यतिबेला देश कोरोनाको चपेटामा छ । कोरोनाको दोस्रो भेरियन्टले आक्रान्त पारिरहेको छ । हिमाली जिल्ला रुकुम पूर्व पनि कोरोनाबाट अछुतो छैन । जिल्लामा दैनिक रुपमा लक्षण सहितका कोरोना संक्रमितहरु बढ्दै गएका छन । कसैको अस्पताल तथा गाउँपालिकाले निर्माण गरेका आइसोलेसनमा उपचार भैरहेको छ भने अधिकांस संक्रमितहरु होम आइसोलेसनमा बसेका छन ।
जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ मा रहेको सिस्ने हिमाल सामाजिक सेवा संस्थाले तिनै कोरोना संक्रमित विरामीहरुको सेवा गर्दै आएको छ । संस्थाले कोरोना संक्रमित भई अस्पतालमा भर्ना भएका विरामीहरुलाई सेवा गरिरहेको हो । जसअनुसार विरामीहरुलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरिएको छ । संस्थाले जिल्ला अस्पतालको आइसोलेसन र सिस्ने गाउँँपालिकाको आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाकी अध्यक्ष हिमकुमारी चन्दले जानकारी दिनुभयो । उनिहरुलाई मास्क सहित कपडा धुने र नुहाउने साबुन पनि वितरण गरिएको उहाँले बताउनुभयो ।
यस संस्थाले गएको वैशाख २५ गतेदेखि नै कोरोना संक्तमित बिरामीलाई स्वास्थ्य सामग्रीसंगै फलफूल पनि वितरण गर्दै आएको छ । बिरामीहरुलाई आइसोलेसनमै पुगेर सामग्री प्रदान गर्दै आएको अध्यक्ष चन्दको भनाई छ । यो महामारीको बेला संक्रमित भएका विरामीहरुको मनोबल उच्च बनाउन र उपचारमा टेवा पुगोस भनी आफुहरुले यो अभियान थालेको उहाँले बताउनुभयो ।
संस्थाले वैशाख २५ गते यता मात्र कोरोना संक्रमित विरामीहरुलाई ३७ हजार ९ सय बराबरको स्वास्थ्य सामग्री र फलफूल वितरण गरिसकेको छ । यसअघि होम आइसोलेसनमा बसेका विरामीहरुलाई पनि विभिन्न स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको थियो । संस्थाले विभिन्न व्यक्ति तथा संस्थाहरुबाट प्राप्त भएको सहयोग रकम कोरोना संक्रमित विरामीको सेवामा खर्च गर्दै आएको छ ।