रुकुम पूर्वको भूमे गाउँपालिकाले बनाएको आइसोलेसनमा पनि संक्रमित राखिएको छ । गाउँपालिकाले ६ जनालाई पहिलो पटक आइसोलेसनमा राखेको हो । कोरोना संक्रमण भइ होम आइसोलेसनमा बसिरहेका विभिन्न वडाका उनिहरुलाई आइसोलेसनमा राखिएको गाउँपालिकाले जनाएको छ ।
सबैको स्वास्थ्य अवस्था सामान्य भएपनि डाक्टरको निगरानीमा राख्नुपर्ने भएकाले आइसोलेसनमा राखिएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले जानकारी दिनुभयो । २ नम्बर वडाको काँक्रीमा बनाइएको आइसोलेसनमा एमबीबीएस डाक्टर सहित स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।
नियमित स्वास्थ्य चेकजाँच गरिने, अक्सिजनको मात्रा नापिने र त्यसका आधारभा औषधी दिन सजिलो होस भनेर आइसोलेसनमा राखिएको अध्यक्ष बुढाले बताउनुभयो । आइसोलेसनमा गाउँपालिकाकै व्यवस्थापनमा खानपिनको व्यवस्थापन गरिएको छ । सकेसम्म पोषणयुक्त खाना खुवाउने गरी व्यवस्था गरिएको अध्यक्ष बुढाले बताउनुभयो । गाउँपालिकाले अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ ।
५० बेडको आइसोलेसनमा झण्डै २५ बढी अक्सिजन सिलिन्डरको व्यवस्था छ । हालसम्म कोहीलाई पनि अक्सिजन लाउनुपर्ने अवस्था नरहेको जनाइएको छ । गाउँपालिकामा हालसम्म २५ पुरुष र १२ महिला गरी ३७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्य ३ जनाको मृत्यु भइसकेको छ । २ जनाको जिल्ला बाहिरै मृत्यु भएको हो भने एक जनाको जिल्लामै मृत्यु भएको हो ।