
विपक्षी दलका सांसदहरूले शिक्षकहरूको आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विरोध गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनीहरूले शिक्षकहरूसँग सहमति गर्नुको साटो उनीहरूमाथि दमन गरिएको भन्दै विरोध जनाएका हुन् ।
नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै भर्त्सना गर्नुभयाे । संविधान निर्माणसंगै समयमा नै नयाँ ऐन बनाउन नसकेकाले शिक्षकहरू बाध्य भएर आन्दोलनमा आउनुपरेको उहाँले बताउनुभयाे । उहाँले ऐन जारी गर्नुपर्ने शिक्षकहरूको जायज मागलाई सम्बोधन नगरी दमनमा उत्रनु उचित नभएको जिकिर गर्नभयाे ।
त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठले शिक्षकहरूमाथि राज्यले गरेको दमनको विरोध गर्दै शिक्षकहरूको जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयाे । उहाँले बालबालिकाहरूको पढ्ने अधिकार हनन भइरहेको अवस्थामा सरकारले तत्काल निकास निकाल्नुपर्ने बताउनुभयाे ।
त्यस्तै राप्रपा सांसद रोशन कार्कीले शिक्षक आन्दोलनमा घुसपैठ गराएर सरकारले दमन गरेको आरोप लगाउानुभयाे । शिक्षा ऐन पारित गर्दै शिक्षकहरूलाई पठनपाठन गर्ने वातावरण बनाउन उनले माग गर्नुभयाे ।