रुकुम पश्चिममा कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलदो छ । दैनिक ठुलो संख्यामा संक्रमितहरु थपिने क्रम जारी छ । कोरोना भाइरसकै कारण धेरैले ज्यान पनि गुमाईरहेका छन् । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि जिल्लामा गत बैशाख १९ गतेबाट निषेधाज्ञा जारी छ । तैपनि संक्रमण नियन्त्रणमा छैन् । संक्रमितहरु विभिन्न अस्पताल, आईसोलेसन तथा घरमै वसेर स्वास्थ्य लाभ गरिरहेका छन् । जिल्लामा कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि राज्य संगै व्यक्ति तथा विभिन्न संस्थाहरु पनि सक्रिय छन् । यसै सन्दर्भमा पछिल्लो समय जिल्लाका केहि युवाहरुले सहयोग अभियान संचालन गरे । तीन दिन जति चलेको यो अभियानबाट जिल्लामा, देशका विभिन्न ठाउँमा रहेका देखि विदेशमा रहेका जिल्लावासीहरुले सहयोग गरे । यो अभियानमा सबैभन्दा बढी सहयोग अमेरिकाबाट एक व्यक्तिले गरे । उहाँ हुनुहुन्छ मुसीकोट नगरपालिका १ सल्ले घर भई हाल अमेरिकाको अस्टिनमा रहनुभएका यामबहादुर बिसी । बिसी अमेरिका गएको लामो समय भने भएको छैन् । उहाँ अमेरिका पुगेको २६ महिना भर्खरै पुग्यो । तर उहाँले विपद्का बेलामा ठुलो मन बनाएर जुन सहयोग गर्नुभएको छ, त्यो भने अमुल्य छ । २ पटकमा गरेर १ लाख २१ हजार १ सय ११ रुपैंया पठाएर सेवा भावको नमूना प्रस्तुत गर्नुभएको छ ।
जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको र दैनिक जसो मृत्यु भइरहेको खवर सुन्दा उहाँलाई धेरै पोल्थ्यो । यस्तो बेलामा सकेको सहयोग गर्न पाए हुन्थ्यो भन्ने उहाँलाई लागिरहन्थ्यो । तर सहयोग कसरी गर्ने, को मार्फत कसलाई गर्ने भन्ने बारेमा भने उहाँलाई केहि जानकारी थिएन् । तर जिल्लाका केहि युवाहरु(विशेष गरी निजामती क्षेत्रमा कार्यरत)ले जिल्लावासीका लागि सहयोग अभियान संचालन गरेको उहाँलाई जानकारी भयो । केहि व्यक्तिहरुले सकेको सहयोग गर्न भनेर उहाँलाई अनुरोध समेत गरे । त्यसपछि त उहाँलाई ढुंगा खोज्दा देउता मिले जस्तै भयो । उहाँले पहिलो पटक अभियानका नाममा ७१ हजार १ सय ११ रुपैंया पठाउनुभयो । त्यतिबेला सबैभन्दा बढी सहयोग गर्ने व्यक्तिको लिस्टमा उहाँको नाम पहिलो नम्बरमा थियो । यो अभियानलाई तीन दिनमा बन्द गरियो र संकलन भएको साढे १८ लाख रुपैंयाबाट विभिन्न स्वास्थ्य सामग्री र उपकरण खरिद गरेर जिल्ला अस्पताल रुकुम पश्चिमलाई उपलब्ध गराउने पूर्व घोषित कार्यक्रम अनुसार अभियान टोलिले आवश्यक विभिन्न सामग्रीहरु खरिद गर्यो । सामान खरिद गर्दा भने १८ लाख ८५ हजारको विल आयो । अव अभियान टोलीलाई ४८ हजार रुपैंया अपुग भयो । तर यो पैसा जुटाउन टोलीलाई कुनै समस्या भएन । सामान किन्दा रकम अभाव भएको खवर सुनेपछि बिसीले पुनः ५० हजार रुपैंया पठाईदिनुभयो । र सेवा भावको नमूनालाई अझ उचो बनाउनुभयो ।
मेरो सानो सहयोगले कसैको ज्यान वच्छ भने यो जति खुशिको कुरा मेरो लागि केहि छैन्
आफुले कुनै प्रचार तथा कसैलाई देखाउनका लागि सहयोग नगरेको बिसीले बताउनुभयो । ‘आज भोली प्रचारका लागि अनेक फण्डा गर्नेहरु धेरै छन्, तर मैले कुनै प्रचार वा कसैलाई देखाउनका लागि सहयोग गरेको होइन, उहाँले भन्नुभयो–मेरो सानो सहयोगले कसैको ज्यान बच्छ भने म किन पछाडि हट्ने ।’ ज्यान भन्दा ठुलो पैसा हुन नसक्ने उहाँले बताउनुभयो । ‘हिजो मेरो अवस्था एकदमै सामान्य थियो, पैसाका कारण मैले चाहेको पुरा गर्न सक्ने अवस्था थिएन, तर आज दुःख गरेर केहि पैसा आर्जन गर्न सकेको छु, यो कुनै ठुलो कुरा होइन, मैले विपद्को यस घडिको सामना गर्न सहयोग गरेको हुँ, उहाँले भन्नुभयो ।’ कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस भनेर यस अभियानमा संलग्न भएको उहाँ बताउनुहुन्छ । पैसा त आज हुन्छ भोली हुन्न, अनि अर्को कुरा पैसा सबैले कमाउछन, तर केहि मान्छेले भएपनि याद गर्ने काम गर्नुपर्छ जस्तो उहाँलाई लाग्छ । आफुले गरेको सानो सहयोगले कसैको ज्यान वच्छ भने त्यो भन्दा खुशिको कुरा आफ्ना लागि अरु केहि हुन नसक्ने उहाँले बताउनुभयो ।
जतिबेला अमेरिकामा कोरोना भाइरसले तवाहि मच्चाइरहेको थियो । त्यतिबेला पनि उहाँ काममै हुनुहुन्थ्यो । जस्तो सुकै अप्ठेरोको विचमा पनि आफुले कामलाई प्राथमिकता दिएको उहाँले सुनाउनुभयो । ‘सायद हिजो मैले दिन रात नभनि कोरोनालाई वेवास्ता गरेर केहि पैसा कमाएको आज कोरोना कै कारण जिवन मरणमा रहेका व्यक्तिकोहरुको सहयोगका लागि रैछ, सकेको सहयोग गर्न पाउँदा म एकदमै खुशि छु, उहाँले फोन मार्फत सुनाउनुभयो ।’ गाउँकै जिल्ला अस्पतालको सेवा प्रभावकारी होस भन्ने पनि उहाँलाई लागेको छ । अहिले किनिएका सामग्रीबाट गाउँलेले राम्रो स्वास्थ्य सेवा पाउँने समेत उहाँको विश्वास छ ।
सधै सहयोगि भावनाका याम
कसैलाई सहयोग गर्न पाउँदा खुशिको अनुभुति हुने उहाँले बताउनुभयो । ‘उहाँ भन्नुहुन्छ कसैको दुःखमा साथ दिन पाउँदा अति नै खुशि लाग्छ, यसअघि पनि केहि सहयोग नेपाल पठाएको छु ।’ यसअघि उहाँले १ लाख बढी सहयोग विभिन्न व्यक्ति तथा समुहलाई पठाउनुभएको थियो । सामान्य परिवारका बिसीले सशस्त्र प्रहरीको जवान भएर ५ वर्ष देशको सेवा गर्नुभएको थियो । खाइपाइ आएको सशस्त्र प्रहरीको जागिर छोडेर उहाँ वैदेशिक रोजगारीका लागि दुवई हानिनु भयो । त्यहाँ २ वर्ष काम गर्नुभएका बिसी २६ महिना अघि अमेरिका जानुभएको हो ।