Kakhara सबैको खबर सम्पूर्ण खबर
सहयोग अभियान चलाएर झण्डै १९ लाखका स्वास्थ्य सामग्री र उपकरण खरिद 
सहयोग संकलन गरेर खरिद गरिएका सामग्री जिल्ला ल्याउनका लागि गाडीमा लोड गरिदैं ।

रुकुम पश्चिममा सहयोग संकलन अभियान संचालन गरेर झण्डै १९ लाख रुपैंयाका स्वास्थ्य सामग्री र उपकरणहरु खरिद गरिएको छ । विभिन्न व्यक्तिहरुले अभियान चलाएको तीन दिनमै साढे १८ लाख रुपैंया संकलन भएको थियो । यो रकमबाट जिल्ला अस्पताल रुकुम पश्चिमका लागि विभिन्न १० प्रकारका स्वास्थ्य सामग्री र उपकरणहरु खरिद गरिएको छ । यस अभियानका एक जना अभियान्ता जनक खड्काका अनुसार अक्सिजन सिलिण्डर, जेनेरेटर, पेसेन्ट मनिटर, अक्सिमिटर, मास्क, सेनिटाईजर लगायतका सामग्रीहरु खरिद गरिएको छ । 

कुन कुन सामग्री किनियो ?
४० लिटरका १० वटा हाइ फ्लो अक्सिजन सिलिण्डर, ३ सय पिस एन्टीजेन किट, अस्पतालमा विद्युतको अभाव हुन नदिनका लागि २० किलोवाटको जेनेरेटर, बिरामीको रगतमा अक्सिजन लेबल, ब्लड प्रेसर, ज्वरो लगायत जाँचमा प्रयोग हुने ५ प्यारामिटरका ७ वटा पेसेन्ट मनिटर र आईसोलेसन वार्डमा रहेका बिरामीको अक्सिजन लेबल जाँच्न प्रयोग हुने ठूलो वायर र मोनिटर सहितका ३ वटा ह्याण्ड हेल्ड पल्स अक्सिमिटर किनिएको खड्काले बताउनुभयो । 

उहाँका अनुसार हाई फ्लो अक्सिजन दिनुपर्ने बिरामीहरुका लागि प्रयोग हुने नन व्रेथिङ फेस मास्क ५० पिस, सामान्य अक्सिजन दिनुपर्ने विरामीका लागि प्रयोग हुने १२ वटा नजल ट्युविङ, १ सय पिस पिपिई सेट, १ हजार पिस के.एन. नाइन्टी फाइभ मास्क र १ सय एम.एल.का २ सय पिस सेनिटाइजर पनि अभियानबाट संकलन भएको रकमले खरिद गरिएको छ । 

कुन सामग्री किन्न कति खर्च लाग्यो ?
अक्सिजन सिलिण्डर प्रतिपिस २२ हजार ५ सयका दरले २ लाख २५ हजार, एन्टीजेन किट प्रतिपिस ३ सय ९५ का दरले १ लाख १८ हजार ६ सय ५०, जनेरेटर ६ लाख ३२ हजार ८ सय, पेसेन्ट मनिटर प्रतिपिस ८४ हजार ७ सय ५० का दरले ५ लाख ९३ हजार २ सय ५० र अक्सिमिटर प्रतिपिस १२ हजार ४ सय ३० का दरले ३७ हजार २ सय ९० रुपैंयामा खरिद गरिएको अभियान टोलीले जानकारी दिएको छ । 

त्यस्तै फेस मास्कलाई प्रतिपिस २ सय ५३ का दरले १२ हजार ६ सय ५६, नजल ट्युविङलाई प्रतिपिस २ सय २३ का दरले २ हजार ६ सय ८४, पिपिइ सेटलाई प्रतिपिस १ हजार ३ सय ५६ का दरले १ लाख ३५ हजार ६ सय, के.एन. नाइन्टी फाइभ मास्कलाई प्रतिपिस ४५ का दरले ४५ हजार २ सय र सेनिटाईजरलाई प्रतिपिस ६२ का दरले १२ हजार ४ सय ३० रुपैंया खर्च भएको छ । सबै सामग्री तथा उपकरण खरिद गर्न १८ लाख १५ हजार ५ सय ६० रुपैंया खर्च भएको छ । यि सामान काठमाडौंबाट रुकुमसम्म ढुवानी गर्न ६३ हजार खर्च भएको छ । यसका साथै अक्सिजन सिलिण्डर भर्न ६ हजार ५ सय खर्च लागेको छ । 

सबै गरेर १८ लाख ८५ हजार ६० रुपैंया खर्च भएको यस अभियानका अर्का अभियान्ता अर्जुन भण्डारीले बताउनुभयो । ४८ हजार १० रुपैंया घाटा रहेको उहाँको भनाई छ । अभियान अन्तरगत कुल १८ लाख ३७ हजार ५० रुपैंया संकलन भएको थियो । अपुग रकम पनि केहि व्यक्तिहरुले व्यहोर्ने प्रतिवद्धता गरेको बताईएको छ । अभियान थालिएको छोटो समयमै ठुलो रकम संकलन हुनुले जिल्लावासीको जिल्लाप्रतिको माया दर्शिएको भण्डारीले बताउनुभयो । उहाँका अनुसार रुकुम पश्चिम घर भएका तथा जिल्लामा घर भइ देशका विभिन्न ठाउँ र विदेशमा रहेका व्यक्तिहरु सहित रुकुम पूर्वबाट पनि सहयोग संकलन भएको थियो । विशेषगरी निजामती कर्मचारीहरुले यो अभियान थालेका थिए । पछि यसअभियानमा अन्य कयौं व्यक्तिहरु जोडिएका थिए । कुल २ सय २३ जनाले सहयोग गरेका थिए । 

भोली अस्पताललाई हस्तान्तरण गरिदै
यि स्वास्थ्य सामग्री तथा उपकरणहरु भोली जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने अभियान टोलीका सदस्य खड्काले बताउनुभयो । उक्त सामान आज काठमाडौंबाट हिडेको र भोली जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने उहाँको भनाई छ । कोरोना महामारी बढिरहेको र ठुलो संख्यामा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेका बेला महत्वपूर्ण सामग्रीहरु अस्पताललाई दिन लागिएपछि उपचारमा सहयोग पुग्ने देखिएको छ ।   
 

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update