जिल्ला अस्पताल रुकुम पश्चिममा एक जना विशेषज्ञ डाक्टर थप भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ डाक्टर अनुपमंगल समाललाई उपचारका लागि पठाइदिएको हो । डाक्टर समालसहित अस्पतालमा उपचारमा सहयोग पुर्याउन एक जना नर्सिङ स्टाफ पनि आउनु भएको छ ।
केही दिन अघि जिल्ला अस्पताल पुग्नु भएका उहाँहरुले काम सुरु गरिसक्नु भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो । डाक्टर समाल हाल थन्किएको भेन्टिलेटर सञ्चालनका लागि त्यसको सेटिङको क्रममा हुनुहुन्छ । जिल्ला अस्पतालको आइसोलेसनमा रहेको उक्त भेन्टिलेटर झण्डै एक वर्षदेखि थन्किएको थियो । यो भेन्टिलेटर सञ्चालनमा आएपछि स्वास्थ्य अवस्था विग्रिसकेका विरामीको उपचारमा ठूलो मद्दत पुग्ने विश्वास छ ।
भेन्टिलेटर सञ्चालन तथा अरु उपचारमा सघाउ पुगोस् भनेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ डाक्टर सहितको टोली जिल्ला अस्पताल पठाइदिएको हो । यो सँगै जिल्ला अस्पतालमा अब ६ जना डाक्टर भएका छन् । डाक्टर समाल, स्त्री रोग विशेषज्ञ डाक्टर केहलविक्री जिसी, मेडिकल अधिकृत राजकुमार भुजेल, परिक्षित ओली, विक्रम मानन्धर र दिपक कर्ण जिल्ला अस्पतालमा कार्यरत डाक्टरहरु हुन् ।