रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले लक्ष भन्दा बढी राजश्व संकलन हुने जनाएको छ । चालु आर्थिक बर्ष २०७७/७८ मा लिइएको लक्ष भन्दा बढी राजश्व संकलन हुने अनुमान गरिएको छ । चालु आर्थिक बर्षको वैशाख मसान्तसम्म २ करोड ४६ लाख ८२ हजार ७ सय १ रुपैयाँ संकलन भइसकेको छ । यो कुल लक्षको ८२ दशमलव २८ प्रतिशत हो ।
चौरजहारी नगरपालिकाले चालु आर्थिक बर्षमा तीन करोड राजश्व संकलन गर्ने लक्ष राखेको छ । लक्ष अनुसार अब ५३ लाख १७ हजार २ सय १९ रुपैयाँ मात्रै संकलन हुन बाँकी छ । यो पनि सजिलै संकलन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताउनुभयो । चालु आर्थिक बर्षको यो लक्ष पनि संशोधित लक्ष हो । नगरपालिकाले सुरुमा २ करोड राजश्व संकलन गर्ने लक्ष राखेको थियो ।
गत फागुन १९ र २० गते भएको नगर सभाले त्यसलाई संशोधन गरी आन्तरिक राजश्व संकलनको लक्ष तीन करोड तय गरेको थियो । लक्ष सजिलै पूरा हुने भएपछि संशोधन गरेर राजश्व संकलनको लक्ष एक करोड बढाइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।
नगरपालिकाले मालपोत कर, सम्पत्ती कर, व्यवसाय कर, बालुवा गिट्टी, सेवा शुल्क, दस्तुर, नगर बस सेवा, एम्बुलेन्स सेवा, शहीद स्मृति नगर अस्पतालबाट उठ्ने सेवा शुल्क, घर वहाल कर, नक्सा पास दस्तुर, प्रशासनिक दण्ड जरिवाना लगायत शीर्षकबाट राजश्व संकलन गरिरहेको जनाएको छ ।
नगरप्रमुख विशाल शर्माले करको दायरा बढाइएको, जनशक्ति बढाइएको कारणले राजश्वको संकलनको लक्ष पनि बढाइएको बताउनुभयो । प्रारम्भिक नगर सभाले लक्ष राखेको भन्दा एक करोड बढी लक्ष निर्धारण गर्दा पनि नगरपालिका सहजै लक्ष पूरा गर्ने अवस्थामा गएको प्रमुख शर्माले बताउनुभयो ।
चालु आर्थिक बर्षमा करको दायरा बढाउनुका साथै दायरामा नआएकालाई पनि दायरामा ल्याइएको, त्यसकै लागि नगर प्रहरी, स्वयमसेवक परिचालन गरी लागिएको बताउनुभयो । वडाका कर्मचारीदेखि नगरपालिका र सम्पूर्णको प्रतिबद्धता, कटिबद्धताबाट यो सम्भव भएको नगरप्रमुख शर्माले बताउनुभयो । चालु बर्षमा करको शुल्क नबढाएको तर घटाएर राजश्व संकलन भइरहेको उहाँको दावी छ ।