरस्कार दिने कुरा परेको थिएन । कविता प्रतियोगिताको लागि सुरुमा प्रथम पुरस्कार रु ५००० मात्र राखिएकोमा त्यसलाई बढाएर पहिलो स्थान ल्याउनेलाई रु २५००० दोस्रोलाई १५००० तृतीयलाई १०००० सान्त्वना २ जनालाई ५/५००० रुपैयाँको पुरस्कार राशि पुर्याइयो । कविता प्रतियोगिताको अलावा त्यति नै पुरस्कार राशिको ठाडीभाका प्रतियोगिता पनि आयोजना गर्ने निर्णयमा पुगियो । पुरस्कार राशि बढाउनुको खास कारण सिर्जना उत्सवमा प्रतियोगीको सङ्ख्या बढाउनु र प्रतिष्पर्धीको गुणस्तर बढाउनु थियो । जसले गर्दा सुरु प्रस्तावित बजेटमा सबै पुरस्कारसमेत गरेर १ लाख २० हजार रुपैयाँको बजेट थपियो । प्रस्तावभित्र नपरेका विभिन्न साँस्कृतिक झाँकीहरू, फोटोग्राफी, राप्ती साहित्य परिषद् केन्द्रका पदाधिकारीहरूलगायत छिमेकी जिल्लाका साहित्यकारहरूको होटेलबासको खर्च, सम्मान तथा प्रमाणपत्रहरू तयारी र प्रचारप्रसारको बजेट पनि त्यसरी नै बढेर कार्यक्रम खर्चको लागत अनुमान ८ लाख नाघ्ने देखियो ।
साहित्यिक कार्यक्रमहरूमा सहयोग गर्न स्थानीय सरकार नै उदासीन देखिएको अवस्थामा ८ लाख जुटाउनु ख्यालख्यालको कुरा थिएन । अतः पुरस्कारको लागि प्रायोजकहरू खोजियो । विजयश्वरी र मुनलाइट बोर्डिङ स्कुलहरूले प्रथम पुरस्कारको प्रायोजन गरिदिए । साहित्यकार भूपेन्द्रा मल्ल र रुकुमेली क्याम्पसबाट द्वितीय पुरस्कारको प्रायोजन गर्ने प्रतिबद्धता प्राप्त भयो । तृतीय पुरस्कारको प्रायोजन त्रिजमावि खलङ्गा र सगरमाथा आरोही बमकाजीले गर्ने भए । यसरी नै सान्त्वना पुरस्कारका प्रायोजकहरू पनि खोजियो ।
व्यक्तिगत रूपमा सहयोग गर्न रेडियो पत्रपत्रिका पत्राचार तथा प्रत्यक्ष भेटेजतिलाई आह्वान गरियो तथापि निकटतम् विश्वासपात्रहरूले मात्र सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो । केही महानुभावहरूबाट प्रतिवद्धता गरेको रकम पनि आएन ।
प्रायोजकहरू र व्यक्तिगत सहयोगदाताहरू उत्साहप्रदरूपमा जुटाएपछि अब थप एउटा पालिकाले मात्र सहयोग गरे पनि बजेट व्यवस्थापन हुनसक्ने सम्भावना देखियो । कार्यक्रम भव्य रूपमा सञ्चालन गर्ने हौसला अझै बढ्यो ।
रुकुम पश्चिमका बाँकी ४ वटै पालिकाहरूसँग पनि सहयोग माग्ने भन्ने सुझाव त बारम्बार आइरहेको थियो तर सोको लागि प्रस्ताव तयार गरेर पालिकाहरूमा माग गर्न जाने जनशक्ति र समय पर्याप्त थिएन । मुसीकोट र त्रिवेणीलाई मनाउन त २ महिनाभन्दा बढी लागिसकेको थियो भने बाँकी पालिकाहरूलाई माग्नेबित्तिकै बजेट पाइन्छ भन्ने कुराको कुनै सुनिश्चितता थिएन । तथापि भरतकुमार शर्मा सरमार्फत् बाँफीकोट गाउँपालिकाका अध्यक्षलाई फोन मार्फत् कार्यक्रमबारे अवगत गराइयो । अध्यज्यूले यस प्रस्तावमा आफू सकारात्मक रहेको तर आफूले मात्र निर्णय गर्न नसक्ने बताएपछि साहित्यकार शशिराम घर्ती र म धुले सडकको धुलो खाँदै चैत्र १२ गते बिहानै बाँफीकोट पुग्यौँ । अध्यक्षजीसँग भेट भएन । उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत अनुगमनमा खटिएकोले उहाँहरूलाई पर्खिएर दिनभर बाँफीकोटमै बस्यौँ । उहाँहरू आइपुगेपछि प्रशासकीय अधिकृत दुर्गा सर र उपाध्यक्षज्यूसँग बेग्ला बेग्लै चरणमा कुराकानी भएपछि दुबैजनाबाट सकारात्मक जवाफ प्राप्त भयो । हामीले लगेको प्रस्ताव कार्यपालिकाको बैठकमा राखेर पारित गराउने आश्वासन उहाँहरूले दिनुभयो ।
तर सो प्रस्ताव कार्यपालिकाको बैठकमा पेश नै भएनछ । कारण बुझ्दा छुटेको भन्ने जवाफ प्राप्त भयो । कार्यपालिकाबाट पारित नभए पनि सिर्जना उत्सवको लागि सहयोग गर्न सकिने आश्वासन जिम्मेवार दाधिकारीहरूले दिन छोड्नुभएन ।
तर कार्यक्रम सन्निकट आइपुग्दा समेत पेश भएको प्रस्तावको बारेमा कुनै चासो व्यक्त नभएपछि बाँफीकोट गाउँपालिकासँग बजेट मागको लागि थप प्रयत्न गर्ने औचित्य टरेर गयो ।
रुकुम आउने जुनसुकै नयाँ पाहुनाहरू स्यार्पु पुग्न चाहन्छन् । पाहुनाहरूले रुकुम आइपुगेपछि यहाँका हेर्नलायक स्थलहरू के के हुन् भनेर सोधेमा स्यार्पुको लागि पहिलो औँला भाँचिन्छ । कलम चल्ने लेखकहरू पुगेमा उनीहरूले स्यार्पुको समग्र पक्षको वर्णन निशुल्क रूपमा आफ्नो क्षेत्रमा गरिदिन्छन् । जहाँ नपहुँचे रवि वहा पहुँचे कवि भन्ने हिन्दी उखान साहित्यिक क्षेत्रमा सर्वाधिक प्रयोग हुन्छ । फरक फरक कविले देखेको स्यार्पुको रुप, रङ र वर्णन फरक फरक हुनसक्छ । कविको हरेक हेराइ नितान्त नयाँ हुन्छ । पाहुनाको लागि गरिएको खर्चभन्दा यसको प्रचारप्रसारको मूल्य बढी हुन्छ । फेवाताल ख्यालख्यालमै फेवा बनेको होइन । नैनी ताल प्रचारप्रसार नभएरै विश्वकै पर्यटकीय गन्तव्य बनेको होइन । त्यसमा यस्तै साहित्यिक प्रचारकहरूको ठूलो भूमिका रहेको हुन्छ ।
पालिकाले बर्सेनि पर्यटन महोत्सवको नाउमा ठुलो लगानी गर्दछ तर महोत्सवबाहेक अघिपछि पुग्ने पाहुनाहरू पालिकाका लागि कुनै महत्त्वका हुँदैनन् ।
स्यार्पुमा औपचारिक कार्यक्रम सञ्चालनको लागि उपलब्ध गराउन सकिने समय सीमित थियो । बाँफीकोटबाट उपलब्ध गराइने बजेटबाट सिर्फ यातायात खर्च र खाजा खर्च बेहोरिदिनको लागि मात्र बजेट प्रस्ताव गरिएको थियो । आगन्तुक साहित्यकारहरूको टोलीले करिब २ घण्टा स्यार्पुमा बिताउने र सो समयमा स्थानीय सरकारका पदाधिकारीहरू, स्थानीय साहित्यकारहरू र समाजसेवीहरूसँग भेटघाट, परिचय आदानप्रदान र स्यार्पु पर्यटनको सम्भाव्यतासम्बन्धी सङ्क्षिप्त विचारविमर्श गरिने कार्यक्रम थियो । सम्भवतः पालिकाका पदाधिकारीहरूले कलासाहित्य डटकमको यस प्रस्तावलाई महत्त्वहीन ठानेको हुनुपर्छ ।
सिर्जना उत्सवको प्रस्तावको मूल उद्देश्य नै कलासाहित्य तथा संस्कृतिको पहिचानको साथै प्रकृतिमैत्री आन्तरिक पर्यटनको विकास गर्ने भएकोले यस उत्सवले सो लक्ष्य प्राप्तिको निम्ति त्रिवेणीको जिला धुरी र बाँफीकोटको स्यार्पु छानेको थियो ।
स्यार्पुमा हुने कार्यक्रमको छुट्टै बजेटको व्यवस्था नहुँदा नहुँदै पनि चैत्र २२ गतेको कार्यक्रम त्रिवेणीको सिम्रुतुमा सफलतासाथ सम्पन्न गरेपश्चात् चैत्र २३ गते बिहानै केन्द्रीय साहित्यकारहरू र स्थानीय साहित्यकारहरू सम्मिलित टोली स्यार्पुतिर रवाना भयो । यात्रा प्रारम्भ गर्दा स्थानीय साहित्यप्रेमी गोपाल केसीलाई स्यार्पुमा सहजीकरण गरिदिन अनुरोध गरिसकिएको थियो र साथमा अर्का स्थानीय साहित्यकार कमप्रसाद देवकोटालाई बाँफीकोटको भौगोलिक तथा सामाजिक परिचयमा सहजीकरण गरिदिनको लागि सहयात्री तुल्याइएको थियो ।
माछ्मी झरेपछि पक्कीबाटोले हाम्रो साथ छोडेर पश्चिमतिर लाग्यो । हामी लाग्यौँ कच्चीबाटो समातेर सानीभेरीको किनारैकिनार उत्तरतिर । उखडखाबड भएको बाटोले बिहानै भोक ब्युँताइदियो । हत्तपत्त स्यार्पुस्थित गोपाल केसीसँग समन्वय गरी एक होटेललाई खाजा बनाइदिन अनुरोध गरियो । सडक निर्माणाधीन भएकोले सानै खाल्डाखुल्डीमा पनि हामी चढेको सानो गाडीको टायरले बारम्बार भुइँ छोइरहेको थियो । काठमाडौँबाटै कार चल्ने पक्की बाटोमा मात्र चलाउने शर्तमा नेपाली कलासाहित्य डटकमका २० जना साहित्यकारहरूको टोली बोकेर टुह्विलर मिनि टुरिस्ट बस रुकुम आइपुगेको थियो, जसका टायरहरू कारका झैँ साना थिए । हलुको गाडीमा यात्रीको खाँदाखाँद हुँदा सानो गाडी बिनातालसँग उफ्रिने र थेचारिने गरिरहेको थियो । यसले नवआगन्तुक यात्रीहरू मात्र नभई चालक पनि तर्सिरहेका थिए । डरको मारवश् यात्रुहरू असिनपसिन र हायलकायल भइरहेका थिए ।
यसैबीच अघिल्लो दिन २२ गते त्रिवेणीमा भएको कार्यक्रमको सम्बन्धमा मुसीकोट खलङ्गामा बसिरहेको समीक्षा बैठकमा अघिल्लो दिनको कार्यक्रममा सहआयोजकलाई नै पूर्णरूपमा उपेक्षा गरिएको महसुस हुँदा आजको कार्यक्रम सहआयोजकलाई चलाउन दिनुपर्ने नत्र आजको सिर्जना उत्सव कार्यक्रममा असहयोग गर्ने छलफल हुँदै गरेको अप्रत्याशित जानकारीले मलाई थप व्याकुल तुल्यायो ।
यता अगाडिको बाटोको बारेम कमप्रसाद देवकोटा र मबाहेक अरूलाई फिटिक्कै जानकारी थिएन । हामीहरूले अलिकति अगाडिबाट बाटो सजिलो आउँदै छ भन्दै थियौँ तर बाटो झन् झन् दुरुह अवस्थाको भेटिँदै थियो । गाराघाट पुलमा पुग्नेबित्तिकै हामीलाई छिङखेतमा पर्खिरहनुभएका रुकुमेली साहित्यकार नदीराम केसीको फोन आयोः "स्यार्पुको बाटोमा मर्मतको कार्य भइरहेकोले आजलाई बाटो बन्द छ ।"
यति खबर पाएपछि अगाडिको अनिश्चित बाटो सम्झेर डराइरहेका यात्रीहरू र चालकलाई निहुँ पुगिहाल्यो । यात्रीहरूको जाऊँ कि नजाऊँ भन्ने आन्तरिक द्वन्द्व उत्कर्षमा पुग्यो । शर्तविपरीत अफरोडमा गाडी चलाउनुपर्ने चालकको द्वन्द्व र जसरी पनि साहित्यकारहरूलाई स्यार्पु पुर्याउने स्वागतार्थीहरूको बिचको त्रिपक्षीय द्वन्द्व छताछुल्ल हुने नै भयो ।
साहित्यिक यात्रुहरूको गुनगुन टड्कारो हुँदै गयोः "झन् पर पुग्दा, झन सजिलो बाटोको आशा नगरौँ । भयो, अब अगाडि नबढौँ । स्यार्पुको सट्टा फर्किँदा फेवाताल र बेगनास ताल नै हेरौँला ।"
"स्यार्पुभन्दा ठूलो त यही सानीभेरी नदी छ । यसैलाई हेरेर चित्त बुझाऊँ ।"
"स्यार्पुतिर लाग्दा सेरीगाउँको महत्त्वपूर्ण कार्यक्रम छुट्न सक्छ । भो नजाऊँ । फर्कौँ, फर्कौँ !"
हाम्रो गन्तव्यमा छिचोल्नै नसकिने डरको ठूलो पर्खाल अग्लियो । स्यार्पु पुग्ने अन्य विकल्पहरू खोजी गर्दागर्दै आधा बाटोबाट हाम्रो यात्रुबस फरक्क फर्कियो । यसरी स्यार्पुको रोमाञ्चक यात्रा बिचबाटोमै तुहियो । सिर्जना उत्सवको एउटा महत्त्वपूर्ण लक्ष्य यसरी असफल हुनपुग्यो ।
खाजा अर्डर गरेको करिब १० मिनेट मात्र भएको थियो खाजाको अर्डर क्यान्सेल गर्नुपर्ने अवस्था सिर्जना भयो । परिस्थितिवश् फर्कनुपरेको कुरा अनुरोध गर्दा होटेलवालाको धम्कीमिश्रित जवाफ आयोः "खाजा तयार भइसकेको छ । खाजाको पैसा कसले तिर्छ ?"
म ती होटेलवालाकहाँ खाजा खान यसअघि दशौँचोटि पुगिसकेको छु दुईतीन जनाको समूहदेखि १२/१५ जनाको समूह लिएर । उक्त होटेलमा खाजाको लागि आधा घण्टाभन्दा बढी कुर्नुपरेको अनुभूति छँदै छ, त्यसैमा एकजना नियमित ग्राहकसँग परिस्थितिको फाइदा उठाई तत्कालीन लोभको लागि बार्गेनिङ गर्दा घाटा कसलाई हुन्छ ? अर्को आन्तरिक द्वन्द्व उठेर मन उथलपुथल हुन पुग्यो ।
यसमा न त चालकको दोष थियो, न त यात्रीको । न सूचना दिनेको दोष थियो, न सूचना पाउनेको । मूल दोष भनेको तत्कालीन परिस्थितिको थियो र बजेट व्यवस्थापनको थियो । यदि स्यार्पु यात्राको लागि थप बजेटको व्यवस्था भइदिएको भए फोरह्विलर गाडीहरू भाडामा लिएर पाहुनाहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्दै सजिलै र समयमै स्यार्पु पुर्याउन कुनै समस्या थिएन ।
स्यार्पु पुगेका साहित्यिक पर्यटकहरू स्यार्पुको विशालता र अवस्थिति देखेर छक्क पर्थे । मोहित हुन्थे । यसअघिका दृश्यहरू मिटाएर स्यार्पुकै सुन्दरताले स्याहित्यकारहरूको मन मस्तिष्क भरिन्थ्यो । स्यार्पुकै विषयमा कविता रचिन्थे, संस्मरण लेखिन्थे, कथा वाचिन्थे, निबन्ध रचिन्थे । सिर्जना उत्सवको प्रमुख उद्देश्य रहेको आन्तरिक पर्यटनको विकासलाई महत्त्व दिँदै राष्ट्रिय छापाहरूमा स्यार्पुको प्रचारप्ररसार गर्न पाहुना साहित्यकारहरूलाई करै लाग्थ्यो । र, सिर्जना उत्सव सकिएपनि धेरै पछिसम्म स्यार्पुले राष्ट्रिय समाचारमा स्थान लिइरहन्थ्यो ।
तर यो कुरा पढिदिने कसले ? बुझिदिने कसले ? समर्थन गर्ने कसले ? सहयोगका हात बढाउने कसले ?
हामीलाई त प्रत्यक्ष देखिने मात्र काम गरेर आगामी चुनावको जित सुनिश्चित गर्नु छ । सङ्घर्ष नगरेरै सुख पाउनु छ । सिन्को नभाँचेरै ख्याति कमाउनु छ । प्रचारप्रसारको टन्टा नबेसाएरै दस्ताबेजमा मात्र गुलिया योजनाहरू थुपारेर पर्यटकलाई स्यार्पुमा थुपार्नु छ ।
अनि दाउरे र चाउरेले कल्पना गरेको सुखमध्ये चाउरेकै सुख सही हो भन्ने निश्कर्षमा पुग्नु परेन त ?