रुकुम पूर्वमा होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको निगरानि नहुँदा कोरोना संक्रमण बढेको निष्कर्ष निकालिएको छ । कोरोना संक्रमण भएका तर लक्षण नदेखिएका र सामान्य अवस्थामा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न भन्दै घर पठाएपछि उनिहरुबाट झनै समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको निष्कर्ष जिल्ला प्रशासन कार्यालयले निकालेको छ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमितसँगको कुराकानी पछि सो निष्कर्ष निकालिएको हो ।
अहिले कोेरोनाको लक्षण देखिएर अलि गम्भिर अवस्थाका बिरामीलाई मात्र अस्पताल वा स्थानीय तहको आइसोलेसनमा राख्ने गरिएको छ । समान्य अवस्थामा बिरामीहरु घरमा जाने र पूर्ण रुपले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पाइएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । ‘होम आइसोलेसनमा बस्नेहरुको लागि शहरमा जस्तो छैन्, यहाँका घर, संरचनाहरु आइसोलेसनको रुपमा प्रयोग गर्न मिल्ने खालका छैनन्, गाउँमा मान्छेहरु सबै सजिलै घुलमिल हुने अवस्था छ, त्यसकारण संक्रमण थप फैलिएको पाईयो उहाँले भन्नुभयो ।’
घरमा बिरामीलाई छुट्टै राखेपनि प्रयोग गर्ने शौचालय एउटै हुन्छ । परिवारमा साना बच्चा हुनेहरु बच्चासँग पनि सँगै बसेको र तीनै बच्चाहरु बाहिर घुलमिल हुदा त्यहाँबाट पनि कोरोना संक्रमण फैलिएको पाइएको प्रजिअ राईको भनाई छ । उहाँका अनुसार संक्रमित आफैले पनि लक्षण देखिएको छैन्, बाहिर घुमेपनि कसैलाई केहि हुदैन भन्ने खालको धारणा बनाउने गरेका पाईएको छ । कोरोना संक्रमितलाई मनोविमर्श गर्ने र होम आइसोलेसनमा बसेकाहरुको गाउँपालिका र वडापालिकाले निगरानी गर्नुपर्नेमा प्रजिअ राईले जोड दिनुभयो ।
प्रजिअ राईले अहिले होम आइसोलेसनमा बसिरहेका सबै कोरोना संक्रमितलाई फोनबाट परामर्श गरिरहनुभएको छ । बिरामीको मनोबल उच्च बनाउनको लागि उनिहरुलाई फोनबाटै परामर्श दिने गरेको उहाँको भनाई छ । प्रजिअ राईका अनुसार होम आइसोलेसनमा बसेका बिरामीहरुमा अहिले गम्भिर प्रकारको समस्या छैन् । तर कतिपय बिरामीहरुले भने अस्पतालले दिएका औषधीहरु पनि नखाएको पाइएको छ । उनिहरुलाई औषधी खानका साथै मनोबल बढाउने खालका सल्लाह सुझावहरु दिने गरेको प्रमुख जिल्ला अधिकारी राई बताउनुहुन्छ ।