
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले लागुऔषध अफिम र चरेस सहित २ जनालाई पक्राउ गरेको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ बाट दुई जनालाई २ केजी अफिम, १ टुक्रा चरेस र नगद ७८ हजार ३ सय ५ रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ पर्नेमा सानीभेरी ३ का ७२ वर्षीय अनन्ते पुन र कैलाली पण्डौन गाउँपालिका २ का अन्दाजी ३५–३६ वर्षीय कमल थापा रहेको प्रहरी निरीक्षक पाठकले बताउनुभयो । बिहीबार प्रहरी चेकिङ छलेर भागेका दुई जनालाई प्रहरीले खोजतलास गरेर फेला पारेको उहाँले बताउनुभयो । केही व्यक्तिले मोटरसाइकलमा लागु औषध अफिम लैजाँदै गरेको भन्ने गोप्य सूचना पछि प्रहरी चौकी सिम्लीबाट प्रहरी सहायक निरीक्षक ताराबहादुर डाँगीको कमान्डमा २ जनाको प्रहरी टोली खटिएको थियो ।
उक्त टोलीले सानीभेरी गाउँपालिका ३ भलाचौरस्थित झिङचौर तिमिले सडक खण्डमा उक्त मोटरसाइकल रोकी चेकजाँच गर्दा दुवै जना भागेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले उनीहरूको पिछा गरेको थियो । भाग्ने क्रममा कमल थापा भिरबाट लडेर घाइते भएको प्रहरी निरीक्षक पाठकले जानकारी गराउनुभयो । उनको बायाँ कुममा चोट लागेको बताइएको छ ।