कोरोना महामारीलाई मध्यनजर गर्दै रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले सुपथ मूल्य पसलको दररेट सार्वजनिक गरेको छ । चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले एक सूचना जारी गरेर नगरपालिकाका २ ठाउँबाट सञ्चालित सुपथ मूल्य पसलबाट विक्रि वितरण भइरहेको खाद्यान्न सामग्रीको दर रेटबारे जानकारी गराउनु भएको हो ।
उक्त सूचनामा जनाइए अनुसार दुई खाल दररेट निर्धारण गरिएको छ । चामल, चिनी र तेलको विक्रि दर निर्धाण गरिएको छ । नगरपालिकाबाट उपभोक्ता कार्ड प्राप्त गरेकाहरुले केही सस्तोमा सामग्री पाउनेछन् भने कार्ड नलिएकाहरुले ५/५ र १० रुपैयाँ महगाे पर्ने गरी मूल्य निर्धारण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिनुभयो । केसीका अनुसार उपभोक्ता कार्ड लिएकाले चामल प्रति किलो ५०, चिनी ७० र खाने तेल प्रति लिटर २ सय २० रुपैयाँमा खरिद गर्न पाउछन् ।
कार्ड नपाएकाले चामल प्रति किलो ५५, चिनी ८० र खाने तेल प्रति लिटर २ सय ३० मा खरिद गर्न पाउछन् । नगरपालिकाले १ देखि ९ नम्बर वडाका लागि २ नम्बर वडा नजिकै सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ भने १० देखि १४ वडाका लागि ११ नम्बर वडाको टाटामा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । दुवै पसल हरेक हप्ताको मंगलबार र शुक्रबार गरी दुई दिन सञ्चालन हुन्छन् ।
नगर प्रहरीले खाद्यान्न सामग्री वितरण गर्ने गरी व्यवस्था मिलाइएको छ । नगरपालिकाले विपन्नताको आधारमा उभोक्ता कार्ड वितरण गरेको छ । वडा कार्यालयको सिफारिस अनुसार विपन्न घरपरिवारलाई उपभोक्ता कार्ड वितरण गरिएको केसीले जानकारी दिनुभयो । कार्ड भएकाहरुले सुपथ मूल्यको पसल तथा अरु अरु क्षेत्र र सेवामा छुट पाउदै आएको नगरपालिकाले जनाएको छ ।