Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुमकोटमा आयोजित ब्याडमिन्टनमा दाङका हिमांशु र सुविनको जोडी प्रथम 

रुकुम पूर्वको रुकुमकोटमा आयोजित ब्याडमिन्टनमा पुरुष तर्फ दाङका हिमांशु कँवर र सुविन श्रेष्ठको जोडी प्रथम भएको छ । जिल्ला ब्याडमिन्टन सङ्घ रुकुम पूर्वको आयोजना भएको अल नेपाल खुला पुरुष डबल्स ब्याडमिन्टनको आज भएको फाइनलमा रुकुम पश्चिमको ईश्वर रावल र केहलविक्रम जिसीको जोडीलाई पराजित गर्दै हिमांशु र सुविनको जोडी प्रथम भएको हो । 

उक्त जोडीले नगद ३३ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको ईश्वर र केहलको जोडीले २२ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै रोल्पाको गोविन्द पुन र रोहित ओली तथा रुकुम पूर्वको कमल ओली र गणेश पुनको जोडी सान्त्वना भएको आयोजक समितिका कृष्णभक्त ओलीले जानकारी दिनुभयो । सान्त्वना दुवै जोडीले समान ११ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । पुरूषतर्फ ४० टिम सहभागी थिए ।

ओलीका अनुसार पुरुष तर्फ हिमांशु कँवर उत्कृष्ट खेलाडी बनेका छन् । महिला तर्फ थवाङको जिविका रोका मगर र बिपना घर्तीको जोडी प्रथम बनेको छ । उक्त जोडीले फाइनलमा रुकुम पश्चिमको डम्बरा खड्का र डिला परियारको जोडीलाई पराजित गरेको हो । प्रथम जिविका र विपनाको जोडीले १० हजार नगद पुरस्कार पाउँदा दोस्रो बनेको डम्बरा र डिलाको जोडीले ७ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ । 

महिला तर्फ रुकुमकोटको मुना केसी र रामकुमार खड्का तथा थवाङको नियुक्ति रोका र प्रतीक्षा शर्माको जोडी सान्त्वना भएको छ । उक्त जोडीले समान ३ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् । महिला तर्फ बिपना घर्ती उत्कृष्ट खेलाडी बन्नुभयो । महिला तथा पुरुष तर्फका उत्कृष्ट खेलाडीले ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला ब्याडमिन्टन सङ्घ रुकुम पूर्वले जनाएको छ ।  महिला तर्फ ६ टिम सहभागी थिए ।

प्रतियोगिता सिस्ने गाउँपालिका ६ छिप्रिदह रुकुमकोटमा अवस्थित अमर ब्याडमिन्टन कबर्ड हल तथा ट्रेनिङ सेन्टरमा भएको हाे । 

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update