रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले विद्यार्थीको मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने भएको छ । कोरोना महामारीका कारण केही समय अघिदेखि विद्यालयको पठन पाठन रोकेको नगरपालिकाले शैक्षिक शत्र २०७७ मा सञ्चालित त्राइमार्सिक र अर्धवार्षिक परीक्षाको नतिजा तथा निरन्तर विद्यार्थी मूल्याङ्कन आधारमा नतिजा तयार पारी सार्वजनिक गर्न भनिएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बुढाथोकीले एक सूचना प्रकाशन गरी सामुदायिक तथा संस्थागत विद्यालयलाई शैक्षिक शत्र २०७७ को नतिजा तयार पारी प्रकाशन गर्न भन्नु भएको छ । कक्षा ५ र ८ को नतिजा तयार पारी जेठ २० गते भित्रै नगरपालिकामा बुझाउन भनिएको छ । कक्षा १, २, ३, ४, ६, ७ र ९ को पनि नतिजा तयार पारी विद्यालयमा टाँस्न भनिएको छ ।
जेठ २५ गते भित्रै यो नतिजा पनि सार्वजनिक गर्न भनिएको छ । शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार नगरपालिकामा झण्डै ८५ देखि ९० प्रतिशत कोर्ष पूरा भएको छ । नगरपालिकाका शिक्षा समितिका संयोजक तथा नगरप्रमुख गोर्खबहादुर केसीले अब पूरानै शैक्षिक शत्रको पठन पाठन सम्भव नभएको बताउनुभयो ।
करिब करिब कोर्ष पनि पूरा भइसकेको सन्दर्भमा पूरानो शैक्षिक शत्रको नतिजा तयार पारी नयाँ वर्षको सुरुवात गर्ने तयारी भइरहेको नगरप्रमुख केसीले बताउनुभयो । कोरोना महामारी कम हुन वित्तिकै नयाँ शैक्षिक शत्रको पठन पाठन सञ्चालन गर्ने नगरप्रमुख केसीले जानकारी दिनुभयो ।