
किसनबहादुर उमेरले ६० वर्ष पुग्नुभयो । तर उहाँको जोस जाँगरमा भने कुनै कमी आएको छैन । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १० तकसेराका किसनबहादुर बुढा आफ्नो गृह जिल्ला छोडेर भेडा लिएर छिमेकी जिल्ला रुकुम पश्चिम पुग्नुभएको छ । उहाँ मात्र होइन उहाँलाई साथ दिन उहाँकी श्रीमती पनि बुढासँगै भेडा चराउन रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको घना जङ्गल ठुली दहमा पुग्नुभएको छ ।
भेडा चराउने, भेडाको उनबाट कम्बल बनाउने बूढाबूढीको दैनिकी बनेको छ । करिब ३ सय भेडा लिएर गत मंसिरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ ठुली दहमा पुगेको बुढाले सुनाउनुभयो । ‘‘हामीसँग करिब ३ सय हाराहारीमा भेडा च्याङ्ग्रा छन्, जाडो याम सुरु भएदेखि (मंसिरमा) हामी तकसेराबाट भेडालाई आहारा खुवाउन यहाँ आएका हौँ, अब गर्मी बढ्दै गएको छ, घर फर्किन्छौँ’’ बुढाले भन्नुभयो ।
माउ तथा पाठा पाठी गरेर ३ सय भेडा च्याङ्ग्रा आफूसँग रहेको बुढाले सुनाउनुभयो । मंसिरमा जाडो छल्न बेसीतिर झरेका भेडी गोठालोहरू करिब ४ महिना भेडासँगै जङ्गलमा त्रिपालको टेन्ट हालेर बस्छन् । ‘‘हाम्रो पेसा नै यस्तै हो जाडोको समयमा करिब ३/४ महिना भेडासँगै जङ्गलमै टेन्ट हालेर बस्छौँ, खानेकुरा बोकेर घरबाटै ल्याएका हुन्छौँ त्यस्तो समस्या हुँदैन, हामीलाई यसैमा खुसी मिल्छ’’ बुढाले भन्नुभयो ।
‘भेडा पालन व्यवसाय गरेको ४० वर्षभन्दा धेरै नै भइसक्यो, म त यही पेसामा खुसी छु, बुढाले थप्नुभयो–पछिल्लो पुस्ताले हामीले गरेको जस्तो दुःख गर्न मान्दैनन् । भेडा पालन व्यवसाय पछिल्लो समय लोप हुँदै गएको छ, केही वर्षपछि त हाम्रो व्यवसाय हराउँछ की भनेर चिन्ता लाग्न थालेको छ ।’ बुढाका १ छोरी र दुई छोरा छन् । छोरीको गाउँमै बिहे भएको र छोरा पढाइको सिलसिलामा काठमाडौँमा रहेको उहाँको भनाई छ ।
‘छोरा छोरीले त अब दुःख गर्ने होइन बाबा आमा भन्छन् तर हाम्रो मनले मान्दैन, हामी त यही पेसामा बाचिरहेका छौँ’ बुढाले भन्नुभयो । पाठा पाठी बिक्रीबाटै हरेक वर्ष ६/७ लाख रुपैयाँ आम्दानी गर्ने गरेको उहाँले सुनाउनुभयो । भेडा च्याङ्ग्रा १४ देखि १५ हजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । बुढाको परिवारले भेडा पालन मात्र गर्दैन भेडाको ऊनबाट विभिन्न सामग्री तयार बनाएर छुट्टै कमाई समेत गर्छ । ऊनबाट निर्मित कम्बल ३५ सय देखि ४ हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।
सोही गाउँका ३० वर्षका दीपेश घर्ती पनि सोही जङ्गलमा एक सय भन्दा बढी भेडा च्याङ्ग्रा सहित भेटिनुभयो । उमेरले तीस वर्ष पुगेका दीपेश १५ वर्षको उमेरबाटै भेडा पालन व्यवसायमा हुनुहुन्छ । ‘‘धेरै पढेको छैन बाबा आमाले गरेको पेसालाई अङ्गालियो, भेडासँगै डाँडाकाँडा घुम्नुपर्छ सोचेको जस्तो छैन जङ्गलमा भेडा हरायो भने धेरै घाटा हुन्छ’ उहाँले सुनाउनुभयो ।
तकसेरामा व्यावसायिक भेडा पालन गर्ने किसानको संख्या ११ रहे पनि ठुली दहमा भने ३ घरपरिवारले मात्र भेडा चरणको लागि ल्याएका छन् । अन्य घरपरिवारले भने अन्यत्रको जङ्गलमा लगेका छन् । ठुली दह आसपासमा करिब ५ सय भन्दा बढी भेडा च्याङ्ग्राको बथान छ । प्रत्येक वर्ष रुकुम पूर्वका हिमाली क्षेत्रबाट चिसो छल्न भेडी गोठ यहाँ ल्याउने गरिएको छ । ‘दिनभर चरणको लागि छाड्छौँ, साँझ भयो भने बस्नको लागि टेन्ट निर्माण गरेको स्थान तिर पुर्याएर बास बस्छौँ जङ्गलको बसाई घरको जस्तो हुन्न जसोतसो बसेका छौ’ घर्तीले भन्नुहुन्छ । तीन घर परिवारका भेडा छुट्टाउन सजिलो होस भनेर छुट्टाछुट्टै रङ लगाइएको छ । मध्य पहाडी लोकमार्गको रुकुम साँख खण्डको करिब १ घण्टाको उकालो पैदल यात्रा चढेपछि भेडी गोठालोहरूलाई भेटाउन सकिन्छ ।
‘बाचुन्जेल यही पेसामा रमाउँछौ’
भेडा पालन व्यवसायमा रमाएका भेडी गोठालोहरू आफू बाचुन्जेल यही पेसालाई निरन्तरता दिने बताउँछन् । उमेरको ऊर्जाशील समय भेडा पालन व्यवसायै खर्चिएकाले अन्य पेसामा मन नजाने उनीहरू बताउँछन् । ‘हाम्रो बाउ बाजेले गरेको पेसा यही हो, यही पेसाबाट हाम्रो रोजीरोटी जसोतसो चलेकै छ, यो भन्दा अरू पेसामा मन जाँदैन जति बाचिन्छ यही पेसामा रमाउने हो’ भेडा पालक किसान किसनबहादुरले भन्नुभयो ।
परिवारको घर खर्च, छोराछोरीको पढाइ खर्च भेडा पालन व्यवसायबाटै टार्ने गरेको उहाँले सुनाउनुभयो । अर्का किसान दीपेश घर्तीले पनि भेडा पालन व्यवसायमा आफू खुसी रहेको अनुभव सुनाउनुभयो । ‘सोचे जति आर्थिक रूपमा सम्पन्न हुन नसेके पनि यो पेसामा म खुसी छु, यो बाहेक अन्य कुनै पेसा गर्छु भन्ने सोचेको छैन, उमेरले ३० पुगियो अहिलेसम्म म यही पेसामा रमाइरहेको छु, पछिका दिनहरूमा पनि यही पेसालाई निरन्तरता दिने योजना छ’ घर्ती भन्नुहुन्छ ।
घर्तीको परिवारमा पनि घर खर्च लगायत अन्य खर्च भेडा पालन व्यवसायबाट व्यवस्थापन हुने गरेको छ । म सँगैका साथीहरू राम्रो कमाई हुने देशमा गएर पैसा कमाएर ल्याइरहनुभएको छ, तर मैले अहिलेसम्म त्यस्तो सोच बनाएको छैन, जति हुन्छ आफ्नै देशमा बसेर काम गर्छु’ उहाँले भन्नुभयो ।
पछिल्लो पुस्तालाई छैन वास्ता
भेडा पालन व्यवसाय पछिल्लो पुस्तालाई कुनै वास्ता नरहेको बताउनुहुन्छ ६० वर्षीय किसन बुढा । ‘हामीले जसोतसो यो व्यवसाय जोगाएका छौँ, पछिल्लो पुस्ताले यो पेसा जोगाइदेलान् भन्ने कुनै आस छैन, उहाँ भन्नुहुन्छ–अव भन्दा पछि आउने पुस्तालाई त भेडा, बाख्रा पालन तथा कृषि पेसामा कुनै चासो छैन ।’ कृषि पेसा र किसानलाई जोगाई राख्न सरकारले समेत ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । दुःख गर्ने किसानलाई सरकारले पनि प्राथमिकता दिनुपर्ने उहाँको भनाई छ ।
‘मैले भेडा पालन गर्न लागेको करिब ३० वर्ष भइसक्यो, सरकारले अनुदान लगायत व्यवसायलाई प्रवर्द्धन गर्ने कुनै कार्यक्रमहरू ल्याएको थाहा पाएको छैन, दुःख गरेर व्यवसाय गर्ने किसानलाई सरकारले प्राथमिकतामा राखेमा पछिल्लो पुस्तालाई सिकाइको अवसर बन्थ्यो की’ उहाँले भन्नुभयो ।
भेडा पालन व्यवसाय प्रति कसैको चिन्ता र चासो नभएकोमा उहाँ दुःखी हुनुहुन्छ । पछिल्लो पुस्तालाई भेडा पालन व्यवसायमा आकर्षण गर्न किसानले भन्दा पनि स्थानीय सरकारले जोड दिनुपर्ने बताउँदै उहाँले भेडा पालन व्यवसाय हरायो भने राडी पाखी बुन्ने पेसा पनि लोभ हुने चिन्ता व्यक्त गर्नुभयो ।
युवालाई विदेश मोह
कृषि पेसामा भन्दा पनि युवाहरू विदेश पलायन हुने संख्या दिन प्रतिदिन बढेको पाइन्छ । नेपालमा केही नभएर होइन विदेशमा धेरै पैसा कमाउन सकिन्छ भने सोचाई पछिल्लो युवा पुस्तामा जबरजस्त छ । लाखौँ रकम तिरेर जोखिम मोलेरै भए पनि धरै पैसा कमाउने आसमा विदेश पलायन हुने युवाको संख्या दिनप्रतिदिन बढ्दै रहेको छ ।
‘गरे धेरै सम्भावना हाम्रै देशमा छ, युवाहरू आफ्नो देशमा दुख गर्न चाहँदैनन् बरु लाखौँ रकम लगानी गरेर विदेश जाने मोह बढेको छ’ ठुली दहमा भेटिएका भेडा पालक कृषकहरूले भने–हामीले रोकेर रोक्न सक्ने अवस्था छैन, आफ्नै देशमा केही गर्नुपर्छ भनेर भन्दा पनि मान्ने अवस्था छैन, युवाहरूमा पछिल्लो समय धेरै पैसा कमाउने आसमा विदेशको मोह बढेको छ, हाम्रै गाउँबाट धेरै युवाहरू विदेश गएका छन्, कृषि पेसा प्रति युवाहरूको चासो छैन’ उनीहरूले भने । यसतर्फ तीन वटै तहका सरकार र सरोकारवाला सबै गम्भीर हुनुपर्नेमा उनीहरूको जोड छ ।