Kakhara सबैको खबर सम्पूर्ण खबर
सहयोग उठाएर खरिद गरिएका विभिन्न स्वास्थ्य सामग्री जिल्ला अस्पताललाई हस्तान्तरण 

जिल्ला अस्पताल रुकुम पश्चिमलाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री र उपकरणहरु उपलब्ध गराईएको छ । सहयोग अभियान संचालन गरेर त्यसबाट संकलन भएको रकमबाट कोरोना भाइरसका बिरामीको उपचारमा प्रयोग हुने अतिआवश्यक सामग्री तथा उपकरणहरु आज अस्पताललाई प्रदान गरिएको हो । जिल्ला अस्पताललाई विभिन्न सामग्री सहयोग गर्ने उद्ेश्य राखेर जिल्लाका युवाहरुले यो अभियान थालनी गरेका थिए । तीन दिन जति चलेको यस अभियानबाट १८ लाख ९९ हजार जम्मा भएको थियो । यसमध्य १८ लाख ४८ हजार ७ सय ३१ रुपैंयामा खरिद गरिएका अक्सिजन सिलिण्डर, जनेरेटर, अक्सिमिटर, एन्टीजेन किट लगायतका १० प्रकारका स्वास्थ्य सामग्रीहरु आज अस्पताललाई हस्तान्तरण गरिएको हो । अन्य रकम ढुवानी र अक्सिजन रिफिलमा खर्च भएको छ । 

४० लिटरका १० वटा हाइ फ्लो अक्सिजन सिलिण्डर, ३ सय पिस एन्टीजेन किट, अस्पतालमा विद्युतको अभाव हुन नदिनका लागि २० किलोवाटको जेनेरेटर, बिरामीको रगतमा अक्सिजन लेबल, ब्लड प्रेसर, ज्वरो लगायत जाँचमा प्रयोग हुने ५ प्यारामिटरका ७ वटा पेसेन्ट मनिटर र आईसोलेसन वार्डमा रहेका बिरामीको अक्सिजन लेबल जाँच्न प्रयोग हुने ठूलो वायर र मोनिटर सहितका ३ वटा ह्याण्ड हेल्ड पल्स अक्सिमिटर अस्पताललाई उपलब्ध गराईएको अभियानका एक अभियान्ता जनक खड्काले जानकारी दिनुभयो । 

त्यस्तै हाई फ्लो अक्सिजन दिनुपर्ने बिरामीहरुका लागि प्रयोग हुने नन व्रेथिङ फेस मास्क ५० पिस, सामान्य अक्सिजन दिनुपर्ने विरामीका लागि प्रयोग हुने १२ वटा नजल ट्युविङ, १ सय पिस पिपिई सेट, १ हजार पिस के.एन. नाइन्टी फाइभ मास्क र १ सय एम.एल.का २ सय पिस सेनिटाइजर पनि अभियानबाट संकलन भएको रकमबाट खरिद गरेर अस्पताललाई प्रदान गरिएको खड्काको भनाई छ । 

उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा सहित अभियानको जिल्ला समन्वय समितिका सदस्यहरुले स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुवहादुर बुढाथोकी, विशेषज्ञ डा. केहलविक्रम जिसी र डा. राजकुमार भुजेललाई हस्तान्तरण गर्नुभएको छ । यो अभियानमा सहायता फाउण्डेसनले अगुवाई गरेको थियो । यो अभियानको नेतृत्व जनक खड्का, नरविर खड्का, सृजना ओली, यामराज बोहरा, अर्जुन भण्डारी, लक्ष्मण ओली, लक्ष्मण केसी, शेरवहादुर पुन लगायतले गर्नुभएको थियो । 

यस अभियानमा सबै भन्दा बढी मुसीकोट नगरपालिका १ सल्ले घर भइ हाल अमेरिकामा रहनुभएका यामबहादुर बिसीले सबैभन्दा बढी १ लाख २१ हजार १ सय ११ रुपैंया तथा सल्लेमै घर भइ हाल कतार रहुनभएका पूर्ण थापा र गीता थापाले ७० हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । 

सामान हस्तान्तरण गर्दै जिसस प्रमुख राजकुमार शर्माले व्यक्तिगत रुपमा सहयोग जुटाएर महत्वपूर्ण स्वास्थ्य सामग्रीहरुको व्यवस्था गर्ने टिमलाई धन्यवाद दिदै प्राप्त सामग्रीहरुको सदुपयोग गर्न अस्पताललाई आग्रह गर्नुभएको छ । जस्तो सुकै संकटका बेलामा पनि रुकुममेलीहरु जुट्न जानेको र त्यसको पछिल्लो उदाहरण यो भएको उहाँको भनाई थियो । 

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले कोरोना महामारीलाई मात्र नभइ अन्य बेला पनि प्रयोग हुने स्वास्थ्य सामग्रीहरु उपलब्ध भएको बतउनुभयो । यि सामग्रीहरुले कोरोना संक्रमितको उपचारमा ठुलो सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुवहादुर बुढाथोकीले प्राप्त सामग्रीको उच्चतम प्रयोग र दीगोपनामा ध्यान दिने प्रतिवद्धता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो ।    
 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update